+
+

‘खिया’ लागेको वेबसाइटमा कांग्रेसको ‘ऐना’

निर्वाचनका बेला सञ्चारमाध्यम, पार्टीको वेबसाइट र सामाजिक सञ्जालको अधिक प्रयोग गरेर मतदातासमक्ष अन्य दलहरूले आफ्ना एजेण्डा ओछ्याइरहेका बेला नेपाली कांग्रेसको वेबसाइटको ऐनामा खिया लागेको छ ।

रामजी दाहाल रामजी दाहाल
२०७९ भदौ १५ गते १५:०५

करिब चार वर्षअघि कांग्रेस प्रवक्ता (हालका महामन्त्री) विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई ‘डिजिटलाइज’ गर्ने घोषणा गरेका थिए । मंसिर २०७८ मा सम्पन्न १४ औं महाधिवेशनअघि पार्टीलाई थप डिजिटल भनेर चिनाउन कांग्रेसले ‘वार रुम’ गठन गरेको थियो ।

‘स्थानीय, प्रदेश र संघको आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’ को संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने’, कांग्रेसले जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

‘डिजिटलाइज’ कांग्रेसको सपना देखेका उनै शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका छन् । तर कांग्रेसको वेबसाइट ‘नेपाली कांग्रेस डट ओआरजी’ले ‘डिजिटलाइज’ को धज्जी उडाएको छ ।

विज्ञान र प्रविधिको आधुनिक युगमा कुनै पनि संघ, संस्था अथवा पार्टीको आधिकारिक वेबसाइट खोल्ने वित्तिकै गृहपृष्ठमा सम्बन्धित संस्थाको न्यूनतम जानकारीका अतिरिक्त सम्बन्धित संस्थाको प्रमुख पदाधिकारीको छोटो, मिठो सन्देश राखिएको हुन्छ । कुनै पनि संस्थाले त्यसमा आबद्ध सदस्यहरूका निम्ति मात्र नभएर सरोकारवाला हरेकका लागि उपयोगी सन्देश राखेर वेबसाइट आकर्षक बनाएको हुन्छ ।

कांग्रेसको वेबसाइट आकर्षक बनाउने मुख्य जिम्मेवारी कसको हो त ? नेपाली कांग्रेसको विधान २०७५ को धारा २७ मा महामन्त्रीको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । विधानमा भनिएको छ, ‘पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने, गराउने । पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने ।’ यसरी हेर्दा विधानतः कार्यालय संचालनको जिम्मा महामन्त्रीकै हो ।

रामजी दाहाल

नेपालकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको वेबसाइटमा संस्थाका बारेमा कुनै जानकारी छैन । कांग्रेसबारे बुझ्ने र सिक्न खोज्नेका लागि वेबसाइटमा पार्टीको राजनीतिक दस्तावेज कहीं भेटिंदैन । यसो हुँदा वेबसाइट हेरेर नयाँ पुस्ताले कांग्रेसबारे केही जानकारी पाउन र आफ्नो धारणा बनाउन सक्दैनन् । जबकि पछिल्लो समय कांग्रेसमा युवापुस्ताको आकर्षण घढ्दो छ । अनि प्रविधिमा अभ्यस्त नयाँ पुस्तालाई कांग्रेस भनेको यस्तो राजनीतिक दल हो भनेर कसरी सञ्चार गर्न सकिन्छ ?

प्रविधिप्रति कांग्रेस स्वयं कत्तिको संवेदनशील छ भन्ने यसबाटै प्रष्ट हुन्छ । जबकि राम्रोसँग संयोजन गर्न सक्ने हो भने प्रविधि भनेको आधुनिक युगमा एउटा अचूक अस्त्र हो । यो वास्तविकतालाई नजरअन्दाज गरेर कांग्रेसले पार्टीको सिद्धान्तमाथि त खेलबाड गरेको छ नै साथै इतिहासप्रति अन्याय पनि गरेको छ ।

समाजवादको ‘स’ पनि नभेटिने कांग्रेसको वेबसाइटमा कम्युनिष्ट मेनुफेस्टो भने पढ्न पाइन्छ । हुन त कतिपयले कम्युनिष्ट मेनुफेस्टो राखेर कांग्रेस कति उदार छ भनी अर्थ लगाउन पनि सक्लान् । तर उदारपन देखाउँदै गर्दा पार्टीको आधारभूत सिद्धान्त निमिट्यान्न पार्ने कामलाई त्यसरी अर्थ लगाउनेहरूले विश्लेषण चाहिं कसरी गर्लान् ? यति भनिरहँदा अर्को भुल्न नहुने कुरा के हो भने नेपाली कांग्रेस सोसलिष्ट इन्टरनेशनलको सदस्य पनि हो । तर पार्टीको वेबसाइटको कुनै पनि कुनामा सोसलिष्ट इन्टरनेशनलको गन्ध पाइँदैन ।

कांग्रेसका निर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पृष्ठभूमि मिडिया नै हो । त्यस अर्थमा युवा पुस्तालाई लक्षित गरी सञ्चार व्यवस्थापन गराउनु थापा र शर्माको दायित्व पनि हो । तर वेबसाइट हेर्दा थापा र शर्माले त्यसप्रति पूर्णतः बेवास्ता गरेका छन् ।

