+
+

नागरिकको स्वास्थ्य जाँच्न घरैमा डाक्टर-नर्स

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ १९ गते २०:५७

१९ भदौ, काठमाडौं । दुई सन्तानकी आमा शकुन्तला पराजुली काठमाडौं–३० स्थित मैतिदेवी मन्दिर पछाडिको बस्तीमा बस्छिन् । उनले दोस्रो सन्तानलाई जन्म दिएको दुई साता कटेको छ ।

गर्भवती भएको बेला नियमित स्वास्थ्य परीक्षणका लागि उनलाई पहिलो बच्चा हुने बेलाभन्दा यसपटक धेरै सहज भयो । स्वास्थ्य परीक्षणका लागि अस्पताल गइराख्नुपर्ने तर शारीरिक अवस्थाले कठिनाइ भोग्नुपरिरहेको थियो ।

पहिलो बच्चा जन्माउँदा उनले जुन कष्ट भोगिन्, त्यस्तो दुःख दोस्रो बच्चा जन्माउने बेला भएन । कारण हो– काठमाडौं महानगर वडा नम्बर ३० मा स्थापना भएको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र । गत चैतबाट सेवा प्रारम्भ भएको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गर्भावस्था परीक्षण गर्न उनी वैशाखदेखि जान लागेकी थिइन् । घर नजिक सहज तरिकाले स्वास्थ्य सेवा लिन नपाउँदा अघिल्लो पटक उनले सास्ती भोगेकी थिइन् ।

गर्भावस्थामा स्वास्थ्य परीक्षण निःशुल्क लिएकी उनले आइरन चक्की सित्तैंमा केन्द्रबाट पाइरहेकी थिइन् । बच्चाको जन्मपश्चात् पनि उनले स्वास्थ्यमा कुनै समस्या परे फोनबाट परामर्श लिने गर्छिन् । केन्द्रले दिएको सेवाबाट उनी सन्तुष्ट छिन् । ‘अस्पताल जाँदा लामो समय लाइन बस्नुपर्छ । गर्भवतीलाई त गाह्रो हुन्थ्यो । यहाँ स्वास्थ्य केन्द्र बनेपछि धेरै सजिलो भयो’ पराजुलीले अनलाइनखबरसँग भनिन्, ‘चेकअप धेरै त फ्रिमै हुने रहेछ । औषधिमा पनि छुट पाइन्छ ।’

काठमाडौं वडा नं. ३० मा नागरिकलाई स्वास्थ्य सेवा नयाँ तरिकाले प्रदान गरिएको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा भने श्रीलंका र दिल्लीबाट अनुसरण गरिएको हो । श्रीलंकाको ‘प्राइमरी हेल्थ केयर’ र केजरीवालको ‘मोहल्ला क्लिनिक’बाट प्रभावित भएर कांग्रेस महामन्त्री गगन थापाले यो मोडालिटी प्रयोगमा ल्याएका हुन् ।

उनी स्वास्थ्य मन्त्री हुँदा काठमाडौंका केही स्थानमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रारम्भ गर्नका लागि बजेट विनियोजन समेत भएको थियो । बजेट फ्रिज भयो । केन्द्र सुरु हुन सकेन । झण्डै ६ वर्षपश्चात् गत चैत १ देखि वडा नम्बर ३० मा गगनको सोचले मूर्तरूप पाएको छ ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको मूल उद्देश्य बिरामी परेर अस्पताल आउनै नदिने रहेको कांग्रेस महामन्त्री थापा बताउँछन् । ‘सकेसम्म बिरामी नै हुन नदिने हो । नागरिक स्वस्थ हुनु भनेको सरकारले स्वास्थ्य क्षेत्रमा गर्ने खर्च कम हुने हो’ थापाले भने, ‘यहाँ कति नागरिक आउँछन् गणना गर्ने होइन । स्वास्थ्यकर्मी नै सेवा लिएर घर–घर पुग्ने हो ।’

११ जना स्वास्थ्यकर्मीको जनशक्ति रहेको केन्द्रबाट घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गरिन्छ । रोगी र निरोगीको पहिचान हुने गरी सूची तय गरिन्छ । वडाभित्र रहेका सबै नागरिकको ‘हेल्थ प्रोफाइल’ बनाउने कार्य केन्द्रले गरेको छ ।

 

हालसम्म २,५०० घरपरिवारको हेल्थ प्रोफाइल बनिसकेको केन्द्रले जानकारी गराएको छ । यस वडामा स्थायी र अस्थायी गरी एक लाख ३० हजारभन्दा बढी नागरिक बसोबास गर्दै आएका छन् ।

वृद्ध तथा अशक्तहरूको लागि नियमित घरमै पुगेर सेवा प्रदान गरिन्छ । विशेषज्ञ चिकित्सक नै घरमा आइपुगेपछि बिरामीको खर्चमा उल्लेखनीय कमि आएको छ । ‘उपचारका लागि पर–पर पुग्नुपथ्र्यो । बिरामी मान्छे ओहोरदोहोर गर्न पनि गाह्रो थियो ।

