
काठमाडौं । फिल्म ‘प्रकाश’ले राजनीतिक वृत्तमा पनि प्रचारलाई तीव्र बनाएको छ । सोहीअनुसार नेपाली कांग्रेसका नेता गगन थापा, विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र लगायतले फिल्म हेरिसकेका छन् ।
निर्देशक दिनेश राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र सञ्चारमाध्यमका सम्पादकलाई पनि निम्तो दिइसकेका छन् ।
बुधबार बेलुका फिल्म हेर्न जाने भनिए पनि गठबन्धनको बैठकका कारण प्रचण्ड जान पाएनन् । प्रचण्डले केही दिनमै अनुकूल समय मिलाएर फिल्म हेर्ने वचन निर्देशक राउतलाई दिएका छन् ।
यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ‘प्रकाश’ हेरेका छन् । सरकार चलाइरहेका दल र तिनका नेताले फिल्म हेर्नुपर्ने सुझाव उनको छ । ‘सात वर्षअघि टीभी कार्यक्रममा मैले जो कुरा उठाएको थिएँ, आज प्रकाशले पनि त्यही उठाएको छ,’ उनले भने ।
वर्तमान समाजलाई चित्रण गर्न फिल्म सफल रहेको भन्दै उनले नेपाल सुधार गर्नको लागि पनि फिल्म हेर्नुपर्ने जरुरी रहेको बताए । ‘अहिलेको वर्तमान राज्य व्यवस्थाले नजानिंदो ढंगले वर्गीय विभेदलाई प्रोत्साहित गरेको छ । प्रकाशले यही कुरा उठाएको छ । समाजलाई चित्रण गर्न फिल्म सफल भएको छ,’ उनले भने ।
‘मलाई राजनीति र भोटमा कति फरक पर्छ भन्ने कुराको कुनै पर्वाह नगरीकन फिल्म हेर्नुपर्छ । सात वर्षअघि एक टेलिभिजनमा मैले जुन हिम्मत गरेर उठाएको थिएँ, त्यो फिल्मले उठाएको रहेछ,’ उनले भने ।
फिल्मको क्लाइमेक्सको चर्चा गर्दै लिङ्देनले यो बुझ्ने जिम्मा देश हाँकेका दलहरुलाई छाडेको बताए । ‘म समीक्षक त होइन, तर नेपालको राजनीति गर्नेहरुकै लागि क्लाइमेक्स बुझ्ने जिम्मा छाडिदिएजस्तो लाग्छ,’ उनी भन्छन्, ‘यो फिल्म हेर्नैपर्छ । अझै प्रचार पुगेन, अझै बुझाउनुपर्ने जरुरी छ । नेपाललाई सुधार गर्नको लागि हेर्नैपर्नेछ ।’
उनले फिल्म हेरिसकेपछि डायलग पनि सुनाए-
रङ बदल्नेहरु महलतिर जाँदा रहेछन्
रगत बग्नेहरु किनारा लाग्दा रहेछन्
प्रदीप खड्का, दीया मास्के र रेणु योगीको प्रमुख रहेको फिल्मले विपन्न परिवारको युवकले सरकारी शिक्षक बन्न गरेको संघर्षलाई पेश गरेको छ । जुम्लाको सेटिङमा छायांकन भएको फिल्मले दर्शकलाई चरित्रसँगै कथाको यात्रा गराउने भन्दै प्रशंसा समेत भएको छ ।
प्रतिक्रिया 4