+
+
अग्रपथ :

गोर्बाचोभ : इतिहासको संयोग हिंडेको बाटो

यथार्थमा गोर्बाचोभ भएर इतिहासको संयोग हिंडेको थियो । त्यो समयावधिको विश्व भावना हिंडेको थियो । त्यो न गोर्बाचोभको वशको विषय थियो न अरू कसैको । विश्व चेतनाको लहरसामु कुनै व्यक्तिको चाहनाको केही अर्थ छैन ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ भदौ १९ गते ९:२४

अंग्रेजीमा एउटा भनाइ छ- इभ्री टाइम पिरियड हृयाज इट्स ओन युनिभर्सल स्पिरिट । अर्थात् ‘प्रत्येक समयावधिको आफ्नै विश्व भावना हुन्छ ।’ यो भनाइमा विश्वास गर्ने हो भने कुनै देशमा कुनै खास कालखण्डमा भएका घटना केवल त्यो देशका घटना मात्र हैनन्, ती आफैंमा विश्व घटना वा विश्व घटनाका शृङ्खला र कडी हुन् ।

नेपालमा वि.सं. २०३६-४६ को दशक विश्वको सन् १९८०-९० को दशकका विश्व चेतना, घटना र प्रवृत्तिबाट मुक्त थिएन । त्यतिखेरको सोभियत संघ, अहिलेको रूस र पूर्व सोभियत गणराज्य वा पूर्वी तथा मध्य युरोप विरलै नेपाली पुगेका होलान्, तर विशेषतः सन् १९८९-९१ का ३ वर्षमा त्यहाँ जे-जस्ता घटना भए, त्यसले नेपालको वैचारिक तथा राजनीतिक विकासक्रममा गहिरो प्रभाव पारेको छ ।

विश्लेषक यो सहजै स्वीकार गर्दछन् कि समयभन्दा १० वर्षअघि अर्थात् सन् १९९० बाटै एक्काइसौं शताब्दी अझ सहस्राब्दी परिवर्तन सुरुवात भइसकेको थियो । पूर्वी तथा मध्य युरोपमा एकदलीय कम्युनिस्ट शासनको पतन र सोभियत संघको विघटन त्यसैको जीवन्त प्रमाण थियो, जसले विश्वमा ‘लोकतन्त्रको दोस्रो लहर’ ल्यायो ।

‘पहिलो लहर’ को लोकतन्त्र नेपालमा असफल भएको थियो । २००७ सालमा राणाशासनको अन्त्यपछि शाह राजाहरू संवैधानिक हुन राजी नहुनु र निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात हुनु त्यसको प्रमाण थियो । राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात गर्दा एकदलीय कम्युनिस्ट प्रणालीबाट पनि थुप्रै प्रेरणा लिएका थिए । कतिपय पञ्चायती दर्शनका हिमायतीहरूले त्यसलाई विश्व लोकतन्त्र र साम्यवादको एक मिश्रति प्रणाली मान्दथे ।

जसरी ‘प्रत्येक समयावधिको आफ्नै विश्व भावना हुन्छ’, त्यसरी नै प्रत्येक विश्वभावना र विश्वघटना बीच केही अन्तरविरोध वा विरोधाभास पनि हुन्छ । सन् १९८९-९१ को विश्व परिवेश र २०४६ सालको नेपालमा ती विरोधाभास प्रष्टै देखिन्थे ।

नेपालमा पञ्चायती व्यवस्था विरोधी आन्दोलनको प्रारम्भतिर पूर्वी युरोपमा पोल्याण्ड र रुमानियाको पतन भइसकेको थियो । चीनको तेनमियान स्क्वायरको विद्रोह भइसकेको थियो । रुमानियाका ‘निकोलाई र एलिना चाउचेस्कु’ नेपालमा ‘ठूल्दाइ र पम्फादेवी’ को बिम्वमा उत्रिएका थिए । केही दिनअघि चाउचेस्कुले भनेका थिए कि ‘साम्यवादी शासन व्यवस्था ढल्छ भन्नु पीपलको बोटमा नासपाती फल्छ भने जस्तै हो ।’ उनले त्यसो भनेको केही हप्ता नबित्दै रुमानियाली जनताले उनलाई चोकमा झुन्ड्याएर गोली हानेका थिए ।

