News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरस्थित एपीएफ स्कुलको १० करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका प्रेमी लिलाबहादुर लामाविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढाइएको छ ।
- प्रहरीले प्रेमी लामाको नाममा रहेका दुईवटा गाडी नियन्त्रणमा लिएको छ भने उनीमाथि चोरी, नागरिकता र बैंकिङ कसुरसहित आधा दर्जन मुद्दा विगतमा चलेको पाइएको छ ।
- मापदण्डविपरीत ६ वर्षसम्म एउटै स्कुलमा लेखापालको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर गुरुङले स्कुलको रकम आफ्ना प्रेमीलाई दिएको अनुसन्धानबाट खुलेको छ ।
५ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलले कीर्तिपुरमा सञ्चालन गरेको एपीएफ (आर्म पुलिस फोर्स) स्कुलको रकम हिनामिना प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर र उनका प्रेमीविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढाइएको छ ।
स्कुलकी लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र उनका प्रेमी लिलाबहादुर लामाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी सुरुमा ठगी तथा आपराधिक लाभको कसुरमा अनुसन्धान गरेको थियो । ठूलो रकम हिनामिना गरेको भेटिएपछि अहिले सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान अघि बढाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अुसन्धान अघि बढाएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरले स्कुलमा आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसपछि परिसरको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा स्कुलको रकम इन्स्पेक्टर गुरुङले आफ्ना प्रेमी लिलाबहादुरलाई दिएको पाइएको छ । लिलाबहादुरको नाममा गाडी, घर, घडेरीसमेत भेटिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
‘लिलाबहादुरको नाममा रहेका दुई वटा गाडी त हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं । घर-घडेरी पनि देखिएको छ,’ एसपी भट्टराईले भने । प्रहरीले दुई वटा गाडी ल्याए पनि अर्को एउटा गाडी पनि लिलाबहादुरको नाममा रहेको प्रहरीको भनाइ छ ।
लिलाबहादुर नामका यत्रो सम्पत्ति देखिएपछि उक्त सम्पत्ति स्कुलको रकमबाटै किनिएको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान अघि बढाएको छ । तर प्रहरी स्रोतका अनुसार आरोपी लिलाबहादुरले भने रकम हिनामिनाभन्दा अगाडि नै घर–घडेरी जोडेको दाबी गरेका छन् ।

स्कुलको खातामा हुनुपर्ने करोडौं रकम व्यक्तिगत खातामा राखेको र आफ्ना प्रेमीलाई दिएको इन्स्पेक्टर गुरुङले बताएकी छिन् । हिनामिनाको रकम इन्स्पेक्टर गुरुङको नाममा भेटिएको छैन । ‘लेखापाल गुरुङले सबै रकम प्रेमीलाई दिएको बताएकी छिन् । प्रेमीको नाममा भने गाडी, घर-घडेरी देखिएको छ,’ एसपी भट्टराई बताउँछन् ।
अहिलेसम्म १० करोडभन्दा बढी रकम हिनामिना भएको बताइएको छ । यसबारे सशस्त्र प्रहरी बल हेक्वार्टरलाई पत्राचार गरिएको छ । तर सशस्त्र हेडक्वार्टरबाट औपचारिक पत्र आउन बाँकी रहेको र कति हिनामिना भयो भन्ने यकिन हुन अझै समय लाग्ने परिसरका एसएसपी दिलीप घिमिरेको भनाइ छ ।
