+
+

सँगैका साथी स्वर्णिम–विश्व चितवन-१ मा आमनेसामने

आफूले उठ्न चाहेको क्षेत्र नै वाग्लेले ताकेको भनी पौडेल असन्तुष्ट छन् । अनलाइनखबरसँग कुरा गर्दै पौडेलले कुटनीतिक भाषामा भने, ‘मैले उठ्ने चितवनबाटै हो, अन्यत्र मेरो आधार छैन । तर उहाँको अरुतिर पनि थियो । किन आउनुभयो, थाहा भएन, मसँग सोधेर स्वर्णिमजी चितवन आएको होइन ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते २०:३९

१४ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगमा पालैपालो उपाध्यक्ष बने स्वर्णिम वाग्ले र विश्व पौडेल । अर्थशास्त्रमा पिएचडी गरेका यी दुई मित्रहरु चितवन-१ मा आमनेसामने बनेका छन् । पाैडेलले बर्कले युनिभर्सिटी अफ् क्यालिफाेर्निया तथा वाग्लेले अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पीएचडी गरेका हुन् ।

आज मंगलबार कांग्रेसको चितवन-१ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्दै वाग्ले र पौडेलले प्रतिनिधिसभा चुनावमा लड्ने इच्छा जाहेर गरेका हुन् । क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा नाम सिफारिस गर्दा यही सूचीलाई आधार मान्ने छ । उनीहरुका अलावा तीर्थराज खनियाँ, उमेश श्रेष्ठ, भीमप्रसाद थपलिया र राजेन्द्र बुर्लाकोटीले पनि उम्मेदवारीको इच्छा जाहेर गर्दै नाम पेश गरेका छन् ।

खासमा स्वर्णिम गोरखा-१ बाट लड्ने तयारी गर्दै थिए । त्यहाँ अनुकुल नभएपछि काठमाडौं-५ बाट उठ्ने उनको इच्छा थियो । तर अकस्मात् उनी चितवन-१ पुगेका छन्, जहाँ उनका लामो समयदेखिका घनिष्ट मित्र तथा हालका योजना आयोग उपाध्यक्ष विश्व पौडेलले नाम पेश गरेका छन् । विश्व पौडेलको घर चितवन १ मै पर्छ । स्वर्णिम गोरखाबाट चितवन हुँदै काठमाडौं आएका हुन् ।

साथीभाइको सर्कलमा केही समययता यी दुईबीच सम्बन्ध सुमधुुर नरहेको चर्चा चल्दै आएको थियो । कतिसम्म भने केही महिनाअघि काठमाडौंमा वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ पुस्तकको विमोचनमा पौडेल देखिएनन् । कारण बुझ्दैजाँदा थाहा भयो, वाग्लेले निम्तो नै दिएका रहेनछन् ।

अर्का पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल, वाग्लेसहितको टिममा पौडेल पनि रहँदै आए पनि पछिल्लो समय उनी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कित्तामा सरेको भनी चर्चा थियो । पोखरेल र वाग्ले हालसम्म शेखर कोइराला र गगन थापाको समूहमा छन् ।

यस्तो अवस्थामा आफूले उठ्न चाहेको क्षेत्र नै वाग्लेले ताकेको भनी पौडेल असन्तुष्ट रहेका छन् । अनलाइनखबरसँग कुरा गर्दै पौडेलले कुटनीतिक भाषामा भने, ‘मैले उठ्ने चितवनबाटै हो, अन्यत्र मेरो आधार छैन । तर उहाँको अरुतिर पनि थियो । किन आउनुभयो, थाहा भएन, मसँग सोधेर स्वर्णिमजी चितवन आएको होइन ।’

उनीहरुको बीचमा नियमित भेट र घन्टौं छलफल हुने गरेको निकटस्थ सबैलाई थाहा छ । कहाँदेखि तिक्तता सुरु भयो भन्नेबारे पौडेल जान चाहँदैनन् । उनी भन्छन्, ‘तपाईंहरु पत्रकारको पनि आपसमा प्रतिस्पर्धा हुन्छ होला नि, तर प्रतिस्पर्धी हुनुअघिको सम्बन्धबारे अहिले बाहिर कुरा लैजानु राम्रो होइन ।’

हाम्रो प्रश्न : तपाईंलाई देउवाले योजना आयोग उपाध्यक्ष बनाएपछि खटपट भएको भन्ने छ नि ?

उनले उल्टै सोधे : अनि उहाँलाई चाहिँ कसले उपाध्यक्ष बनाएको हो नि ?

उनी आफैंले थपे, ‘चुनावमा उठ्ने भनेको स्थानीय मानिसहरुले अझै राम्रो जनप्रतिनिधि पाउन् भन्ने हो । यसमा हामी कांग्रेसबाट थुप्रैले दाबी गरेका छौं । हेरौं नेतृत्वले के गर्छ ?’

पौडेल र वाग्लेको तिक्तता बढ्नुमा आरजु देउवा कारक हुन् । वाग्लेले आफूविरुद्ध बोल्दै हिँडेको गुनासो गर्दै आएकी आरजुले वाग्लेकै बराबरको व्यक्त्वि भएका पौडेललाई राजनीतिक महत्वाकांक्षा जगाइदिएको वाग्लेका एक निकटस्थले अनलाइनखबरलाई बताए ।

‘विश्वजीको अहिले चुनावमा उठ्ने मनस्थिति थिएन, भाउजु (आरजु) कै आग्रह हो यसमा’, उनले भने, ‘स्वर्णिम अर्थमन्त्री हुन सक्छन् भने विश्व किन हुन सक्दैनन् भन्ने गर्नुभएको छ उहाँले ।’

योजना आयोगमा कांग्रेसबाट गएका अधिकांश पूर्वउपाध्यक्षहरु अहिले प्रत्यक्ष राजनीतिमा छन् । पौडेल आफैं भन्छन्, ‘न म पहिलो र अन्तिम उपाध्यक्ष हो, न स्वर्णिमजी नै । प्रतिस्पर्धालाई हामीले प्राकृतिक रुपमा लिन सक्नुपर्छ ।’

हामीले वाग्लेलाई पनि चितवन रोज्नुको कारणबारे जान्न सम्पर्क गरेका थियौं । तर यो समाचार तयार पार्दासम्म उनको कुनै जवाफ प्राप्त भएन । खासमा उनी गोरखाबाटै चुनाव लड्न चाहन्थे । तर पछिल्लो स्थानीय चुनावको नतिजामा कांग्रेसको खराब प्रदर्शनले उनलाई झस्काइदियो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भने वाग्लेलाई गोरखाबाटै चुनाव लडे सघाउने भनी हौस्याएका थिए ।

टिकट अन्तिममा कसले पाउला हेर्न बाँकी नै छ । यस्तो बेलामा विश्व पौडेलले अहिले नै योजना आयोग नेतृत्व नछाड्ने बताए । यदि पार्टीले उम्मेदवार मनोनयन गराएमा पद छाड्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?