+
+

गठबन्धनले जवाफ फर्काएकोमा राष्ट्रपति दुःखी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते २२:२५

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा छलफल होस् भनेर नागरिकता विधेयक फिर्ता गर्दा गठबन्धनले जवाफ फर्काएको भन्दै गुनासो गरेकी छन् ।

संघीय संसदले पास गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा प्रतिनिधिसभामै फिर्ता गरेकी थिइन् । विधेयक फिर्ता गर्दा पठाएको सन्देशमा प्रादेशिक पहिचान र लैंगिक समानता नभएको तथा अंगीकृत नागरिकताबारे स्थायी समाधान खोज्नुपर्ने भनिएको छ ।

तर, सत्तारुढ गठबन्धनको निर्णयअनुसार प्रतिनिधिसभाले २ भदौमा नागरिकता विधेयक हुबहु पास गरेको छ, राष्ट्रियसभाले भने विधायन समितिमा पठाएको छ ।

लगत्तै राष्ट्रपति भण्डारीले सोमबार नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । भेटमा अग्निपथ लगायतका विषयमा पनि कुराकानी भएको थियो, तर मुख्य चासो चाहिं नागरिकता थियो ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई लिएर शीतल निवास पुगेका थिए । कांग्रेस नेताहरु निस्किएको केही समयपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ रामबहादुर थापा महासचिव शंकर पोखरेललाई लिएर शीतल निवास पुगेका थिए ।

दुबै दलका नेताहरुसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमाथि संसदमा छलफल होस् भनेर फिर्ता पठाएको, तर सत्ता गठबन्धनले जवाफ फर्काएको गुनासो गरिन् । ‘मैले जुन गम्भीरतासाथ यो विषय उठाएकी थिएँ, त्यसको रेस्पोन्स त्यही अनुरुप हुन सकेन, म दुःखी छु,’ राष्ट्रपतिले भनिन्, ‘मैले २००९ सालयताको विवाद सधैंका लागि रोकिने गरी संसदमा रहेका दलहरुले काम गर्नेछन् भन्ने अपेक्षा राखेको थिएँ, त्यस्तो भएन ।’

भेटमा सहभागी कांग्रेस एक पदाधिकारीले पनि नागरिकता विधेयकमा राष्ट्रपतिले ‘सहमतिका लागि प्रयास हुन्छ होला भने अपेक्षा थियो’ भन्दै असन्तुष्टि जनाएको बताए ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले राष्ट्रपतिले संविधानभित्रै रहेर नागरिकता विधेयक फिर्ता गरेको बताएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने दोहोरो भूमिका खेलेको भन्दै उनले भने, ‘ओलीजीले जुन अध्यादेश ल्याउनु भएको हो, मैले त्यही ल्याएको हो । उहाँले राष्ट्रपतिको समर्थन गर्नु भनेको डबल स्ट्याण्डर हो ।’ प्रधानमन्त्री देउवाले ६/७ लाख नागरिक नागरिकताबिहीन भएकाले नागरिकता विधेयक ल्याउन हतार गर्नुपरेको बताएका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि जन्मसिद्धका सन्तानलाई नागरिकता दिलाउन अरु विषयलाई थाती राखेर नागरिकता विधेयक संशोधन गर्न खोजिएको बताएका छन् । ‘जन्मसिद्धका सन्तानका नागरिकता दिलाउन संशोधन गर्न चाहेको हो । अरु थाति राखेका हो,’ उनले भनेका थिए, ‘भविश्यमा नागरिकता विधेयक बनाउनुपर्छ । कांग्रेसको तर्फबाट आश्वस्त पार्न चाहन्छौं कि राष्ट्रपतिज्यूको सन्देशले त्यो बेलालाई मार्गनिर्देशित गर्छ ।’

अग्निपथ र एसपीपीमा चासो

सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका नेताहरुसँग भएको भेटमा राष्ट्रपतिले भारतीय सैनिक अभियान अग्निपथबारे उठिरहेका विवादबारे पनि जिज्ञासा राखेकी छन् ।

एमाले नेताहरुले गोर्खा भर्तीसँग जोडिएको विषय भएकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा नेपाललाई अहिलेसम्म थाहा नभएकोबारे सरकारसँग सोधेको, तर कुनै जवाफ नपाएको बताएका थिए । उपाध्यक्ष नेम्वाङले अनलाइनखबरलाई बताएअनुसार यसबारे संसदमै आवाज उठाउँदा पनि सरकारले चित्तबुझ्दो जवाफ नदिनुलाई विपक्षी पार्टीले अनुचित ठानेको छ ।

‘भारतले एकपक्षीय रुपमा अग्निपथ लागु गर्न खोज्दा पनि सरकारको धारणा आएन,’ उनले शीतल निवासमा आफूहरुको धारणा उद्धृत गर्दै सुनाए, ‘पछि यो अभियान रोकियो भन्ने पनि सुनियो । तर हामीकहाँ कुनै जानकारी छैन ।’

राष्ट्रपति भण्डारीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे पनि जान्न चाहेकी थिइन् । उनले एमाले नेताहरुसँग यसबारे के भइरहेको छ भनी सोधेकी थिइन् ।

सरकारले अमेरिकालाई यो अभियानमा नेपाली संलग्नता रोकिएकोबारे जानकारी गराउने भनेपनि हालसम्म औपचारिक सूचना नपाएकोमा चासो व्यक्त गरेको एमाले नेताहरुले बताए । ‘हामीले एसपीपीमा नेपाल संलग्न नहुने भनी अमेरिकालाई चिठी लेख्न भनेका थियौं, तर सरकारले कुनै जवाफ दिएन । पछि जवाफ पठाएको सुनियो, त्यो चिठी संसदमा देखाउन आलटाल गरिरहेको छ’, एमाले नेताहरुले भने, ‘घुमाइफिराई फेरि एसपिपी पास गराउन लागेको हो कि भन्ने सन्देह सरकारका गतिविधिले उत्पन्न भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?