गज्जबको कुरा त के थियो भने- रुमानियामा कम्युनिस्ट नेतालाई चोकमा झुन्ड्याएर गोली हान्दा नेपालका कम्युनिस्टहरू खुशियाली मनाउँदै थिए । त्यस घटनाको गौरवपूर्ण चर्चा गर्दै पञ्चायत विरोधी आन्दोलनको ऊर्जा बनाउँदै थिए । यो आफैंमा एक ठूलो विरोधाभास पनि थियो ।

१८ वर्षदेखि वृद्ध शासन संस्थागत भइरहेको बेला तीन वृद्धहरू केही वर्षकै अन्तरमा विते, ब्रेझनेभ, आन्द्रोपोभ र चेर्नेन्को । त्यसलाई विश्व संचारमाध्यमले व्यंग्य गर्दै ‘चिहान जाने दौड’ भन्ने गर्थे । त्यस्तो पार्टीमा ५४ वर्षीय र पोलिटब्यूरोका सबैभन्दा कान्छा सदस्य पार्टी महासचिव र संसारकै सबैभन्दा ठूलो राज्यको राष्ट्रपति चुनिएला भनेर कसले सोच्न सक्थ्यो

सोभियत संघमा मिखाइल गोर्बाचोभको उदय नभएको भए सायद यी घटनाहरू संभव थिएन । यसलाई यसरी पनि भन्न सकिन्छ- सायद यी घटनाहरू हुनुथियो, त्यसैले त्यहाँ गोर्बाचोभ उदाएका थिए । सोभियत संघमा गोर्बाचोभको उदय आफैंमा एक ‘विश्व भावना’ को द्योतक थियो कि ?

सन् १९८० सम्म सोभियत कम्युनिस्ट पार्टी र सत्तामा गोर्बाचोभको उदय हुने कसैले कल्पना नै गर्दैनथ्यो । लेनिनदेखि ब्रेझनेभसम्म आइपुग्दा त्यो कुनै क्रान्तिकारी पार्टी वा सर्वहारा वर्गको अग्रदस्ता बाँकी रहेको थिएन । त्यो ‘न्युमेन क्लातुरा’ हरूको भारी-भरकम प्रशासनिक पदसोपानक्रमयुक्त राज्य-संरचनामा परिणत भइसकेको थियो । ‘न्युमेन क्लातुरा’ र ‘लाल फित्ताशाही’ जस्ता शब्दहरू सोभियत संघ हुँदै विश्वभरि चर्चित भइसकेका थिए । त्यसप्रकारको पार्टीमा ५४ वषर्ीय र पोलिटब्यूरोका सबैभन्दा कान्छा सदस्य पार्टी महासचिव र संसारकै सबैभन्दा ठूलो राज्यको राष्ट्रपति चुनिएला भनेर कसले सोच्न सक्थ्यो । तर, भयो । इतिहासमा मोड आउनु छ भने नसोचेका घटना हुन्छन् ।

सन् १९६४ मा निकिता ख्रुश्चेभलाई अपदस्त गरी निरन्तर १८ वर्ष शासन गरेका लियोनिद ब्रेझनेभले वृद्धतन्त्रलाई बडो राम्ररी संस्थागत गरेका थिए । तीन वृद्धहरू केही वर्षकै अन्तरमा विते, ब्रेझनेभ, आन्द्रोपोभ र चेर्नेन्को । त्यसलाई विश्व संचारमाध्यमले व्यंग्य गर्दै ‘चिहान जाने दौड’ भन्ने गर्थे ।

त्यो दिन अझै ताजा छ मेरो दिमागमा, जुन दिन सोभियत संघमा गेन्नाडी यनायेव समूहको अगष्ट ‘कु’ भएको थियो । नेपालमा भने २०४८ सालको आम चुनाव सम्पन्न भएको केही महिना मात्रै बितेको थियो, नेपालको संसदमा जोशिला, युवा र क्रान्तिकारी कम्युनिस्ट सांसदहरूको कुनै कमि थिएन । नेपालको संसदभित्रै बोलेर ती क्रान्तिकारी युवा कम्युनिस्ट सांसदहरूले सोभियत कु र गोर्बाचोभको अपदस्तको घटनालाई स्वागत गरेका थिए ।

त्यसरी बोल्ने सांसदमा तत्कालीन संयुक्त जनमोर्चाका लीलामणि पोख्रेल सबैभन्दा चर्का सुनिन्थे । नाम बिर्सें तर केही एमाले सांसदहरूले पनि बोलेका थिए । उनीहरूको खुसी के थियो भने यनायेवको ‘सत्ता कु’ले स्टालिनवादी सोभियत संघलाई फिर्ता ल्याउनेछ । यो आफैंमा अर्को ठूलो विरोधाभास थियो ।

