+
+

गुणस्तर कमजोर भेटिएपछि प्राधिकरणले फर्कायो ५० ट्रान्सफर्मर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते २०:३८

१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५० वटा ट्रान्सफर्मर आफ्नो गुणस्तर मापदण्डसँग मेल नखाएको ठहर गरेर फिर्ता गरेको छ । देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको राख्न भएको ठेक्काअनुसार आपूर्ति भएका २ सय केभीएका ट्रान्सफर्मर प्राधिरकणले फिर्ता गरिदिएको हो ।

प्राधिकरणको ल्याबले ती ट्रान्सफर्मरमा ‘चुहावट दर’ धेरै भेटेपछि स्वीकार नगर्न सिफारिस गरेको थियो । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाकाअनुसार साङडोङ फुडा कम्पनीले उत्पादन गरेका ट्रान्सर्फमहरु नेपालको प्रणालीमा राख्न नसकिने गरी अस्वीकृत भएका हुन् ।

‘हामीले मागेको मापदण्डअनुसार ट्रान्सफर्मर आएन, हामीले तोकेको स्पेसिफिकेसन अनुसार नभएकाले ठेकदार कम्पनीलाई ट्रान्सफर्मर स्वीकार गर्न नसक्ने जानकारी दिएर फिर्ता पठायौं,’ आयोजनाका एक अधिकारीले भने ।

आयोजनाले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनका लागि यी ट्रान्सफर्मर मगाएको थियो । चीनको वाङडेङ डिजिटल इनर्जीले करिब ३७ करोडमा ठेक्का पाएपछिट्रान्सफर्मर साङडोङबाट ल्याउने गरी स्पेसिफिकेसन दिएको थियो । तर, प्राधिकरणले मापदण्डअनुसारको गुणस्तर नभएको ठहर गरेर ट्रान्सर्फमर फिर्ता गरिएको हो ।

आयोजनाका अनुसार प्राधिकरणले यसअघि गुणस्तर जाँच भएर नेपालमा प्रयोग भइसकेका कम्पनीबाट नै ट्रान्सफर्मर दिन कम्पनीलाई निर्देशन दिएको छ । त्यसअनुसार ट्रान्सफर्मरहरु जोडेर चार्जिङ स्टेसन सञ्चालन गर्ने काम मंगलबारदेखि प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कबाट सुरु भइसकेको छ ।

५ वर्षसम्म ठेकदार कम्पनीले नै चार्जिङ स्टेसनहरुको मर्मतसम्भार गर्ने छ भने सञ्चालन र व्यवस्थापन प्राधिकरणले गर्नेछ ।

यसपटक आपूर्ति भएको ट्रान्सफर्मरको गुणस्तर यअसघि प्राधिकरणमा भएको ट्रान्सफर्मर खरिद घाटालाको पुरानो घटनालाई स्मरण गराएको छ । २०६९ सालमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक डा. जीवेन्द्र झासहित उच्च अधिकारी र ठेकदार तथा एजेन्टविरुद्ध नक्कली ट्रान्सफर्मर खरिद गरेको अभियोगमा ४६ करोड ७६ लाख ६३ हजारको भ्रष्टाचार मुद्दा नै चलेको थियो । आर्थिक वर्ष २०६६/६७ मा साहभान्त इलेक्टि्रक कम्पनीसँग विभिन्न क्षमताका १५ सय ६७ थान ट्रान्सर्फमर खरिदमा भ्रष्टाचार भएको अख्तियारको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?