+
+

रोल्पाको सामुदायिक विद्यालयमा ३ बेडसहित हेल्थ डेस्क

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते ८:५३

१२ भदौ, रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा तीन बेडको हेल्थ डेस्क स्थापना गरिएको छ ।

रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना गरेको हो ।

हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरी एक जना नर्स नियुक्त गरेको छ ।

यसका साथै लुम्बिनी प्रदेश सरकारले अघिल्लो वर्षदेखि एक जना अनमी उपलब्ध गराएको छ । विद्यालयको हेल्थ डेस्कमा उनीहरुले सेवा दिइरहेका छन् ।

उनीहरुले विद्यार्थीको नियमित सामान्य चेकजाँचका साथै विभिन्न स्वास्थ्य तथा सचेतनामूलक कार्य गर्दछन् ।

पोषणयुक्त खानेकुराको महत्व बुझाउँदै विद्यार्थीलाई त्यस्ता खानाको प्रयोगमा जोड दिने काममा नर्सलाई जिम्मेवारी दिइने भएको छ ।

विद्यालयमा स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण उपकरण र औषधि पनि विद्यालय स्वयमले खरिद गर्ने गर्दछ ।

विद्यालय स्वास्थ्यको सबै खाले सेवा र व्यवस्थापन नर्सहरुले गर्नेछन् । किशोरकिशोरीको प्रजनन तथा यौन स्वास्थ्यका बारेमा सचेतीकरण, महिनावारी व्यवस्थापन, हिंसाबाट बालबालिकालाई कसरी बचाउने भन्ने, सीप हस्तान्तरणको जिम्मेवारी पनि नर्सको हुने बताइएको छ ।

विद्यालय खानेपानी तथा सरसफाइ संचालन र व्यवस्थापन, विद्यालयस्तरबाटै जुकाको औषधि वितरण, खोप कार्यक्रम र स्वास्थ्य शिक्षा संचालन गर्नेछन् ।

विद्यालयमा प्राथमिक उपचार र आवश्यकता अनुसारको स्वास्थ्य परीक्षणको जिम्मेवारीसमेत दिइएको छ ।

विद्यालय नर्स कार्यक्रमको मापदण्डअनुसार सामान्य उपचार तथा परामर्श र औषधि वितरणको काम हेल्थ डेस्कबाट हुने गर्दछ । थप उपचार गर्नु परे नजिकको सरकारी स्वास्थ्य केन्द्रमा पठाउने गरेको विद्यालयको भनाइ छ ।

विद्यार्थीहरुले लामो समय विद्यालयमा व्यथित गर्दा उनीहरुको स्वास्थ्य संवेदनशीलता पनि उत्तिकै ध्यान दिनुपर्ने विषय भएकाले विद्यालयले यस्तो कार्यक्रम ल्याएको विद्यालयका प्रधानाध्यापक मधुसूदन पोख्रेलको भनाइ छ ।

‘विद्यार्थीले दैनिक ६ घण्टा विद्यालयमा बिताउनुपर्छ, यो समयमा उनीहरुमा स्वास्थ्य समस्याका साथै मनोवैज्ञानिक समस्या पनि देखिने भएकाले त्यसको निदानको लागि विद्यालयमा हेल्थ डेस्क जरुरी थियो,’प्रधानाध्यापक पोख्रेलले भने ।

झण्डै २९ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा दैनिक सरदर २०/२५ जना बिरामी विद्यार्थीले स्वास्थ्य सेवा लिने गरेको विद्यालयको अभिलेखमा उल्लेख छ ।

स्वास्थ्य केन्द्रसँग विद्यालयको दूरी टाढा रहेका कारण बिरामी विद्यार्थी स्वास्थ्य केन्द्र धाउदा पढाइ छोड्नु पर्ने समस्या समेत टरेको विद्यालयको भनाइ छ ।

विद्यालयकी स्टाफ नर्स जोशना डाँगी भन्छिन्, ‘म आफैं महिला भएकाले पनि होला महिनावारी र प्रजनन् स्वास्थ्यबारे किशोरीहरुले खुलेर कुरा गर्छन् । उनीहरुका समस्या सम्बोधन हुँदा स्कुल आउने दर पनि बढेको छ ।’

विद्यार्थीहरुमा धेरैजसो ज्वरो, रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने र चोटपटकको समस्या हुने गरेको उनी बताउँछिन् ।

विद्यालय नर्स कार्यक्रमले बालबालिकाको शिक्षामा ठूलो परिवर्तन ल्याएकोे विद्यालयको दाबी छ । विद्यालयमा आउँ, झाडापखाला, कमलपित्तका बिरामीसमेत घटेका छन् ।

कक्षा १० कि छात्रा निरु पुनले कक्षा कोठामा पढ्दापढ्दै महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने कुराले सधै पिरोल्ने गरेको भन्दै नर्सिङ कार्यक्रमपछि यस्तो समस्या टरेको बताइन् ।

महिनावारी हुँदा अधिकांश छात्राले ३/४ दिन विद्यालय छोड्ने गरेकोमा विद्यालयमा नर्स आएपछि विद्यार्थी अनुपस्थित दर अहिले घटेको छ ।

विद्यालयमा तीन वेडको हेल्थ डेस्क स्थापना गरेसँगै विद्यालयमा बिरामी हुने विद्यार्थीहरुलाई आराम गर्न सहज भएको अभिभावक जीतबहादुर डाँगीको भनाइ छ ।

हेल्थ डेस्कको वेड थप सुविधा सम्पन्न गर्नुका साथै थप विस्तार गरे विद्यार्थीलाई अझै सहज हुने अभिभावक डाँगीको भनाइ छ । विद्यालयले आफ्नै स्रोतबाट गरेको यस्तो प्रयासलाई सरकारले पनि साथ दिनु पर्छ डाँगीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?