+
+

सम्पत्ति शुद्धीकरणको जोखिमबीच घरजग्गामा बढ्दै छ बैंकको लगानी

सम्पत्ति शुद्धीकरण विभागको विश्लेषण अनुसार नेपालमा सम्पत्ति शुद्धीकरण हुने उच्च जोखिम भएको क्षेत्रमा रियलस्टेट छ । बैंकिङ कर्जा लगानी भने अन्य क्षेत्रमा भन्दा रियल स्टेटमै उच्च छ ।

विजय पराजुली विजय पराजुली
२०७९ भदौ २० गते १९:४०

२० भदौ, काठमाडौं । लगानीयोग्य स्रोतमा संकुचन हुँदा पनि गत आर्थिक वर्षमा व्यावसायिक घरजग्गा कारोबारमा बैंकहरुले दिने ऋणमा२४ प्रतिशतभन्दाधेरै वृद्धिभयो ।

नेपाल राष्ट्र बैंकले गत आवमा जग्गा प्लटिङसम्बन्धी रियलस्टेट कर्जा निरत्साहन गर्न त्यस्तो कर्जाको जोखिमभार बढाउने निर्णय गरेको थियो । २०७९ असारबाट लागू हुनेगरी यस्तो कर्जाको जोखिमभार १०० प्रतिशतबाट बढेर १५० प्रतिशत पुगिसकेको छ ।

सम्पत्ति शुद्धीकरण विभागको विश्लेषण अनुसार नेपालमा सम्पत्ति शुद्धीकरण हुने उच्च जोखिम भएको क्षेत्रमा रियलस्टेट छ । बैंकिङ कर्जा लगानी भने अन्य क्षेत्रमा भन्दा रियल स्टेटमै उच्च छ ।

यसरी ‘ग्रे लिस्ट’मा पर्ने जोखिमबढेसँगै सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वभरका मुलुकलाई निगरानी गर्ने फाइनान्सियल एक्टटास्कफोर्स (एफएटीएफ) र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह (एपीजी)ले सम्पत्ति शुद्धीकरणबारे नेपालको अडिट र मूल्यांकन गर्न थालेको छ । नेपाल सरकारले पनि एक साथ १८ ऐन संशोधन प्रक्रिया थालेको छ ।

रियलस्टेटमा बढ्दो कर्जा

असार २०७६ सम्ममा १ खर्ब ४६ अर्ब ९९ करोड रुपैयाँ रियलस्टेट कर्जा लगानी गरेका बैंकहरुले असार २०७७ मा आउँदा १ खर्ब ६३ अर्ब ४८ करोड र असार २०७८ मा १ खर्ब ८३ अर्ब ५४ करोड कर्जा लगानी गरे । गतआर्थिक वर्ष २०७८/७८ मा बैंकहरुसँग लगानीयोग्य स्रोत अभाव भयो । राष्ट्र बैंकले १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिए पनि गत आवमा बैंकहरुको कर्जा लगानी १३.९ प्रतिशत मात्र वृद्धि भयो ।

२०७९ असारमा आउँदा बैंकहरुले रियल स्टेटमा गरेको कर्जा लगानीभने २४.३६ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यता सोही अवधिमा घर कर्जा भने औसत कर्जा वृद्धिकै अनुपातमा बढेको देखिन्छ ।

२०७८ असार मसान्तमा १ करोड ५० लाख रुपैयाँसम्मको घर कर्जा २ खर्ब ९८ अर्ब २५ करोड रहेकोमा २०७९ असार मसान्तमा १३.२६ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ८० करोड पुगेको छ ।
राष्ट्र बैंकले जग्गा प्लटिङसम्बन्धी रियलस्टेट कर्जामा कडाइ गर्ने आव ०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बताएको थियो । राष्ट्र बैंकले २०७९ असारबाट लागू हुनेगरी रियलस्टेट कर्जाको जोखिमभार १०० प्रतिशतबाट१५० प्रतिशत पुर्‍याउने गरी परिपत्र गरेको थियो । र पनि, रियलस्टेटमा बैंकहरुको लगानी नियन्त्रण हुन सकेको छैन ।

