+
+
संस्मरण :

एउटा असल राष्ट्रसेवकको डायरी

हरेक राष्ट्रसेवकले कानुनको मर्यादा र दायरामा रहेरै नागरिकको व्यावहारिक समस्या समाधान गर्न सक्छन् । जसरी स्व. गणेश भट्टराईले आफ्नो जागिरे जीवनमा त्यो काम गर्नुभयो र एउटा असल राष्ट्रसेवकको पहिचान बनाउनुभयो ।

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ भदौ ११ गते ८:५४

सामाजिक अभियन्ता सन्तोषप्रसाद विमलीले एउटा पुस्तक थमाउनुभयो, ‘स्मृतिमा गणेश भट्टराई’ । पुस्तकको पहिलो पेजको सिरानमा ‘आदरणीय चिरञ्जीवी मास्केज्यूमा सादर भेट’ लेखेर कुमार भट्टराईले दस्तखत गर्नुभएको छ ।

३८१ पेजको त्यो पुस्तकमा कोरिएका सबै भावना छोटो समयमा पढी भ्याउनु असम्भव छ । तर ‘गणेश भट्टराई’ नामसँगको छोटो चिनजान, भेटघाट र उठबस वर्षौंको दोस्ताना जत्तिकै आत्मीय र भावनात्मक भएकोले पुस्तकको कभर पेज हेर्नासाथ मेरो मस्तिष्कमा झण्डै १३ वर्ष अघिका केही सामाजिक अभियानका आत्मीय यादहरू उत्रन थाले ।

त्यसो त यो पुस्तकको लागि स्व. गणेश सरको भाइ कुमार भट्टराईले केही संस्मरण लेख्न भन्नुभएको थियो । कवि विष्णु सुवेदीले पनि धेरै पटक कुमार भट्टराईको कुरा सम्झाइरहनुभयो । तर त्यतिबेला मेरो मानसपटलमा स्व. गणेश सरसँगको आत्मीय पलहरू उहाँको पीडादायी मृत्युले शून्यप्रायः गरिदिएको थियो । त्यसैले मैले केही लेख्नै सकिनँ ।

बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदाकै अवस्थामा नियोजित सवारी दुर्घटनामा भएको उहाँको पीडादायी अन्त्यको पाँच वर्षपछि गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘स्मृतिमा गणेश भट्टराई’ पुस्तकको कभर फोटोसँगै स्व.गणेश सरको बुबा तुलसीप्रसाद भट्टराईको लेख पढेपछि भने मलाई उहाँसँगको केही संस्मरण कोर्न मन लागेको छ ।

मैले पत्रकारिता गरेको ३४ वर्ष पुगेको छ । दोलखालाई केन्द्रमा राखेर पत्रकारिता गरेको पनि ३० वर्ष पूरा भएको छ । यो अवधिमा दोलखा जिल्लामा धेरै प्रमुख जिल्ला अधिकारीहरू आउनुभयो । व्यक्तिगत र पेशागत रूपमा मेरो सबै प्रमुख जिल्ला अधिकारीहरूसँग सुमधुर सम्बन्ध कायम रहृयो । तर नागरिक सहजतामा सजग र सतर्क प्रमुख जिल्ला अधिकारी कमै हुनुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको पद नै अलि बढी नै आदेशात्मक हुने भएकोले पनि होला सबै प्रमुख जिल्ला अधिकारी नागरिक सहजतामा सजग र सतर्क हुन असम्भव नै हुने गर्छ ।

तर चण्डेश्वर आचार्य, प्रहृलाद पोखरेल, स्व.गणेश भट्टराई केही यस्ता नाम हुन् जसले पदीय दायित्व र जिम्मेवारीलाई ख्याल गर्दै नागरिक सहजताको लागि कानुनी जोखिम मोलेरै पनि व्यावहारिक निर्णय र भूमिका निर्वाह गर्नुहुन्थ्यो ।

मलाई याद छ माओवादी द्वन्द्व चरम उत्कर्षमा पुगेको बेला तत्कालीन प्रमुख जिल्ला अधिकारी चण्डेश्वर आचार्यले पक्राउ परेका केही माओवादी नेता-कार्यकर्तालाई मानवीय भावनाको सम्मान गर्दै कसैको दबाव र प्रभावमा नपरी उन्मुक्ति दिने जोखिमपूर्ण निर्णय गर्नुभएको थियो ।

स्व. गणेश भट्टराईको कार्यसम्पादन पनि त्यस्तै प्रकृतिको । बरु आफू जोखिम मोल्न तयार तर सर्वसाधारण जनताले कानुनी, व्यावहारिक या प्रक्रियागत रूपमा कुनै प्रकारको झमेला र ढिलासुस्तीको सामना गर्नु नपरोस् भन्ने भावना ।