एकातिर नेपालका कम्युनिस्टहरू कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरणको कुरा गर्दैथिए । माक्र्सवादको सृजनशील विकासको कुरा गर्दैथिए, अर्कोतिर गोर्बाचोभको बर्खास्ती र यनायेवको सत्ता विद्रोहलाई संसदभित्रै बोलेर समर्थन गर्दैथिए ।

यहाँनेर अर्को एक प्रश्न उठाउन सकिन्छ । मानौं कि सोभियत संघ ढल्दैनथ्यो भने नेपालका कम्युनिस्टहरू बहुदलीय जनवादी हुन्थे कि एकदलीय जनवादी कि नौलो जनवादी नै रहन्थे ?

सोभियत संघ ढल्दैनथ्यो त सायद नेपालमा मदन भण्डारीको उदय हुने थिएन । उनलाई जनताको बहुदलीय जनवादका प्रणेता तथा नयाँ विचारक मानिने थिएन । यस्तो दाबी गर्न सकिने प्रष्ट आधार थिए ।

तत्कालीन मालेको चौथो महाधिवेशनले सोभियत संघलाई ‘सामाजिक साम्राज्यवाद’ भन्न छोडिसकेको थियो । सोभियत संघमा ख्रुश्चेभको उदयपछि नेपालका कम्युनिस्टहरू रूस र चीन समर्थक समूहमा विभाजित भएका थिए । रूस समर्थकले ‘राष्ट्रिय जनवाद’ को कार्यक्रम मान्दथे, चीन समर्थकले ‘नयाँ जनवाद’ । सोभियत संघको विघटन अघि मदन भण्डारी र माले समेत ‘नयाँ जनवादी’ थिए ।

अभिमन्युको नाममा तीन शंृखलामा छापिएको झलनाथ खनालको त्यो लेख जसको शीर्षक ‘समाजवाद नपाए अमेरिका जानु’ थियो, जसको उद्देश्य गोर्बाचोभको ग्लासनोस्त र पेरेस्त्रोइकालाई समर्थन गर्नु थियो । चेकोस्लोभाकिया र अफगानिस्तानमाथि सोभियत सेनाको आक्रमणपछि नेपालका कम्युनिस्टहरूले त्यसलाई ‘सामाजिक साम्राज्यवाद’ भन्न थालेका थिए । पन्छाउनुपर्ने पाँच पहाडमध्ये एक भन्न थालेका थिए ।

अभिमन्युको त्यो लेखले अफगानिस्तानबाट सोभियत सेनाको फिर्ती पछि अब त्यो ‘सामाजिक साम्राज्यवाद’ नरहेर फेरि समाजवादी राज्यमा रूपान्तरित भएको तर्क गथ्र्यो । स्मरणीय छ कि अफगानिस्तानबाट सोभियत सेना फिर्तीको निर्णय गोर्बाचोभले गरेका थिए ।

माले-एमाले धारका कम्युनिस्टहरूमा त्यो बेलाको सोभियत संघ र गोर्बाचोभको भूमिकाबारे अस्पष्ट र धमिला बुझाइहरू देखिन्छन् । एकातिर उनीहरू गोर्बाचोभका समर्थक बनेका थिए । ग्लासनोस्त र पेरेस्त्रोइकाका समर्थक बनेका थिए, अर्कोतिर जब गोर्बाचोभको पतन भयो, उल्टै उनलाई गाली गर्न थाले, रातारात ‘युरो कम्युनिज्म’ को नक्कल गरेर ‘बहुदलीय जनवादी’ बन्न पुगे ।

तत्कालीन जनमोर्चा र चौम धार जो पछि माओवादी भयो, त्यो त्यतिन्जेल पनि नयाँ जनवादी नै थियो र गोर्बाचोभलाई न्वारानदेखि बल निकालेर गाली गर्न थाल्यो । तर, यल्तसिन र यनायेवको भूमिकाबारे भने सधैं मौन बस्यो ।

सन् १९८९-९१ का पूर्वी तथा मध्य युरोप र सोभियत संघको स्थितिलाई बुझ्न गोर्बाचोभको मात्र चर्चा र निन्दा गरेर हुँदैन, बोरिस यल्तसिन र गेन्नाडी यनायेवको भूमिका समेत उत्तिकै बुझ्नुपर्ने हुन्छ ।

