+
+

अटेर गरेपछि कोटेश्वरमा डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते २०:४१
कोटेश्वरमा अनधिकृत संरचना हटाइँदै । तस्वीर : शंकर गिरी/अनलाइनखबर

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको एउटा टोली आइतबार दिउँसो डोजर लिएर कोटेश्वर पुग्यो ।

अनधिकृत संरचना हटाउन साउन १ गते ३५ दिने सूचना निकालेको महानगरले सूचनाको म्याद सकिएको भोलिपल्टदेखि अनधिकृत संरचना र फुटपाथ अतिक्रमण हटाउन ठाउँ ठाउँमा डोजर लगाएको छ । तर पनि अनधिकृत रुपमा बनाइएका संरचना व्यवसायी आफैंले हटाएका छैनन् ।

वडामार्फत पटक पटक गरिएको आग्रहलाई पनि व्यवासयीले नटेरेपछि आफूहरु डोजर लिएरै जानु परेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

‘अनधिकृत संरचना हटाउन यत्रो चर्चा भइरहेको बेला कोटेश्वरमा ३ चोटी भन्दा धेरै महानगर प्रहरी आएर हल्ला गरिसक्यो तर उहाँहरुले हटाउनुभएन, बाध्य भएर डोजर चलाएका हौं । हामी महानगरभरीकै अनधिकृत संरचना हटाउने कार्य यहाँ पनि सुरु गरेको हो,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।

महानगर प्रहरीले फुटपाथलाई ओगटेका भवनको भर्‍याङ, फुटपाथ भन्दा बाहिर निकालेर राखेको होर्डिङ बोर्ड, पाली, बार्दली भत्काएको हो । यस्तै कोटेश्वर क्षेत्रमा रहेको बस, सुमो काउन्टरहरुले फुटपाथ छेकेर बनाएको डेस्क पनि नगर प्रहरीले हटाइदिएको छ ।

कोटेश्वरको सुन्दर बजारको फुटपाथको लाइन मिचेर बनाएका दुईटा सटरमा महानगरले डोजर चलाएको छ । सुन्दर बजारमा डोजर चल्न थालेपछि केहि स्थानीय युवाले पसलमा रहेको सामान निकाल्न दिनुपर्ने माग गरेका थिए । महानगर प्रहरीले १० मिनेटभित्र सामान खाली गर्न निर्देशन दिएपछि उनीहरुले सटरमा रहेका पसलका सामग्रीहरु हटाएका हुन् ।

काठमाडौं ३२ नम्बर वडाध्यक्ष नवराज पराजुलीले महानगरको टोली नक्सा अनुसार प्रयोजन भए नभएको हेर्दै कार्यान्वयन गर्दै हिँड्ने क्रममा कोटेश्वर क्षेत्रमा आईपुगेको तर्क गरे ।

महानगरपालिकाले अहिले हरेक वडामा आफ्नो क्षेत्रभरी रहेका अनधिकृत संरचनाहरु अनुगमन गरेर हटाउन निर्देशन दिने अभियान चलाइरहेको छ । वडाले जानकारी गराएर नटेरे आफूहरुले हटाउने गरेको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।

काठमाडौं महानगरपालिका मेयर बालेन साहको सचिवालय सदस्यका अनुसार महानगरभरी अनधिकृत संरचना हटाउन थालिएको अभियान नहटेसम्म रोकिने छैन । ‘जुन संरचना जे प्रयोजनको लागि बनेको छ, त्यहि हुनुपर्छ । फुटपाथ मानिस हिड्न, सडक गाडी गुड्न बनेको हो । तर यहाँ फुटपाथ ओगट्ने, सडकमा मानिस हिँड्ने गर्दा सुहाएन नि । महानगरले यो सबै काम सुधार्नुपर्छ, सुधार्नकै लागि यो अभियान चालिएको हो,’ ती सदस्यले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?