अनलाइन लाइब्रेरी खण्डमा २४ भदौ २०७७ मा एकै दिन अपलोड गरिएका आठवटा किताबको पीडीएफ फाइल राखिएको छ । जसमा बाराक ओबामाको आत्मकथामा आधारित ‘डिम्स फ्रम माई फादर’, लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्य र मुनामदन खण्डकाव्य, मार्क्स र एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र, अमर्त्यसेनको विश्व चर्चित पुस्तक ‘दि आइडिया अफ जस्टिस’ छन् ।

यसैगरी, बीपी कोइरालाका सुम्निमा, दोषी चस्मा र श्वेतभैरवी जस्ता साहित्यिक कृति पनि राखिएको छ । ती सामग्री कतिसम्म अव्यवस्थित ढंगबाट राखिएका छन् भने दोषी चस्माको लिंकमा क्लिक गर्दा सुम्निमाको पीडीएफ फाइल खुल्छ ।

वेबसाइटको सबैभन्दा पुछारमा रहेको इमेलसँगै कांग्रेसको कर्म लिंकमा क्लिक गर्दा अनलाइन समाचारमा पुग्न सकिन्छ । ‘डिजिटलाइज’ कांग्रेसको वेबसाइटमा समाचार अपलोड नगरिएको दुई वर्ष भएको छ । मंसिर २०७७ देखि कुनै पनि समाचार सामग्री राखिएको छैन । कांग्रेसको वेबसाइट हेरेर उसका गतिविधिबारे अपडेट हुन खोज्ने कुनै पाठक, कार्यकर्ता वा शुभचिन्तकले के कुरा बुझ्दछ भने दुई वर्षदेखि कांग्रेसका गतिविधि ठप्प छन् । जबकि पाँच महिनाको अन्तरमा पार्टीको १४ औं महाधिवेशन र स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका छन् । अन्य स–साना गतिविधि त दिनहुँजसो हुन्छन् नै ।

निर्वाचनका बेला सञ्चारमाध्यम, पार्टीको वेबसाइट र सामाजिक सञ्जालको अधिक प्रयोग गरेर मतदातासमक्ष अन्य दलहरूले आफ्ना एजेण्डा ओछ्याइरहेका बेला नेपाली कांग्रेसको वेबसाइटको ऐनामा खिया लागेको छ ।

वेबसाइटलाई कतिसम्म बेवास्ता गरिएको छ भन्ने अर्को दृष्टान्त हाम्रो बारेको खण्डमा जाँदा प्रष्ट हुन्छ । जुन खण्डमा परिचय, ‘केन्द्रीय’ कार्य समिति र ‘केन्द्रिय’ कार्यालय उल्लेख छ । एकै ठाउँमा लेखिएको दुई ‘केन्द्रीय’ शब्दमा एकरूपता छैन । व्याकरणका हिसाबले ‘केन्द्रिय’ लेखाइ नै गलत छ । १४९ सदस्यीय केन्द्रीय कार्य समितिको सूचीमा पदमनारायण चौधरी, मीनाक्षी झा, सञ्जयकुमार गौतम, कल्याणकुमार गुरुङ, गोविन्दबहादुर शाह, अब्दुल सत्तार लगायतका ६३ जनाको नाम मात्र उल्लेख छ ।

‘डिजिटलाइज’ कांग्रेसले आफ्नो केन्द्रीय कार्य समितिका सदस्यहरूको फोटो भेटाउन सकेको छैन । ९ महिनाअघि महाधिवेशन गरेको कांग्रेसको यसबीचमा आधा दर्जन भन्दा बढी पटक केन्द्रीय समितिको औपचारिक बैठक बसिसकेको छ । महाधिवेशन भएको ९ महिना बितिसक्दा पनि आफ्नो वेबसाइटमा कार्यसमितिका सबै सदस्यहरूको फोटो राख्न नसक्ने कांग्रेस नै ‘डिजिटलाइज’ कांग्रेस हो त ? अर्कातिर संघीय संरचना अन्तर्गत वेबसाइटमा कांग्रेसको प्रदेश समितिको नामोनिसान भेटिंदैन ।

४ मंसिरमा संघ र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा युवा मतदातालाई लक्षित गरी राजनीतिक दलहरूले सञ्चारमाध्यम, पार्टीको वेबसाइट र सामाजिक सञ्जालमार्फत एकपछि अर्को गर्दै आफ्ना एजेण्डाहरू ओछ्याइरहेका छन् । तर सरकारको नेतृत्व गरेको कांग्रेसले आफ्ना एजेण्डालाई मतदातासमक्ष प्रभावकारी ढंगबाट लैजान नसकेको आज मात्र होइन, हिजोका दिनमा पनि सकेन ।

हुन त निर्वाचनको केही दिनअघि कांग्रेसको प्रचार विभागले गठन गर्दै आएको मिडिया सेन्टर ‘आउट डेटेड’ हरूको चिया क्लब जस्तै हुने गरेको छ । पाँच वर्षपछि हुन गइरहेको निर्वाचन परिणाम पार्टीका पक्षमा ल्याउन सम्पूर्ण संयन्त्रलाई प्रभावकारी ढंगबाट परिचालन गर्नुपर्नेमा आफ्नै वेबसाइटमा खिया लगाएर बसेको कांग्रेसका युवापुस्ताबाट थप के अपेक्षा गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?