पैसा पनि धेरै लाग्ने, समय पनि धेरै जाने हुन्थ्यो’, केन्द्रबाट सेवा लिइरहेका ७८ वर्षीय दीर्घरोगी मोहन कोइराला भन्छन् । दम, डायबिटिज र ब्लड प्रेसर हाई रोगको लागि आवश्यक परामर्श केन्द्रबाट लिएको उनले बताए । अप्ठ्यारो पर्दा घरमै डाक्टर आउने तथा ल्याब परीक्षणको रिपोर्ट पनि केन्द्रले ल्याइदिने गरेको बताए ।

वडा कार्यालयको सहकार्यमा काठमाडौं क्षेत्र नम्बर ४ को संयोजनमा सुरु गरिएको केन्द्रमा टेकु अस्पतालकै शुल्कमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । केन्द्रबाट २० देखि ३० प्रतिशतसम्म छुटमा औषधिहरू बिक्री गरिन्छ । आधारभूत स्वास्थ्य सेवा सबै निःशुल्क गरिएको छ ।

ओपीडीमा स्वास्थ्य परीक्षण निःशुल्क गरिएको केन्द्रमा साताको ६ दिन फरक–फरक क्षेत्रका चिकित्सकसँग बिरामीले निःशुल्क परामर्श लिन सक्नेछन् । विज्ञ चिकित्सकको लागि भने चिकित्सक संघले सहयोग पुर्‍याएकोे छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ओपीडीमा सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।

वडावासीका घर–घर पुगेर स्वास्थ्य परीक्षण गर्दा ब्लड प्रेसर, थाइराइड, सुगरका बिरामी अन्य रोगको तुलनामा बढी देखिएको केन्द्रले जानकारी गराएको छ । स्त्री रोग, बालरोग, हाडजोर्नी, छाला, नाक-कान–घाँटी, सामान्य चिकित्सा लगायत सेवा केन्द्रबाट दिइएको छ । साथै, फिजियोथेरापीको व्यवस्था भएको केन्द्रमा शुल्क भने न्यून तोकिएको छ ।

वडा नं. ३० मा भइरहेको स्वास्थ्य केन्द्रको सेवा प्रवाह अनुसरण गर्दै महानगरले अवधारणा अघि सारेको छ । ३२ वटै वडामा एमडीजीपी चिकित्सकसहित नर्सको प्रबन्ध गर्ने महानगरले घोषणा गरिसकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले ३० नम्बर वडाको सेवा प्रवाहको प्रशंसा गरे ।

वडा नं. ३० मा भइरहेको कार्यको मूल्यांकन गरेर नै ३२ वटै वडामा एमडीजीपी सहितका स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको उनले बताए । ‘त्यहाँ घर–घरमा स्वास्थ्य सेवा केन्द्रले दिएको छ । १९ नम्बर वडामा पनि त्यस्तै काम भएको छ । तर, १९ को भन्दा ३० नं वडाको सेवा राम्रो छ ।’

तीन÷चार महिनामा महानगरले सबै वडामा यस्तै सेवा प्रदान गर्ने गरी कार्य अघि बढाएको छ । स्वास्थ्य केन्द्र कहाँ–कहाँ राख्ने ठाउँको खोजी भइरहेको त्रिपाठीले जानकारी दिए । वडा नं. ३० मा स्वास्थ्य केन्द्र सञ्चालन भइरहेकाले त्यहाँको जनशक्ति स्वतः महानगरको नयाँ योजनामा समेटिनुपर्ने यस वडाका अध्यक्ष दलबहादुर कार्कीले माग गरेका छन् । स्वास्थ्यकर्मीको विज्ञापन गर्दा तोकिएको मापदण्ड अनुसार आवेदन दिएमा वडा नं. ३० को जनशक्ति समायोजन हुने महानगरका स्वास्थ्य विभाग प्रमुख त्रिपाठीले बताए ।

केन्द्रले नागरिकलाई जनस्वास्थ्य निगरानीको कार्य पनि अघि बढाएको छ । फिटनेस, घर सरसफाई, हेल्दी किचन, पोषण लगायतका कार्य गरिएको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नै यस वडामा रहेका ११ विद्यालयमा स्वास्थ्य चेतना फैलाउने काम भएको छ । यसै अवधारणासँग मिल्ने हेल्थ इन्स्पेक्टरको व्यवस्था महानगरले पनि गर्न लागेको छ ।

गाउँको नागरिकमा स्वास्थ्य चौकी जाने बानी छ । तर, सहरियाहरू स्वास्थ्य चौकी जाँदैनन् । त्यस्ता खालका संरचना पनि सहरमा छैनन् । बढ्दो जनसंख्यालाई थेग्ने गरी सरकारी स्वास्थ्य संरचना निर्माण हुनसकेका पनि छैनन् ।

घर वरपर वा वडामा स्वास्थ्य केन्द्र प्रभावकारी नहुँदा नागरिक महँगो स्वास्थ्य सेवा लिन अस्पताल धाउन बाध्य छन् । ‘उपचार गर्नुपर्नेहरूको संख्या घट्यो भने मात्रै बीमामा जाने सरकारी खर्च घट्छ । सकेसम्म नागरिक बिरामी नगराउनेतिर लाग्ने हो भने हाम्रो बीमा पोलिसी थप टिक्छ’, कांग्रेस महामन्त्री थापा भन्छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?