+
+

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनाड्य

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १२:२४

१४ भदौ, काठमाडौं । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका छन् । उनले फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् ।

विश्वका धनीहरुको सूचीमा अहिले टेस्लाका सीईओ एलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोस मात्र अगाडि छन् । अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ६० वर्षीय अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६०.९ अर्ब डलरले बढेको छ ।

फेब्रुअरीमा मुकेश अम्बानीलाई उछिन्दै उनी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । अप्रिलमा उनको कुल सम्पत्ति १०० अर्ब डलर नाघेको थियो र गत महिना उनी माइक्रोसफ्टका बिल गेट्सलाई उछिन्दै विश्वका धनीहरुको सूचीमा चौंथो नम्बरमा पुगेका थिए ।

भारतका मुकेश अम्बानी र चीनका ज्याक मा धनीहरूको सूचीमा यतिसम्म पुग्न सकेनन् । मुकेश अम्बानी एक पटक विश्वका धनीहरुको सूचीमा चौंथो नम्बरमा पुगेका थिए । तर, अडानी उनीभन्दा एक कदम अगाडि बढेका छन् ।
हालैका वर्षहरूमा अडानी समूहले आफ्नो व्यवसायलाई उल्लेखनीय रूपमा विस्तार गरेको छ । उनले डायमण्ड ट्रेडिङबाट आफ्नो व्यवसाय सुरु गरे । तर, त्यसपछि कोइला व्यवसायमा लागे ।

अहिले उनको समूह कोइलादेखि बन्दरगाह, मिडिया, सिमेन्ट, एल्युमिना र डाटा सेन्टरसम्मको व्यवसायमा संलग्न छ । यो समूह देशको सबैभन्दा ठूलो निजी क्षेत्रको बन्दरगाह र विमानस्थल सञ्चालक हो । यससँगै सिटी ग्यास वितरण र कोइला खानीमा पनि यो भारतमा पहिलो नम्बरमा छ । अडानी समूहले पनि हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ ।

अडानी समूहका केही सेयर सन् २०२० पछि एक हजार प्रतिशतसम्म बढेका छन् । अडानीको कुल सम्पत्ति रकेट गतिमा बढ्दै गएको छ । सोमबारसम्म उनको कुल सम्पत्ति १.१२ अर्ब डलरले बढेर १३७ बिलियन डलरभन्दा माथि पुगेको छ ।

अर्कोतर्फ फ्रान्सका बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १.३७ अर्ब डलरले घटेर १३६ अर्ब डलर पुगेको छ । मुकेश अम्बानी ९१.९ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा ११ औं स्थानमा छन् ।

यो वर्ष उनको कुल सम्पत्ति १.९६ अर्ब डलर मात्र बढेको छ । विश्वका धनीहरूको सूचीमा २५१ अर्ब डलरको सम्पत्तिसहित मस्क पहिलो र बेजोस १५२ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?