इतिहासको वस्तुनिष्ठ मूल्यांकन गर्ने हो भने खासमा कम्युनिस्टहरूले गोर्बाचोभलाई हैन, बोरिस यल्तसिन र गेन्नाडी यनायेवलाई गाली गर्नुपर्ने हो । गोर्बाचोभ त सन् १९७८ मा माओवादको पतनपछि चीनमा देङ सियाओ पिङले गरेजस्तो भूमिका स्टालिनवादी तथा ब्रेझनेभवादी शासनले जर्जर भएको सोभियत संघमा गर्न चाहन्थे । उनी कम्युनिस्ट शासनका सुधारक हुन चाहन्थे, कम्युनिस्ट शासनको अन्त्य गर्न हैन ।

उनले चीनमा तेङले झैं राज्य अर्थतन्त्रलाई विस्तारै बजार अर्थतन्त्रमा फर्काउने प्रयत्न गर्न थालेका थिए । विदेशी संचारमाध्यममा सोभियत जनतालाई पहुँच दिन र समाजलाई खुल्लापनतिर लैजाने प्रयत्न गर्न थालेका थिए । उनी कम्युनिस्ट पार्टीको सर्वोच्चतालाई कायमै राखेर समाजलाई विस्तारै लोकतन्त्रीकरण गर्न चाहन्थे । पार्टीभित्रको लोकतन्त्रलाई पनि बलियो बनाउन चाहन्थे ।

गोर्बाभोचको कारणले सोभियत संघको विघटन भएको हो भन्नु अर्को भ्रम हो । ब्रेझनेभकै शासनकालदेखि सोभियत गणराज्यहरूका मस्कोप्रतिको असन्तुष्टि बढ्न थालेको थियो । त्यसो त लेनिनकै पालामा पनि कज्जाक विद्रोह भएको थियो । लेनिनले सोभियत संघको जुन मोडेल तयार गरेका थिए, स्टालिनको उदयपछि त्यसको मर्म र भावना शिथिल हुँदै गएको थियो । गणराज्यहरूको स्वायत्ततालाई कमजोर पार्न र रूसी वर्चस्वकरणको प्रवर्द्धन गर्न थालिएको थियो ।

गणराज्यहरूमा स्वतन्त्रता र पृथकताको भावना बढ्दै गएपछि गोर्बाचोभले अगष्ट २० मा संघका प्रावधानलाई खुकुलो पारेर गणराज्यहरूको स्वायत्तता वृद्धि गर्ने नयाँ सन्धिमा हस्ताक्षर गर्न लागेका थिए । अगष्ट २० मा हस्ताक्षर हुनुथियो, १९ मै स्टालिनवादी कम्युनिस्टहरूको समूहले गोर्बाचोभलाई अपदस्त गरेको थियो । त्यतिखेर उनी मस्कोमा समेत थिएनन् । उनी क्रिमियाको फारोसमा छुट्टी मनाउँदै थिए । गोर्बाचोभले तयारी गरेको नयाँ सन्धिमा हस्ताक्षर हुनसकेको भए सायद सोभियत संघ बच्न सक्थ्यो ।

सोभियत कम्युनिस्ट पार्टीमा स्टालिनवादी कम्युनिस्टहरू ‘कु’ गर्नुलाई स्वाभाविक मान्थे । स्टालिनको उदय आफैंमा एक ‘कु’ जस्तै थियो । गोली काण्डपछि बिमार र ओछ्यान परेका लेनिनको आग्रहलाई लत्याउँदै स्टालिनले सत्ता हत्याएका थिए । लेनिन स्टालिनलाई पार्टी महासचिव बनाउन चाहँदैनथे । उनको छनोटमा त्रोतस्की थिए । सन् १९३८ को महासफाया अभियानमा स्टालिनले सबैजसो विरोधीहरू समाप्त पारेका थिए, त्यो पनि एक प्रकारको ‘कु’ नै थियो ।

सन् १९६४ मा ब्रेझनेभको समूहले ख्रुश्चेभको समूहलाई ‘कु’ गरेरै हटाएको थियो । सोेभियत सत्ताको परम्परामा यनायेवको ‘कु’ भने दुई दिन पनि टिकेन । त्यो ‘कु’ सफल हुन्थ्यो त सायद नेपालका कम्युनिस्टहरूले लेनिन र स्टालिनको जस्तै गेन्नाडी यनायेवको फोटो पूजा गर्थे । न बहुदलीय जनवाद आउँथ्यो न कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण नै हुन्थ्यो ।

