+
+

गलत विज्ञापनले मन बहकिने हो कि ?

असम्भव कुरा वा चमत्कारमा विश्वास गर्नुहुँदैन भन्ने थाहा पाउँदापाउँदै मानिस विज्ञापनको जालोमा फसिरहेका हुन्छन्।

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७९ भदौ १२ गते ११:४६

भनिन्छ- यदि पौष्टिक खाना खायौ भने तिमीलाई कुनै औषधिको जरूरत नै पर्दैन, तर यदि तिमीले पोषणयुक्त खाना खाएनौ भने कुनै पनि रोग लाग्दा औषधिले पनि मद्दत गर्न सक्दैन।

यो भनाइले हाम्रो जीवनमा पोषणयुक्त खानाको महत्वबारे धेरै हदसम्म प्रष्ट पार्छ।

बालबालिका, युवा, गर्भिणी, दूध खुवाउने आमा, वृद्ध सबैलाई पोषणयुक्त खाना चाहिन्छ। विभिन्न किसिमका पोषकतत्वहरूको अभावमा बालबालिकालाई कुपोषण हुन्छ। उनीहरू शारीरिक र मानसिक रूपमा पनि कमजोर बन्न सक्छन्।
पर्याप्त पौष्टिक तत्व भएका पोषणयुक्त खाना सस्तै र सहजै प्राप्त गर्न सकिन्छ। तर पनि अज्ञानताका कारण पौष्टिक तत्व बढी भएका खाना महँगो हुन्छ भन्ने बुझाइ छ।

त्यसमा पनि अहिले रेडियो, टिभी, अनलाइन र अन्य विभिन्न माध्यममा आउने अनेक गलत विज्ञापनले हामीलाई लोभ्याउँछ। हामी विचारै नगरेर अनेक महँगा तर काम नलाग्ने खानेकुरा खान्छौं।

नाम पोषणको, काम कुपोषणको
केही वर्षअघि बीबीसीमा नेस्ले कम्पनीको व्यापारिक प्रवर्धन गर्ने मानिस, विश्व स्वास्थ्य संघका चिकित्सक र जनस्वास्थ्य क्षेत्रमा कार्यरत केही व्यक्तिको छलफल हेरेकी थिएँ। कसरी नेस्ले कम्पनीले दिने विज्ञापनले गर्दा उपभोक्ताहरूमा भ्रम फैलिएको छ र त्यसले कसरी बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ भन्ने विषयमा छलफलमा कुरा चलेको थियो।

नेस्ले कम्पनीमा कार्यरत व्यक्तिले भने, ‘हो, कतिपय कुरामा हाम्रो कमजोरी रहेको छ र हामीले सच्याउने कोशिश गरेका छौं।’

बीबीसीको त्यो कार्यक्रमले विज्ञापनको भ्रमले हाम्रो देशमा पनि गइरहेको गलत सन्देशको बारेमा केही लेख्न उत्प्रेरित गर्‍यो।

कुनै पनि माल–सामानको विज्ञापन आफैंमा नराम्रो होइन। आजको संसारमा त्यो व्यापारको एक अंग भइसकेको छ, तर समस्या त गलत, झूटो, भ्रामक विज्ञापनको हो।

नेपाल र भारतका टिभी, पत्रपत्रिकाहरूमा ‘शिशु आहार’ बनाउने एक बहुराष्ट्रिय कम्पनीले विज्ञापन गरिरहन्छ। उक्त विज्ञापनमा भनिएको छ- ‘यो विशेष खाना आहारलाई दूधमा मिलाएर पिएपछि बच्चा अग्लो, स्मार्ट हुन्छ र उसको मस्तिष्क तेज बन्छ।’

नेपाल र भारतका टिभीमा देखाइने यो विज्ञापन बेलायतमा पनि प्रसारित भयो। तर त्यहाँको सरकारी निकाय एड्भर्टाइजिङ स्ट्याण्डर्ड अथोरिटीबाट विशेष जाँच गराएपछि थाहा भयो कि उक्त विज्ञापनमा एक प्रतिशत पनि सत्यता छैन।

सरकारले त्यस कम्पनीलाई प्रश्न गरेपछि कम्पनीको जवाफ थियो- ‘यो विज्ञापन त भारतको लागि बनेको थियो, गल्तीले बेलायतमा प्रसारित भएछ।’ उक्त विज्ञापन प्रसारण बेलायतमा रोक लाग्यो।

तर हाम्रो रेडियोमा त अझै पनि यस्तै बज्दैछ। यसको अर्थ बहुराष्ट्रिय कम्पनीहरूले विकसित देशमा झूट र भ्रमको विज्ञापन गर्न पाउँदैन तर हाम्रो जस्तो देशमा जति झूट र भ्रमपूर्ण विज्ञापन गर्न पनि छुट छ त ?

