
१७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र क्रमशः सुधार हुने क्रममा छ । सन् २०२२ को प्रारम्भबाटै आगमनमा सुधार देखिन थालेको हो । यो ८ औं महिना (अगष्ट)मा समेत कायम रह्यो ।
अध्यागमन विभागका अनुसार अगष्ट २०२२ मा मात्र ४१ हजार ३०४ जना विदेशी नागरिक नेपाल आएका छन् । यससँगै सन् २०२२ को जनवरीदेखि अगष्ट महिनासम्म कुल ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल आएको विभागको तथ्यांकले देखाएको छ ।
अगष्ट महिना नेपालमा वर्षायाम रहने सिजन हो । सोहीकारण सामान्यतया कम पर्यटक आउने महिनामा गनिन्छ । कोभिड महामारी अगाडि सन् २०१९ मा अगष्ट महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० मा ५८४ जना मात्र आउने वातावरण बन्यो ।
सन् २०२१ को अगष्ट महिनामा भने ६ हजार ९३ जना पर्यटक नेपाल आएको तथ्यांक रहेको छ । पर्यटनमा सेप्टेम्बरबाट भने नयाँ सिजन मानिन्छ । यस सिजनका लागि पर्यटकको अग्रिम बुकिङले व्यवसायी उत्साहित समेत छन् ।
भारतीय पर्यटकको संख्या उत्साहजनक
कोभिड महामारीपछि भारतीय पर्यटकको आगमनमा उत्साह देखिएको छ । तथ्यांक अनुसार अगष्ट महिनामा मात्र १६ हजार १४७ भारतीय नेपाल आएका छन् । अघिल्लो महिना (जुलाई)मा १७ हजार २९९ जना भारतीय पर्यटक आएका थिए ।
अगष्टमा अमेरिकाबाट ४ हजार ६६ जना पर्यटक नेपाल आएका छन् । यो दोस्रो ठूलो संख्या हो । जुलाईमा अमेरिकाबाट ५ हजार २२८ जना पर्यटक नेपाल आएका थिए । बेलायतबाट अगष्टमा २ हजार ८२६, बंगलादेशबाट १ हजार ७५१ र चीनबाट १ हजार २८९ जना पर्यटक नेपाल आएको विभागको तथ्यांक छ ।
अगष्ट महिनामा विदेशबाट ८० हजार ३५३ जना नेपाली नागरिक नेपाल आउँदा १ लाख ३० हजार ४८६ जना नेपाली विदेशिएका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4