विश्वभरिका स्टालिनको फोटो पूजा गर्ने कम्युनिस्टहरूले गोर्बाचोभलाई गाली गर्नुको रहस्य यथार्थमा यनायेवको स्टालिनवादी ‘कु’ माथि पर्दा हाल्नु हो ।

बोरिस यल्तसिनका उत्तराधिकार भ्लादिमिर पुटिनको सत्ता आज कति लोकतान्त्रिक छ वा छैन । तर, त्यो युगान्तलाई रूसी राजनीतिबाट मात्र हैन, पूर्वी तथा मध्य युरोप, बाँकी विश्व र नेपालको आँखाबाट पनि हेर्नुपर्दछ । निश्चय नै परिदृश्य सकारात्मक छ

गोर्बाचोभको भद्र, नरम र उदारवादी चरित्रमाथि यनायेव समूहले सायद सजिलै जित हासिल गर्ने थियो, सन् १९६४ मा ख्रुश्चेभमाथि ब्रेझनेभ समूहको विजय जस्तै । तर सन् १९६४ मा भन्दा सन् १९९१ फरक स्थिति त्यहाँ के थियो भने तेस्रो बोरिस यल्तसिनको समूह पनि उत्तिकै शक्तिशाली थियो ।

पहिलो र दोस्रोको खैलाबैलामा तेस्रोको लाभ भनेजस्तो स्टालिनवाद विरोधी गोर्बाचोभ र स्टालिनवादी यनायेवका बीचमा लोकतन्त्रवादी यल्तसिन समूहले बाजी मार्‍यो । जनताले यल्तसिनको आहृवानलाई साथ दिए । रूसमा ७४ वर्ष लामो एकदलीय कम्युनिस्ट शासन र करिब ७० वर्ष लामो सोभियत संघ एकै चोटमा पतन भए ।

कतिपय भन्छन् कि साम्यवादको पतन र कथित लोकतन्त्रीकरणले सोभियत संघ देश नै समाप्त भयो । यथार्थमा यो सत्य हैन । सोभियत संघ भन्ने देश वा राष्ट्र सन् १९२२ अघि विश्व इतिहासमा कहिल्यै थिएन । सन् १९१७ को लेनिन नेतृत्वको अक्टोबर क्रान्ति रूसमा भएको थियो, सोभियत संघमा हैन । सोभियत गणराज्यहरू त रूसी साम्राज्यले अधीनस्थ गरेका उपनिवेशहरू थिए । लेनिनले सन् १९१७ को क्रान्तिताका ती गणराज्यहरूलाई स्वतन्त्रता दिने वचन दिएका थिए । यसबारे लेनिनको निबन्ध ‘उत्पीडित राष्ट्रियताहरूको आत्मनिर्णयको अधिकार’ निबन्ध अहिले पनि सजिलै उपलब्ध र जस-कसैले फेरि एकपटक पढ्न सक्दछ ।

क्रान्तिकालमा जसलाई लेनिनले स्वतन्त्रताको वचन दिएका थिए, केही मात्रामा त्यो उनले पूरा गरे, जस्तो कि पोल्याण्ड । उनले पोल्याण्डको स्वतन्त्रताको घोषणा गरिदिएका थिए । त्यही कारण हो कि आज पनि रूसीले भन्दा पोल्याण्डका जनताले लेनिन जयन्ती धुमधामले मनाउँछन् ।

तर, क्रान्तिपछि जब बोल्शेभिक सत्ता बलियो हुँदैगयो, सबै गणराज्यहरूलाई स्वतन्त्रता दिंदा रूसी जनतामा फैलिने राष्ट्रवादको भावना र असन्तोषबाट चिन्तित भएपछि लेनिनले सोभियत संघको विचार निकालेका थिए । र, त्यसको मुख्य कारण त युक्रेन नै थियो ।

