१६ भदौ, काठमाडौं । कर्पोरेट गल्फ प्रतियोगितामा सहभागिता जनाउँदै आएका श्याम तामाङलाई विश्वकै सर्वाधिक उचाइमा पहिलोपल्ट हुन लागेको गल्फ प्रतियोगिताका लागि नाम दर्ता गर्दा कोर्षको स्तरबारे ठूलो शंसय थियो । किनभने ४ हजार ६४५ मिटर उचाइको मुस्ताङको लोमाङ्थाङमा नवनिर्मित गल्फ कोर्ष देखेका थिएनन् ।
‘मुस्ताङ भन्ने बित्तिकै अधिकांशले अत्यधिक गेग्रानसहितको उजाड भिरालो भू-भाग नै सम्झिन्छौं । गल्फ कोर्षमा गेग्रान (साना ढुंगाहरु)ले आइरन बिगार्ने हो कि भन्ने चिन्ता थियो,’ स्टेपलफोर्ड ३/४ ह्याण्डिक्याप फर्म्याटमा आयोजित प्रतियोगितामा २२ स्कोर गर्दै उपाधि जितेपछि काठमाडौं फर्किएका तामाङले भने ।
प्रतियोगिता आयोजना हुनु अघिल्लो दिन भदौ १० गते अपराह्न जब उनी प्रतियोगितास्थल पुगे । उनी सरप्राइज्ड भए । ३७ सय मिटरमाथि गेग्रानको पहाड कटेपछि ४५ सय मिटर माथि त पूरै हरियाली रहेछ । हिमालको काखमा हरियाली चौर (खर्क) तामाङको आनुमानभन्दा बाहिरको सत्यता थियो । ‘कुनै पनि विषयमा सुनेको र अनुमान गरेको आधारमा धारणा बनाउनु हुँदैन रहेछ भन्ने ज्ञान पाएँ,’ तामाङले थपे ।
लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको प्रयतियोगितामा तीन महिलासहित ३६ जना गल्फरहरुको सहभागिता थियो । काठमाडौंका २१, पोखराका १०, मुस्ताङ र बुटवलका २-२ तथा एकजना अमेरिकी गल्फरले प्रतिस्पर्धा गरेका थिए । ८१ वर्षीया डा. रिता थापाले टी अफ गरेपछि प्रतियोगिता उद्घाटन भएको थियो ।
टप अफ द वर्ल्ड गल्फ क्लासिक नामक यो प्रतियोगिता मूलतः औपचारिक रुपमा मुस्ताङको कोर्षमा गल्फ खेल्न सम्भव छ भन्ने सन्देश दिन आयोजना भएको थियो । ९ होलमा निर्माण गरिएको गल्फ कोर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डका दर्ता गर्न अब पहल हुनेछ । नेपाल प्रोफेसनल गल्फर संघले यसका लागि पहल गर्नेछ ।
‘लोमान्थाङका सबै गाउँबासी, स्थानीय तहका जनप्रतिनिधि, सांसद सबै मिलेर प्रतियोगिता सफल बनाउन सक्रिय भएको दृश्य साह्रै रमाइलो थियो,’ प्रतियोगिताको उपाधि विजेता तामाङले भने, ‘युवाहरुले क्याडीको काम गरिरहेका थिए । आमा समूहले खानपानको जोहो गरिरहेको थियो । अन्य केही प्रतियोगिताको व्यवस्थापनमा खटिएका थिए ।’
पहिलो औपचारिक प्रतियोगिताका विजेता तामाङले मुस्ताङको अल्टिच्यूड व्यवसायिक गल्फ र पर्यटन प्रवर्द्धनका लागि उत्कृष्ट रहने बताए । सामान्यतः गल्फ कोर्षका लागि हरियाली हुनु आवश्यक हुन्छ । ८१ वर्षीया डा. थापा र ७४ वर्षीय विजय मोक्तानले खेलेपछि अल्टिच्यूडको समस्या कम हुने प्रमाणित भइसकेको छ । यद्यपि त्यहाँको वातावरण अनुकुल बनाउन अघिल्लो दिन लोमान्थाङ पुग्नुपर्ने तामाङले बताए ।

