+
+

तनहुँका दुई रामचन्द्र : एउटा प्रधानमन्त्रीको आशमा, अर्को प्रत्यक्ष सांसदको

रामचन्द्र पौडेल तनहुँमा उनकै समकालीन रामचन्द्र पोखरेलको भरमा चुनाव जित्ने गर्थे । अघिल्लोपल्ट हारेका उनलाई यसपल्ट पनि डर छ, गोविन्दराज जोशीको । उनले सधैंझैं रामचन्द्र पोखरेललाई भनिसकेका छन् : ‘तपाई अर्कोपल्ट है ।’

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ २० गते २०:५०
माला र खादा पहिरिएका रामचन्द्र पौडेलको छेउँमा उभिएका रामचन्द्र पोखरेल (सेतो पोशाकमा) ।

२० भदौ, काठमाडौं । तनहुँकै भएर पनि, कांग्रेस नै भएर पनि, अनि किसुनजीले नै पत्याएर पनि रामचन्द्र पोखरेल सहकर्मी रामचन्द्र पौडेलजस्तो बन्न सकेनन् । भन्न त कांग्रेसका एक संस्थापक कृष्णप्रसाद भट्टराईले उनीहरुसहित चारैजनालाई देखाउँदै भनेका रहेछन्, ‘ल है, तपाईंहरु यहाँको हाईकमान्ड ।’ ती चार नेताहरु थिए– रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी र रामचन्द्र पोखरेल ।

बेला बितेर गयो । किसुनजी पनि गए । हाइकमान्डको हाईहाई पनि फासफुस भएर गयो ।

चार मध्येका एक जोशीलाई कांग्रेसले कारबाही गरेपछि फरक बाटो लागेर राजनीति गरिरहेका छन् । स्वास्थ्यका कारण कैनी राजनीतिमा सक्रिय छैनन् । सक्रिय पौडेल र पोखरेल हुन् । रामचन्द्र पौडेल झण्डै दुई दशकदेखि केन्द्रीय भूमिकामा हालीमुहाली गरिरहँदा केन्द्रीय भूमिकामा रहँदा पोखरेल भने जिल्लामै क्रियाशील छन् । रामचन्द्र भइकन पनि पोखरेल किन पौडेल बन्न सकेनन् त ?

पौडेलका समवयी नेता पोखरेल २०४८ देखि निरन्तर तनहुँ १ मा प्रत्यक्ष निर्वाचनका आकांक्षी हुन् । पौडेल र पोखरेलको एउटै गृह क्षेत्र भएकाले उनले टिकट पाउन सक्दैनन् । पोखरेलको आकांक्षा अर्कोपटक पूरा गर्ने भन्दै पौडेलले सधैंजसो चुनावका बेला उनलाई थामथुम पार्छन् ।

पौडेलले प्रत्येक चुनावमा पोखरेललाई दिने आश्वासन स्मरण गर्दै तनहुँका एक नेता भन्छन्, ‘तपाईं यसपटक होइन, अर्को पटक लड्नुस् । अर्कोपटक तपाईंको लागि म नै सहयोग गर्छु ।’

पौडेलको बचन पत्याउँदै उनलाई सहयोग गर्दै आएका पोखरेलले यसपटक पनि टिकट पाउने सम्भावना न्यून छ । यद्यपि, पोखरेलको नाम सिफारिसमा भने परिरहन्छ । पौडेल सहित केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, शंकर भण्डारी र पोखरेलको नाम तनहुँ १ बाट सिफारिस भएको छ ।

नेता रामचन्द्र नै अघि सरेकाले अरु नेताहरुले यस क्षेत्रमा टिकट पाउने सम्भावना यसपटक पनि देखिँदैन । पौडेलले विगतमा टिकटको लागि अडान लिनु र यसपटक ‘आफू’ नै भन्नुमा भिन्नता छ ।

हरियो खादामा रामचन्द्र पौडेल र रामचन्द्र पोखरेल (दायाँ) ।

सम्भवतः जीवनको अन्तिम चुनावी मैदानमा उत्रन लागेका पौडेललाई यसपटक कार्यकारी पदमा पुग्ने उत्कट चाहना छ । समानुपातिकको बाटो नरोजेर उनी फिल्डमै भिड्ने तयारीमा छन् । कार्यकारी पदको चाहना उनका पछिल्ला दुई अभिव्यक्तिले पनि पुष्टि गर्दछ ।

पहिलो बोलीः ‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु । (तनहुँमा भदौ ३ मा पत्रकारसँग कुरा गर्दै)

दोस्रो बोलीः देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु । देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ । सुशासन दिन कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ । (तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा १८ भदौमा बोल्ने क्रममा)