कतिपय खानेकुराको विज्ञापनमा भनिएको हुन्छ- ‘घरमा भएका खानेकुराले बच्चालाई पोषण पुग्दैन। त्यसैले बाहिरको पोषण किनेर क्याल्सियम र आइरन बच्चाको शरीरमा पुर्‍याउनुपर्छ।’

अनि पोषणमा भाषण छाट्ने मानिस र स्वास्थ्य मन्त्रालयका जिम्मेवार अधिकारीहरू मौनता साधिरहन्छन्। कसैले भन्दैन कि यो गलत कुरा हो। भात, दाल, रोटी, भटमास, दूध, मकै, दही आदि घरेलु खानेकुराले नै बच्चालाई सम्पूर्ण पोषण हुन्छ भनेर भ्रमपूर्ण प्रचारको प्रतिवाद पनि हुँदैन। कि त हामीलाई पनि हाम्रो घरको खानेकुराले पुग्दैन र बाहिरका खानेकुरा नभई बच्चाको स्वास्थ्य राम्रो हुँदैन भन्ने भ्रम अझै छ ?

उपभोक्ता समितिहरूले पनि यस्तो गलत विज्ञापनको विषयमा कतै उजुरी हालेको पाइन्न। ठगिने त सर्वसाधारण उपभोक्ता हुन्छन्। घरमा २० रूपैयाँमा बन्ने पौष्टिक आहार छाडेर बाहिरका २०० रूपैयाँ पर्ने अति कम पौष्टिक आहार भएको खानेकुराको बट्टा किन्छन् अनि बच्चालाई दिन्छन्। उपभोक्ता जागरूक भएर ती बाहिरको खानेकुरामा के राखिएको छ भनेर हेर्दैनौं। त्यसमा लेखिएको कुरा पढ्ने हो भने सजिलै थाहा पाउन सकिन्छ कि विज्ञापन कति गलत छ।

त्यस्ता बट्टाका खानेकुरामा गहुँ, जौ, चामल, चिनी जस्ता घरमा पाइने खानेकुरा नै हुन्छन्। त्यसमा विशेष रूपले क्याल्सियम मिलाएको छ, वा भिटामिन ‘ए’ भनेर थपिन्छ।

हाम्रो तपाईंको घरमा के यी खानेकुरा पाइँदैन र ? क्याल्सियम खानेकुरामा मिसाउनै पर्दैन, दूध, दही, ज्वानो जस्ता खानेकुरामा जति पनि क्याल्सियम हुन्छ। भिटामिन ‘ए’ त हरियो तरकारी, कर्कलो, गाँजरमा पाइन्न र ?

भटमास वा क्वाँटी ख्वाउँदा यसले बच्चालाई प्रोटिन दिन्छ। घरको दाल, चामल नै बच्चाको लागि पोषणयुक्त हुन्छन्। बाहिर बट्टाको खानेकुराको जरूरत पर्दैन। यसो भनेर विज्ञापन कसले दिने ? किनभने भटमासको विज्ञापनमा पैसा छैन तर त्यही भटमासलाई राम्रोसँग प्याक गरेर प्लाष्टिकमा राखेर विज्ञापन गर्‍यो भने हामी घरको भटमासको सट्टा त्यही भटमास धेरै रूपैयाँ खर्च गरेर किन्छौं।

उपभोक्ताहरू जागरूक हुने हो भने त यस्ता विज्ञापन कम्पनीले अति झूट कम बोल्थे कि ? किनभने गलत विज्ञापनको विरुद्ध भ्रम चिर्दै प्रचारप्रसार गर्ने संस्थाहरू निकै कम छन्। त्यस्ता संस्थाहरूको विभिन्न मिडियामा पहुँच नै छैन। सरकारी निकायबाट यस्ता पहलहरू भइरहेका छैनन्।

हाम्रो देशमा उत्पादन हुने विभिन्न खाद्य वस्तुहरूमा प्रशस्त मात्रामा पौष्टिक तत्वहरू पाइन्छन्। गाउँघरमा उत्पादन तथा तयार हुने खाद्य वस्तुहरूमा गरिएको वैज्ञानिक अध्ययन विश्लेषणबाट कम मूल्यमा बढी पौष्टिक तत्वहरू भएको खाद्य वस्तु प्राप्त गर्न सकिने पुष्टि भएको छ।