‘लोमान्थाङ क्षेत्रमा प्राकृतिक कंक्रिट भ्याली रहेछ । त्यहाँबाट ७ सय मिटर माथि पुगेपछि हरियाली समथर चौर छ,’ तामाङले भने, ‘त्यहाँ एउटा खोँच पार गरेपछि अर्को ९ होलका लागि पुग्ने क्षेत्र पनि छ । त्यसलाई पनि प्रयोग गर्न सकियो भने व्यवसायिक गल्फरहरुका लागि अल्टिच्युड कोर्षका रुपमा उत्कृष्ट विकल्प तयार हुनेछ ।’
तत्कालका लागि प्राकृतिक मैदानलाई उपयोग गरी कोर्ष बनाइएको छ । पूर्वाधारका केहि काम र मैदानको स्तरउन्नति आवश्यक रहेको तामाङले बताए । उनले भने, ‘पटिङ ग्रिनलाई अत्याधुनिक घाँस ल्याएर राम्रो बनाउनु आवश्यक छ । टी बक्स एउटा चाहिएको छ ।’
तामाङले यो क्षेत्रलाई अमेरिकाको लस भेगास, नेवाडासँग तुलना गरेका छन् । खेलकुदको बहानामा पर्यटन प्रवर्द्धनका लागि पनि सहयोग पुग्ने उनको विश्वास छ । ‘लोमान्थाङ पर्यटकीय क्षेत्र भएको हुनाले बसोबासका लागि खासै असहज हुँदैन ।
यो कोर्षले विश्वका चर्चित व्यवसायिक गल्फरहरुलाई पनि यहाँ आकर्षित गर्नेछ,’ तीन वर्षदेखि गल्फ खेलिरहेका उनले भने । तामाङले नेपाली तथा विदेशी गल्फरहरुलाई मुस्ताङ गल्फ कोर्षको सदस्य बनाउन सकिए उनीहरुबाट प्राप्त सहयोगबाट कोर्षको स्तरोन्नत्ति र व्यवस्थापनमा आर्थिक श्रोत हुने बताए ।
प्रदेशसभा सदस्य विष्टको सपना
३८ सय मिटर उचाईमा रहेको मुस्तारको प्रमुख पर्यटकीय क्षेत्रबाट १२ किलोमिटर उत्तर पश्चिमस्थित लोमाङ्थाङ क्षेत्र छ । यो मूलतः चरन क्षेत्र (खर्क)को रुपमा प्रयोग भइरहेको भूभाग हो । लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ मा रहेको यो क्षेत्रमा मोटरबाटो पुगिसकेको छ । यो मुस्ताङको घ्यागा ताल र डोल्पा जिल्ला जोड्ने मार्ग पनि हो ।
‘अमेरिकाको एरिजोना क्षेत्रको भ्रमण गर्दा मैले त्यहाँ गल्फ कोर्षहरु देखेको थिएँ । त्यस्तै भूबनाेट भएको मेरो आफ्नै ठाउँमा पनि गल्फ खेलस्थल बनाउन सकिन्छ भनेर निर्माण प्रक्रिया सुरु गरेको हो । हामीलाइ त अल्टिच्युडकाे पनि साथ थियाे,’ कोर्ष निर्माण अभियानका प्रमुख तथा लोमान्थाङका प्रदेश जनप्रतिनिधिसमेत रहेका इन्द्रधारा विष्टले अनलाइनखबरसँग भने । मुस्ताङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा लोमान्थाङ पर्छ ।
आर्थिक वर्ष २०७८/७९ मा १० लाख रुपैयाँ बजेट छुट्याएर यो कोर्षको निर्माण थालनी भएको हो । त्यो बजेटले होल निर्माण, टी–बक्स निर्माण, मैदानको घाँस सम्याउनेदेखि रोलर लगाएर पटिङ ग्रिनलाई सम्याउने काम भएको थियो । त्यहाँको भूबनोट र माटो स्तरीय नहुनाले रोलर लगाए पनि पटिङ ग्रिन समथर बनाउन नसकिएको उनले बताए ।
लोमाङ्थाङसँग जोडिएको लोमान्थाङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने तेरथाङ क्षेत्रमा पनि पर्याप्त समथल भूभाग छ । दुई क्षेत्रलाई एटा गहिरो र साँधुरो खोँचले छुट्याएको छ । तेरथाङको समथल क्षेत्र लोमाङ्थाङभन्दा करिव १ किलोमिटर बढी अर्थात ४.५ किलोमिटर क्षेत्रमा फैलिएको छ । ‘खोँच रहेको स्थानमा स्थानीय जनशक्ति प्रयोग गरी परम्परागत पुल निर्माण गर्ने र पारीपट्टीको स्थानलाई पनि समेटेर १८ होलको व्यवसायिक कोर्ष निर्माण गर्ने लक्ष्य छ,’ विष्टले भने ।

