+
+

तनहुँ–२ मा यसपटक मार सहन तयार छैनन् प्रदीप

केन्द्रीय नेताहरुको क्षेत्र नम्बर १ मा होडबाजी चल्दा रामचन्द्रकै कारण यसअघिजस्तै शंकर वा गोविन्दलाई क्षेत्र नम्बर २ को टिकट टिएर प्रदीप फेरि पनि तलै पर्न सक्ने सम्भावनाबारे पनि तनहुँमा चर्चा छ । तर, पौडेल यो मान्न तयार छैनन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ भदौ १९ गते १६:३०

१९ भदौ, पोखरा । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा चुनाव लड्न चाहन्थे । तनहुँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्दा क्षेत्र नम्बर २ बाट अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले टिकट पाए ।

संघीय चुनाव लड्न चाहेका पौडेल वरिष्ठ नेता रामचन्द्र र अर्का नेता भण्डारीको मारमा परे र प्रदेश सभा ‘क’ मा झर्न बाध्य भए । नेकपा एमाले र माओवादी गठबन्धनसामु झिनो मत अन्तरले पौडेल पराजित भए ।

पौडेल वाम गठबन्धनबाट माओवादी केन्द्रकी आशा कोइरालासँग जम्मा ५ मतले पराजित भए । कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याउँदा पौडेलले १६ हजार ६ सय ४१ मत प्राप्त गरेका थिए । मतगणनाअघि गरिएको मुचुल्काभन्दा ४२ मत बढी भेटिएको भन्दै पौडेलले पुनः मतदानको माग गर्दै निवेदन दिएपनि उनको माग सम्बोधन भएन ।

तनहुँका युवा नेता पौडेल यसपटक तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार बन्न चाहन्छन् ।

पौडेलका निम्ति यसपटक पनि सहज भने छैन । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा सिफारिस हुने उनी एक्ला होइनन् । गत निर्वाचन तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का उम्मेदवार धुर्व वाग्ले र कांग्रेस तनहुँ सभापति जितप्रकाश आले पनि सिफारिस भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य वाग्ले अघिल्लो निर्वाचनमा किरण गुरुङसँग पराजित भएका हुन् भने जीतप्रकाश पहिलो पटक प्रतिस्पर्धामा उत्रने कसरत गरिरहेका छन् । यद्यपि कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री लडेका पौडेललाई कृष्ण सिटौलाको समेत साथ हुनेछ ।

एउटा निर्वाचन क्षेत्रका नेताको व्यवस्थापनका लागि अर्को क्षेत्रका नेताहरुले छोडिदिनुपर्ने परिस्थिति यसपटक नआउने पौडेलको दाबी छ ।

तर पौडेलका निम्ति यो चुनावमा पनि तनहुँका केन्द्रीय नेताहरुकै कारण मार पर्ने त होइन भन्ने चर्चा गण्डकी प्रदेशकै छ ।

तनहुँ क्षेत्र नम्बर १ मा यसपटक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनाव लड्न चाहन्छन् । उनले सार्वजनिक रुपमै ‘जुन ठाउँबाट चुनाव हारें, त्यही ठाउँबाट जितेरमात्र मर्न चाहेको’ बताएका छन् । रामचन्द्रकै क्षेत्रबाट नेता शंकर भण्डारी र गोविन्द भट्टराईको पनि दाबी छ । क्षेत्र नम्बर १ मा रामचन्द्र उम्मेदवार बन्दा यसअघिजस्तै शंकर वा गोविन्दलाई क्षेत्र नम्बर २ को टिकट टिएर प्रदीप फेरि पनि तलै पर्न सक्नेसम्भावना पनि रहेको कांग्रेस नेताहरू बताउँछन् । पौडेलले भने यो मान्न तयार छैनन् ।

आफ्नो निर्वाचन क्षेत्र र अघिल्लो निर्वाचनदेखिकै आफ्नो आकांक्षा भएकाले यसपटक आफूले नै टिकट पाउने दाबी पौडेलको छ । ‘अनि २ नम्बरकै मान्छेले अवसर नपाउने र १ नम्बरका मान्छेहरुको व्यस्थापनका लागि प्रयोग गर्ने परिस्थितिले पनि निर्वाचन जित्न जटिल भएको हो,’ पौडेलले भने ।

सिटौलासँगै देउवा समूहमा लागेका कारणले नभइ आफू स्वाभाविक हिसाबले उम्मेदवार भएको पौडेलको दाबी छ । ‘अघिल्लो पटक संघमा दाबी गर्दा गर्दै प्रदेशमा चुनाव लडेको, पार्टीको तेस्रो पटक केन्द्रीय सदस्य भइरहेको छु । पार्टीले मंगल ग्रहबाट मान्छे ल्याएर उठाउने त होइन ?,’ पौडेलले भने, ‘हामीले अनटेस्टेड भनेका छौं, युवा भनेका छौं । नेपाल विद्यार्थी संघको अध्यक्ष भएर ३/३ पटक केन्द्रीय सदस्य भएर आएका हो । त्यसैले पार्टीले विश्वास गर्ने योग्य उम्मेदवारमध्ये म पनि पर्छु ।’

तनहुँमा लोकतान्त्रिक आन्दोलनमा सहभागीको संख्या र नेता पनि धेरै छन् । ती सबै नेताहरुलाई विभिन्न अवसरमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । ‘तनहुँ क्षेत्र नम्बर २ मेरो घर हो । म घरबाट निस्कन चाहन्नँ । म घरमै बसेर कांग्रेसको राजनीतिमा सक्रिय बनाउन चाहन्छु,’ पौडेलले भने, ‘घमण्ड गरेको होइन, त्यहाँका जनताले मलाई खोजिरहेको अवस्था छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सबै नेतालाई व्यवस्थापन गरेर जाने आश्वासन दिएको उनले बताए ।

अघिल्लो निर्वाचनमा तनहुँका दुबै क्षेत्र वाम गठबन्धनले जितेको हो । तनहुँ क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार शंकर भण्डारीलाई हराउँदै वाम गठबन्धनका एमाले नेता केदार सिग्देलले चुनाव जितेका थिए । सिग्देल ३२ हजार ९ सय २४ मतसहित विजयी हुँदा भण्डारीले २९ हजार ६ सय ४५ मत पाएका थिए ।

यसपटक एमालेबाट नेता किरण गुरुङ, टुकराज र केदार सिग्देलको नाम प्रतिनिधि सभामा सिफारिस भएको छ । एमालेको बलियो क्षेत्रका रुपमा चनिएको सो क्षेत्रमा टुकराज, किरण र केदार पालैपालो सांसद बन्दै आएका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री हुने योजनासहित प्रदेशमा चुनाव लडेर जितेका किरण, पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएपछि अर्थमन्त्री बने । तर, यसपटक संघमै लड्ने योजनामा छन् ।

एमालेविरुद्ध सिंगो गठबन्धन रहेको र जनताले व्यक्ति हेरेर पनि मत दिने भएकाले आफूले चुनाव जित्ने उनको दाबी छ ।

२०६४ सालमा नेवि संघको सभापति बनेका पौडेल १२ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा हार व्यहोरे पनि सुशील कोइरालाले मनोनित गरेका थिए । १३ औं महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका पौडेल १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?