+
+

भारतले भन्यो : गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १९:००

९ भदौ, काठमाडौं । भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार हुने बताएको छ । अग्निपथ योजनामा नेपालले असहमति जनाइरहेका बेला भारतले भने गोर्खा भर्ती समेत त्यहीअनुसार हुने बताएको हो ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा भर्ती गर्दै आएका छौं । र, यसलाई अग्निपथ योजना अन्तरगत निरन्तरता दिन चाहन्छौं ।’

अग्निपथ योजनामा नेपाली युवाहरुलाई भर्ती गर्न आज बिहीबार (२५ अगष्ट) मा बुटबल र १६ भदौमा धरानमा प्रारम्भिक छनोट गर्ने योजना थियो । तर बुधबार परराष्ट्रमन्त्री नारायण खड्काले नेपालका लागि भारतीय राजदुत नविन श्रस्वास्तवलाई बोलाएर भर्ना प्रक्रिया रोक्न आग्रह गरेका थिए ।

किन भइरहेको विरोध ?

भारतीय रक्षामन्त्री राजनाथ सिंहले जुन २०२२ मा अग्निपथ योजना सार्वजनिक गरेका थिए, जसमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । भर्ती भएकालाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइनेछ र चौथो वर्ष बढेर ६ लाख ९२ हजार पुग्ने छ ।

चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर सकिनेछ । यसरी घर फर्किँदा उनीहरुले ११ लाख ७ हजार भारु उपदान पाउनेछन् ।

चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र भविष्य विग्रिने भन्दै अग्निपथ योजनाको भारतमै विरोध भइरहेको छ ।

नेपाल सरकारले त्यसको विरोध गर्नुमा भने नेपाल भारत र ब्रिटेनको बीचमा भएको त्रिपक्षीय सन्धी उल्लंघनको विषय समेत छ । भारतीय सेनामा गोर्खा भर्ती सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?