सहकारीबाट बढी लगानी

रियलस्टेटमा बैंकहरुको भन्दा सहकारीहरुको लगानी ठूलो रहेको राष्ट्र बैंकका अधिकारीहरु नै बताउँछन् । र पनि, सहकारीमा न बलियो नियमन छन् न त स्वअनुशासन ।

बैंकमा १० लाख भन्दा बढी निक्षेप राख्दा आम्दानीको स्रोत खुलाउनुपर्छ । त्यसको सिधा रिपोर्टिङ राष्ट्र बैंकमा हुन्छ । सहकारीमा भने स्रोत खुलाउन पर्दैन । त्यसैले घरजग्गा कारोबार गर्नेहरुले सहकारी प्रयोग गर्छन् ।

चालु आर्थिक वर्षको बजेटमा घरजग्गा कारोबार गर्न इजाजपत्र (लाइसेन्स) लिनुपर्ने उल्लेख थियो । सरकारले घरजग्गाको कारोबारलाई व्यवस्थित गर्न मालपोत ऐन २०३४ लाई संशोधन गर्न लागेको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ घरजग्गा कारोबारमा वास्तविक मूल्य नदेखाइने हुँदा सम्पत्ती शुद्धीकरणको जोखिम बढी हुने बताउँछन् ।

‘राम्रोसँग विकास भइनसकेको रियलस्टेट मार्केटमा अनौपचारिक बाटोबाटै धेरै काम हुन्छ,’ उनले भने, ‘त्यसरी हुने कारोबारको मूल्य प्रष्ट हुँदैन । त्यसैले रियलस्टेट कारोबारमा सम्पत्ती शुद्धीकरणको जोखिम उच्च छ ।’

जोखिम न्यूनिकरण गर्न औपचारिक बजार विकास गर्नुपर्ने डा. श्रेष्ठ बताउँछन् । उनकाअनुसार, रियलस्टेटको औपचारिक बजारमा सबै कारोबारको विवरण प्रष्ट हुने हुँदा सम्पत्ती शुद्धीकरणको जोखिम नियन्त्रण गर्न सकिन्छ ।

बजेटमा भएको व्यवस्थाअनुसार लाइसेन्स होल्डर वा कम्पनीमार्फत मात्र कारोबार गर्ने/गराउने हो भने पनि रियलस्टेट क्षेत्र पारदर्शी बन्ने डा. श्रेष्ठ बताउँछन् ।

रियलस्टेटमा कुन बैंकको कर्जा कति ?

गत आर्थिक वर्षमा रियलस्टेटमा सबै बैंकले कर्जा लगानी बढाए । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, २०७९ असारमा बक्यौता रहेको रियलस्टेट कर्जामध्ये वाणिज्य बैंकहरुको १ खर्ब ९९ अर्ब ६४ करोड, विकास बैंकहरुको १८ अर्ब ७२ करोड र फाइनान्स कम्पनीहरुको हिस्सा ९ अर्ब ९० करोड छ । रियलस्टेटमा सहकारीले गरेको कर्जा लगानीको विवरण कुनै निकायसँग छैन ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकले रियलस्टेटमा सबभन्दा धेरै १९ अर्ब ३५ करोड लगानी गरेको छ । २०७८ असार मसान्तमा रियलस्टेटमा यो बैंकको कर्जा लगानी १६ अर्ब ४२ करोड थियो ।

२०७८ असार मसान्तसम्म १३ अर्ब २ करोड लगानी गरेको नबिल बैंकको रियलस्टेट कर्जा २०७९ असारमा आउँदा १८ अर्ब ३३ करोड पुगेको छ । नेपाल बंगलादेश बैंकलाई आफूमा विलय गराए पछि रियलस्टेटमा नविलको लगानीमा उच्च वृद्धि देखिएको हो ।

रियलस्टेटमा सबै भन्दा कम लगानी गर्ने बैंकमा एनसीसी बैंक देखिएको छ । एनसीसीले रियलस्टेटमा १ अर्ब ३२ करोड मात्र लगानी गरेको छ । त्यस्तै, कृषि विकास बैंकले १ अर्ब ७९ करोड र कुमारी बैंकले १ अर्ब ३३ करोड रियलस्टेट कर्जा लगानी गरेको देखिन्छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?