अहिलेसम्म भारतको सिक्किममा रहेको याक गल्फ कोर्सलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले संसारको सर्बाधिक उचाईमा रहेको गल्फ कोर्षको मान्यता दिएको छ । प्रदेशसभा सदस्य विष्टका अनुसार औपचारिक प्रतियोगिता आयोजना सफल भएपछि उच्चस्थानको गल्फ कोर्षको प्रमाणपत्र लिने प्रक्रिया सुरु हुनेछ ।
गिनिज बुकमा दर्ता र १८ होलको सुविधासम्पन्न कोर्ष निर्माण गर्न सकियो भने विश्वभरका व्यवसायिक गल्फरको ध्यान आकर्षित गर्न सकिने र यसले मुस्ताङको पर्यटनमा ठूलो टेवा पुग्ने प्रदेशसभा सदस्य विष्टको विश्वास छ । त्यसो हुन सकेमा उनले आफ्नो सपना पूरा भएको पाउनेछन् ।
‘आरोहणका शौखिनहरुको सगरमाथा चुचुरोमा पुग्ने सपना हुन्छ, त्यसैगरी विश्वभरका गल्फरहरुलाई मुस्ताङको कोर्षमा खेल्ने सपना बन्ने गरी काम गरिहेका छौं,’ गल्फमै लगानी गर्नुका कारणबारे उनी थप्छन्, ‘संसारभर नै सम्पन्न पहुँचवालाहरुका लागि गल्फ आकर्षणको खेल हो । उनीहरुलाई आकर्षित गर्न सकेमा हामीले पर्यटनमार्फत मुस्ताङलाई समृद्ध बनाउन सक्छौं ।’
नेपाली एमेच्योर तथा व्यवसायिक गल्फरहरुका लागि बर्खा मौसममा अभ्यास गर्न मुस्ताङको कोर्ष दुई करणले उपयुक्त विकल्प हुनेछ । पहिलो– अल्टिच्युड र दोस्रो– हिमालमा अनुकुल मौसम । ‘नेपालको पहाड र तराईमा असारदेखि असोजसम्म वर्षा हुन्छ । गल्फ आउटडोर खेल भएको हुनाले त्यहाँ खेल्न असम्भव हुन्छ । तर, बर्खा मौसमको यो चार महिना हिमाली क्षेत्रमा सबैभन्दा उत्कृष्ट मौसम हो,’ उनले भने ।

यो सुरुवात भएको छ । कोर्षलाई संसारभरका गल्फरको रोजाईमा पार्नका लागि धेरै कामहरु गर्नुपर्ने छन् । स्तरीय मैदान र आवश्यक भौतिक संरचना निर्माणका लागि नियमित बजेट छुट्याएर विकास गर्दै लगिने सांसद विष्टले बताएका छन् ।
 
                    










 २०७९ भदौ  १६ गते २०:२४
                        २०७९ भदौ  १६ गते २०:२४                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4