स्व. गणेश सरले दोलखाको प्रमुख जिल्ला अधिकारी भएको बेला गर्नुभएको एउटा निर्णय अहिले पनि उदाहरणीय र प्रशंसनीय छ- सविना दमाई दिदी-बहिनीलाई आमाको नामबाट नागरिकता दिने निर्णय ।

संविधानमा आमाको नामबाट नागरिकता लिन सकिने प्रावधान रहेपनि सो अनुसारको ऐन कानुन निर्माण भई नसकेको अवस्थामा आमाको नामबाट नागरिकता दिनु त्यतिबेला निकै चुनौतीपूर्ण थियो । दोलखामा प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका अरू धेरैले आमाको नामबाट नागरिकता दिने चुनौती खेप्ने तदारुकता देखाउनुभएन । तर स्व. गणेश भट्टराईले सविना दमाई दिदी-बहिनीले नागरिकताको अभावकै कारण भोग्नु परेको पीडा र समस्यालाई भावनात्मक रूपमा आत्मसात् गर्दै त्यो चुनौती खेप्ने आँट देखाउनुभयो र सविना दमाई दिदी-बहिनीले नागरिकता प्राप्त गर्न सक्नुभयो ।

सविना दमाई दिदी-बहिनीले नागरिकता प्राप्त गर्नुभएको त्यो क्षण म अहिले पनि सम्झिरहेको छु । रिपोर्टिङको लागि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुग्दा सविना दमाई र उहाँको बहिनीको आँखाबाट केही थान मोतीका दाना झरिरहेका थिए आँसु बनेर । मोतीका दाना यस अर्थमा कि त्यो पीडाको हैन खुसीको आँसु थियो, सुखद र सहज भविष्यको आँसु थियो ।

सविना दमाई दिदी-बहिनीले नागरिकतालाई छातीमा टाँसेर एक अर्कोसँग अंकमाल गरेको दृश्य अलौकिक र सुन्दर लाग्दथ्यो । प्रमुख जिल्ला अधिकारीको कुर्सीमा बसिरहनुभएका स्व. गणेश भट्टराईका आँखा पनि रसाएका थिए, तर अनुहारमा अनौठो चमक तथा शरीरमा ऊर्जाशील स्फूर्ति देखिन्थ्यो ।

सविना दमाई दिदी-बहिनीको आँसु, स्व. गणेश भट्टराई सरको स्फूर्ति र उहाँहरू सँगै बसेर फोटो खिचेको त्यो क्षणमा हामी रिपोर्टिङको लागि पुगेका पत्रकारहरू पनि आल्हादित बनेका थियौं । सायद हामी सबै पत्रकारहरूको लागि रिपोर्टिङको त्यो परिवेश दुर्लभ थियो ।

पत्रकारको भूमिकाको विषयमा अहिले पनि बेलाबखत बहस हुने गरेको छ । पत्रकारले समाचार मात्र लेख्ने कि सामाजिक अभियानको अगुवाई पनि गर्ने Û मेरो मत र भूमिका भने सधैं सामाजिक अभियानको अगुवाइ गर्ने कुरामा रहने गरेको छ । पत्रकार समाजको अगुवा र हरेक परिस्थिति तथा परिवेशको निकट साक्षी भएकोले सामाजिक पीडामा लेख्ने सिपाही मात्र बनेर दायित्व पूरा नहुने मेरो विश्वास र मत हो । पत्रकारले त्यस्तो सामाजिक पीडामा अगुवाको भूमिका खेल्दै समाधानको लागि सचेततापूर्वक कानुनी लडाइँ लड्नुपर्छ भन्ने मलाई लाग्छ ।

दोलखाको सन्दर्भमा सबै पत्रकार मित्रहरूको भूमिका लेख्ने कुरामा मात्र सीमित छैन नागरिक अगुवाको भूमिकामा पनि सक्रिय हुनुहुन्छ । त्यसैले पनि दोलखाका नागरिकहरू सानो समस्या पर्दा पनि पत्रकारहरूसँग समाधानको अगुवाइ र साझेदारीको लागि पुग्ने गर्नुहुन्छ ।

स्व. गणेश सरसँग लेखनको क्रममा मेरो भेट कमै भयो होला तर सामाजिक अभियान र नागरिकको समस्यामा छलफल गर्ने कुरामा हामी धेरै पटक भेटिने गरेका थियौं । नागरिकको समस्या र समाजको अवस्थालाई व्यावहारिक आँखाले हेर्ने र कानुनको सम्मान गर्दै व्यावहारिक समाधान खोज्ने स्व. गणेश सरको कार्यशैली वास्तवमै प्रशंसनीय थियो । त्यसैले त अहिले पनि आम दोलखालीले स्व. गणेश सरलाई एउटा असल अभिभावकको रूपमा सम्झिरहेका छन् ।