युक्रेनका तीन प्रदेशहरू क्रिमिया, दोनेस्क र लुहान्सकमा रूसी मूलका बासिन्दाको बाहुल्य थियो । उनीहरू युक्रेनलाई रूसबाट भिन्न गर्न चाहँदैनथे । फलतः लेनिन र स्टालिनले युक्रेनको राष्ट्रवादी आन्दोलनमाथि चर्को दमन गरी युक्रेनलाई संघमा आउन बाध्य पारेका थिए । त्यो घाउ अहिलेसम्म जीवितै छ । जारी युक्रेन-रूस युद्ध त्यसैको परिणाम हो । अर्थात् सोभियत संघ जारकालीन रूसी साम्राज्यको एक नयाँ रूप थियो, त्यो कुनै मौलिक राष्ट्र थिएन । तसर्थ लोकतन्त्र वा पूँजीवादले सोभियत संघलाई विभाजित गर्‍यो भन्ने तर्क आफैंमा हास्यास्पद हो ।

मानौं कि गोर्बाभोचको उदय हुन्थ्यो, शीतयुद्धको अन्त्य, जर्मनको एकीकरण र बार्साको विघटन समेत हुने थिएन । सायद विश्व जनसंख्याको ठूलो हिस्सा अहिले पनि एकदलीय शासनप्रणालीमा शासित हुन बाध्य हुन्थ्यो ?

गोर्बाचोभलाई गाली गर्नुअघि एकपटक ठण्डा दिमागले सोचौं । के हामी उत्तरकोरियाको जस्तो शासनबाट शासित हुन चाहन्छौं ? सायद चाहँदैनौं । यदि चाहँदैनौं भने हामीले भोगिरहेको स्वतन्त्रता र लोकतन्त्रमा अप्रत्यक्ष र थोरै भए पनि गोर्बाचोभको योगदान छ । यदि धेरै कम्युनिस्ट भएको देशमा यी सबै कम्युनिस्टहरू यदि स्टालिनवादी हुन्थे भने हाम्रो हालत आज के हुन्थ्यो ? हाम्रो एकबारको जुनी कस्तो नर्क भोगेर बित्थ्यो होला ?

संभावना थियो कि यदि गेन्नाडी यनायेवको अगष्ट सत्ताविद्रोह सफल हुन्थ्यो त नेपालका कम्युनिस्ट पनि स्टालिन र यनायेववादी हुन्थे, बहुदलीय जनवादी हुने थिएनन् ।

यथार्थमा गोर्बाचोभ भएर इतिहासको संयोग हिंडेको थियो । त्यो समयावधिको विश्व भावना हिंडेको थियो । त्यो न गोर्बाचोभको वशको विषय थियो न अरू कसैको । विश्व चेतनाको लहरसामु कुनै व्यक्तिको चाहनाको केही अर्थ छैन ।

नेपालकै माओवादीहरू पनि चाहन्थे होला, चीनको जस्तै नयाँ जनवादी क्रान्ति गर्न, नयाँ जनवादी गणतन्त्र नेपाल स्थापना गर्न । तर, उनीहरूको चाहनाले मात्रै खै के भयो ? आखिरमा उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु पर्‍यो । माओवाद, एक्काइसौं शताब्दीको जनवाद, प्रचण्डपथ आदित्यादिलाई स्थगन गर्दै घुमाउरो गरी बहुदलीय जनवादी हुन राजी हुनै पर्‍यो ।

कसैका इच्छा, चाहना, आग्रह र पूर्वाग्रह के थिए ? ती सबै छोडिदिऊँ । विश्व चेतना, विश्व भावनाको लहर कता हो, त्यो बुझौं । गोर्बाचोभ एक नयाँ विश्व भावनाको परिपूर्तिका लागि युगान्तको महानायक थिए । गोर्बाचोभसँगै विश्व राजनीतिमा एक युग मरेर गयो । सोभियत संघ सर्वहारा अधिनायकवादी एकदलीय कम्युनिस्ट सत्ता चिहानमा पुग्यो ।
यो कुनै हार, पराजय, धोका वा षड्यन्त्र हैन ! विश्व लोकतन्त्र र विश्व मानवताको जित हो ।

त्यो भिन्नै कुरा हो कि बोरिस यल्तसिनका उत्तराधिकार भ्लादिमिर पुटिनको सत्ता आज कति लोकतान्त्रिक छ वा छैन । तर, त्यो युगान्तलाई रूसी राजनीतिबाट मात्र हैन, पूर्वी तथा मध्य युरोप, बाँकी विश्व र नेपालको आँखाबाट पनि हेर्नुपर्दछ । निश्चय नै परिदृश्य सकारात्मक छ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?