+
+

काठमाडौंका सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन

रासस रासस
२०७९ भदौ ११ गते १७:५४

११ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फर स्टेशनमा राखिएको फोहोर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र यदि कतै फोहोर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरे ।

यसअघिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहोरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ ।

केही दिनअघि मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनअनुरुप निजी कम्पनीले व्यवस्थापनको काम नियमित गरेपछि उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन भएको हो ।

कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखि अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।

पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यही नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन उत्पादन हन्छ । अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?