यहाँ थोरै स्व. गणेश भट्टराईको बुबाले पुस्तकमा लेख्नुभएको संस्मरणको प्रसंग उल्लेख गर्न सान्दर्भिक ठान्दछु । छोराको मृत्युले शोकाकुल मन र विस्मित भावना अक्षर बनाएर दौडाउनुभएको छ तुलसीप्रसाद भट्टराईले । छोरालाई साथी सम्झने तुलसीप्रसादको मन साँच्चै फराकिलो छ ।

जेठा छोरा स्व. गणेश भट्टराईको साथ र सहयोगले पारिवारिक रथ अगाडि बढेको सत्यलाई तुलसीप्रसादले छोप्ने प्रयत्न गर्नुभएन । ओखलढुंगाको सम्पन्न परिवारमा डाँकाको प्रवेशले मच्चाएको वितण्डा र अभिभावकको हत्याले निम्त्याएको विडम्बना हृदयविदारक लाग्दछ । १४ वर्षको उमेरमा बाबुको हत्याले भक्कानिएको तुलसीप्रसादको मनलाई ८० वर्ष टेक्दै गर्दा नियोजित दुर्घटनामा भएको छोराको मृत्युले छियाछिया बनाइदियो ।

छोराको यादमा तुलसीप्रसादले लेख्नुभएको संस्मरणमा जे कुरा उल्लेख भएका छन् त्यसले के संकेत गर्दछ भने स्व. गणेश भट्टराईको सामाजिक भावना र उत्तरदायित्व पारिवारिक विरासतमै हुर्किएको थियो । दैवको लीला, पारिवारिक विरासतमा हुर्किएको त्यो सामाजिक उत्तरदायित्वलाई स्व. गणेश भट्टराईले धेरै लामो समय निर्वाह गर्न सक्नुभएन । किनभने ५६ वर्षको अल्पायुमै मृत्युवरण गर्नुपर्ने उहाँको नियति रहेछ ।

‘स्मृतिमा गणेश भट्टराई’ पुस्तकमा भीम रावल, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, योगेश भट्टराई, अग्नि खरेल, डा. गंगालाल तुलाधर, गौरी प्रधान, दिनेश अधिकारी, प्रेमकुमार राई, प्रा.डा. विष्णुविभु घिमिरे जस्ता धेरै व्यक्तित्वहरूले उहाँसँगको संस्मरण कोर्नुभएको छ । यसले पनि के देखाउँछ भने स्व. गणेश भट्टराई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सैद्धान्तिक नेता र कुशल तथा असल राष्ट्रसेवक हुनुहुन्थ्यो ।

‘स्मृतिमा गणेश भट्टराई’ पुस्तकमा एउटा अर्को पीडादायी संयोग देखिएको छ । स्व. गणेश भट्टराईको संस्मरणमा असल राजनीतिज्ञ पशुपति चौलागाईंले पनि केही भावना कोर्नुभएको रहेछ । तर विडम्बना उहाँले त्यो भावना पुस्तक प्रकाशन पछि भने पढ्न पाउनुभएन । किनभने पुस्तक प्रकाशन हुनुअघि नै कोरोनाका कारण चौलागाईंको निधन भयो ।

स्व. पशुपति चौलागाईं पनि राजनीतिक क्षेत्रको एउटा असल र कुशल पात्र हुनुहुन्थ्यो । उहाँले राजनीतिमा इमानदार जनसेवकको पहिचान बनाउनुभएको थियो । जसरी स्व. गणेश भट्टराईले राष्ट्रसेवकमा इमानदार जनसेवकको पहिचान बनाउनुभएको थियो ।

अन्त्यमा, म यत्ति भन्छु – सामाजिक सन्तुलन र जनपक्षीय काम गर्न कानुनले रोक्दैन । किनभने कानुन नागरिकको सुरक्षाको लागि हो, अनि नागरिक कानुनको रक्षाको लागि । कानुनको रक्षा र नागरिकको सुरक्षाले नै मुलुकको अस्तित्व स्थापित हुनसक्छ । त्यसैले हरेक राष्ट्रसेवकले कानुनको मर्यादा र दायरामा रहेरै नागरिकको व्यावहारिक समस्या समाधान गर्न सक्छन् । जसरी स्व. गणेश भट्टराईले आफ्नो जागिरे जीवनमा त्यो काम गर्नुभयो र एउटा असल राष्ट्रसेवकको पहिचान बनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?