रकम हिनामिना भएको जानकारी पाएपछि सुरुमा सशस्त्र हेडक्वार्टरले छानबिन गरेको थियो । सशस्त्र प्रहरी कानुन निर्देशनालयका डीआईजी युवराज अर्यालको संयोजकत्वमा छानबिन समितिले आफ्नो काम सकेपछि गुरुङको प्रत्यक्ष संलग्नता भेटिएको भन्दै प्रहरीलाई अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सशस्त्रले पत्र पठाएको थियो ।
लेखापाल गुरुङले रकम जम्मा नगरेपछि सशस्त्र प्रहरीले उनको जिम्मेवारी खोस्दै हेडक्वार्टर तानेको थियो । अनि, कानुन निर्देशनालयका डीआईजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन भयो ।
त्यसपछि यो प्रकरणमा कीर्तिपुर स्कुलका कमान्डेन्ट तथा एसपी रामजंग पाण्डेको पनि जिम्मेवारी खोसियो । उनलाई पनि हेडक्वार्टर तानेर छानबिन भयो ।
छानबिनका क्रममा आर्थिक वर्ष २०८२/८३ को मात्रै करिब १० करोड बढी रकम हिनामिना भएको पाइयो । त्यसपछि सशस्त्र हेडक्वार्टरले प्रहरीलाई पत्राचार गर्दै लेखापाललाई कारबाही गर्न भनेको थियो ।
एपीएफ स्कुलको रकम ६ वटा कसुरका अभियुक्तसँग
स्कुलको रकम हिनामिना प्रकरणमा पक्राउ परेका इन्स्पेक्टर गुरुङका प्रेमी लिलाबहादुर ६ वटा कसुरका अभियुक्त रहेको पाइएको छ । उनी पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको थियो ।
सो क्रममा विभिन्न ६ वटा कसुरमा मुद्दा चलेको भेटिएको हो । पछिल्लो पटक २०७९ मा उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा चलेको भेटिएको छ । त्यस्तै २०६२ सालमा नागरिकतासम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो ।
२०६२ सालमै ३ वटा चोरी कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो । ललितपुरमा एउटा र काठमाडौंमा दुई वटा चोरीको कसुरमा उनीविरुद्ध मुद्दा चलेको देखिन्छ ।
२०६१ सालमा पनि काठमाडौंमै चोरीको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो । आधा दर्जन मुद्दा चलेका, चोरीदेखि नागरिकता र बैंकिङ कसुरका अभियुक्तलाई प्रेमी बनाएर गुरुङले स्कुलको रकम हिनामिना गरेको भेटिएको छ । उनै लिलाबहादुरले पछिल्लो समय ट्राभल्स एजेन्सीसमेत चलाएको पाइएको छ ।
लिलाबहादुरको दुई वटा गाडी नियन्त्रणमा लिएर अहिले प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मापदण्डविपरीत लेखापालको जिम्मा
मापदण्डअनुसार प्रत्येक दुई वर्षमा लेखापालको सरुवा हुनुपर्छ । तर अहिले पक्राउ परेकी लेखापाल गुरुङ भने विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालकै रूपमा कार्यरत थिइन् ।
उनी असईबाट सशस्त्र प्रहरीमा सेवा प्रवेश गरेकी हुन् । उनी सई हुँदा नै कीर्तिपुर स्कुलको लेखापाल बनेकी थिइन् । कतिसम्म भने, इन्स्पेक्टरमा बढुवा भएपछि उनको पदस्थापनसमेत सोही ठाउँ अर्थात् कीर्तिपुर स्कुलमै गरिएको थियो ।
यसले सरुवा गर्ने अधिकारीको भूमिकामाथि समेत प्रश्न उठाएको छ । ‘सामान्यता प्रत्येक दुई वर्षमा लेखापालको सरुवा हुन्छ । तर उहाँको हकमा ६ वर्षसम्म एउटै कार्यालयमा बसको देखिन्छ । यो लेखापालको सरुवा मापदण्डविपरीत हो,’ सशस्त्र प्रहरीकै एक अधिकारी भन्छन् ।
सशस्त्र प्रहरीको कीर्तिपुर स्कुलमा पहिला डीएसपी कमान्डेन्ट हुने चलन थियो । पहिलो पटक एसएसपी भुपेन्द्र केसीलाई कमान्डेन्ट बनाएर पठाइयो । अहिले भने एसपीले कमान्डेन्ट भएर चलाउने गरेका छन् ।
पछिल्लो पटक एसपी रामजंग पाण्डेले कमान्डेन्ट भएर चलाएका थिए । छानबिन सुरु गरेपछि एसपी पाण्डेलाई समेत हेडक्वार्टर तानेर उनको ठाउँमा लेखनाथ खनाललाई पठाइएको थियो ।
प्रतिक्रिया 4