बजारमा किनिने तयारी खाद्यवस्तुको प्याकेजिङका लागि थप साधनस्रोतको उपयोग गर्नुपर्ने हुन्छ। थप आकर्षक बनाउनका लागि रङ्गीन बट्टा वा कागजको प्रयोग गर्नुपर्ने हुन्छ। यसको लागि थप खर्च र व्यापारीले लिने नाफाको अंश जोड्दा वस्तुको मूल्य निश्चय नै बढी हुन्छ। यसको सट्टा गाउँघरमै तयार गर्न सकिने खाद्य वस्तुलाई प्रयोग गर्न सकेमा कम मूल्यमा अधिकतम लाभ लिन सकिन्छ। साथै कुपोषणको समस्या पनि कम हुनसक्छ।

टिभीमा विज्ञापन हेर्नुभएको होला- ‘फलानो तेल लगाएपछि मेरो शल्यक्रिया गर्नुपर्ने घुँडा त ठिक भयो। फलानो मल्हमले त जादु जस्तै काम गरेर मैले लट्ठी नै टेक्नु नपर्ने भयो।’ यस्ता विज्ञापनले लोभ्याएर कति मान्छे फसेका छन्। आयुर्वेदको नाममा ठग्ने मानिसहरूको फन्दामा पर्दा धेरै समस्या पर्न सक्छ। वास्तविक आयुर्वेदिक डाक्टरले कुनै पनि औषधिले जादुको छडी जस्तै ग्यारेन्टी साथ ठिक हुन्छ भन्दैन।

आयुर्वेदिक भनेर घुँडा दुख्न कम हुने औषधि खाएपछि एक ४७ वर्षीय महिलाको तौल अत्यधिक बढेछ। उनीसँग डाक्टरले कुरा गर्दा अचम्म लाग्ने कुरा सुन्न पाइयो। उनले घर नजिकको एक ‘तथाकथित आयुर्वेदिक डाक्टर’ कहाँ गएर हात खुट्टाको जोर्नी दुखेको औषधि खाइछिन्। उक्त औषधिका कारण उनी मोटाउन थालिछन्। उनले अस्पतालमा देखाएको ‘नाम नखुलेको औषधिको’ परीक्षण गर्दा थाहा भयो कि यो औषधिमा त प्रेडनिसोलोन पो फेला पर्‍यो।

यो औषधि आधुनिक चिकित्सा विज्ञानमा बाथको समस्याका लागि प्रयोग गरिन्छ। तर डाक्टरको निगरानीमा मात्रै दिइन्छ र औषधिको प्रयोग गरेपछि विस्तारै डाक्टरको सल्लाह अनुसार हटाइन्छ।

उनलाई जाँच गर्दा हाडजोर्नीको समस्या भएको थाहा भयो। उनलाई त्यो पोकोमा भएको औषधि बन्द गर्न लगाइयो र बाथ र जोर्नीको समस्याको लागि औषधि दिइयो। अहिले उनको समस्या कम भएको छ। तौल पनि घटेको छ।

यसैगरी अहिले विभिन्न ठाउँमा ‘मोटोपन’को समस्या, यौन सम्बन्धी समस्याका गलत विज्ञापनहरूको विभिन्न ठाउँमा प्रचारप्रसार भइरहन्छ। तर भ्रमपूर्ण विज्ञापन र ‘ग्यारेन्टीका साथ उपचार’ भनेर लेखिने विज्ञापनहरूको फन्दामा कहिल्यै नपर्नोस्। त्यसमाथि पनि आयुर्वेदिक तरिकाले ग्यारेण्टीका साथ उपचार गरिने कुराहरू त ठगहरूले मात्र गर्छन्।

असम्भव कुरा वा चमत्कारमा विश्वास गर्नुहुँदैन भन्ने थाहा पाउँदापाउँदै विज्ञापनको जालोमा मानिस फसिरहेका हुन्छन्। विशेषगरी हाम्रा यस्ता केही कमजोर नसहरू हुन्छन्, जसलाई समात्न विज्ञापन गर्ने संस्था र विज्ञापन गर्न लगाउने कम्पनीले खुब जानेका हुन्छन्। त्यही कमजोर नसलाई पक्रेर जब विज्ञापन हुन्छ तब माछा जालमा फसेझैं मानिस फसिहाल्छन्।

भ्रमपूर्ण विज्ञापनको प्रभावमा परेर मानिसहरू जीवनका हरेक पलमा ठगिइरहेका हुन्छन्। विज्ञापनकै प्रभावमा आवश्यक नै नपरेका कुरा पनि किन्ने गरिन्छ। थोरै खर्च गर्ने ठाउँमा धेरै खर्च गरिन्छ र आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सरेको देखिन्छ। विज्ञापन हेरेर कुनै वस्तु प्रयोग गर्नुअघि राम्रोसँग सोच्नु जरुरी छ कि विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्नलायक छन् त ?

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?