पौडेलको अनुकूलता

१४ औं महाधिवेशनमा पौडेल पक्षधरता नदेखाएर तटस्थ बसे । उनको तटस्थता विशेषतः सभापतिमा शेरबहादुर देउवालाई जिताउनका लागि भएको भनि आलोचना भयो । संस्थापनइतरको जिम्मेवारी डा. शेखर कोइरालालाई सुम्पिएर उनी देउवातिर नजिकिए । देउवातिरै फर्किएका कारण उनका लागि लाभ पनि भइदियो । गठबन्धनका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय समन्वय समितिको संयोजक बने । देउवालाई मनाएर नै पौडेल एकपटकका लागि कार्यकारी पद (प्रधानमन्त्री) बन्न चाहेको कांग्रेस नेताहरु बताउँछन् । ‘शेरबहादुर देउवा दाहिना छन् । प्रचण्ड र माधव पनि दाहिना नै छन् । यस्तो अनुकूल अवसर त उहाँका लागि कहिले आउँदै आउँदैन ।’ तनहुँका एक नेता भन्छन् ।

गठबन्धनका दलबीच तालमेलका कट्टर पक्षधर पौडेल हुनुले पनि उनका लागि थप लाभ प्राप्त हुने आकलन छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पौडेलले स्थानीय तहको निर्वाचनमा गुन लगाइसकेका छन् । भरतपुरमा रेणु दाहालको पक्षमा मत माग्नेमा सबैभन्दा चर्को भाषण सायदै पौडेलकै थियो । यसपटक पनि पौडेलको साथ प्रचण्डलाई चितवन–३ मा पर्नसक्छ । गठबन्धनमा कांग्रेसको मत बढी रहेको उक्त स्थानमा पुनः गएर प्रचण्डको पक्षमा पौडेलको भाषणको अपेक्षा उनीमा हुनेछ । ‘प्रचण्डलाई प्रधानमन्त्रीमा शेरबहादुर वा रामचन्द्र हुनुले फरक पार्दैन । प्रचण्डलाई जिताउन रामचन्द्र चितवन पुगेर भाषण गरिदिए भने त्यसको गुन त पौडेललाई निर्वाचन पछि तिर्लान् नि ।’ पौडेलका समकालिन तनहुँका नेता रामचन्द्र पोखरेल भन्छन् ।

यता पौडेललाई साथमा राख्दा देउवालाई पनि फाइदा नै छ । देउवासँग टक्कर लिँदै आएको व्यक्ति उनकै समूहमा समाहित हुँदा कोइराला पक्षलाई कमजोर पुर्‍याउन देउवालाई बल पुग्नेछ । ‘पार्टी भित्रका प्रतिद्वन्द्वीलाई कमजोर बनाउन देउवाका लागि उपयुक्त माध्यम पौडेल हुनसक्छन् । देउवाकै विरोध गर्दै आएका व्यक्ति उनकै चाहे अनुसार भइदिनु सभापतिकोे ठूलो उपलब्धि हो नि,’ देउवा पक्षका नेता भन्छन् । उनका अनुसार देउवाको पार्टी भित्रको प्रतिपक्ष शेखर नभइ पौडेल हुन् । पौडेल नै देउवातिर लागेपछि सभापतिको राजनीतिक विजय भएको उनी मान्छन् ।

पौडेलको तगारो जोशी

पौडेल र गोविन्दराज जोशीको टकरावले दुई नेता दुईतिर लागेका छन् । पौडेलकै बलमा जोशीलाई पार्टीले निलम्बन गर्‍यो । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेता पौडेल विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उनलाई पाँच वर्षका लागि पार्टीबाट हटाइएको थियो । कांग्रेसमा नरहेका जोशी नै अहिले पौडेलको टाउको दुखाई बनेका छन् ।

गोविन्दराज जोशी

व्यास नगरपालिकामा पौडेल निकट बैकुण्ठ न्यौपानेसँग प्रतिस्पर्धा गराउन गोविन्दराज जोशीले पुत्र दीपकराज जोशीलाई उठाएका थिए । न्यौपानेले झिनो मत अन्तरले जोशीलाई पराजित गरेका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए । जोशीलाई एमालेको साथ थियो । ‘एमालेसँग तालमेलको कुरा भइरहेको छ । गठबन्धन नभए पनि बुबाले जित्नुहुन्छ,’ दीपकराजले भने, ‘रामचन्द्रसँग कांग्रेस कार्यकर्ता नै खुसी छैनन् । प्रधानमन्त्री बन्छु भनेर के गर्नु ? जनताले भोट दिंदैनन् ।’

जोशी पक्षको दाबीलाई भने पौडेल पक्ष पूर्णरुपमा खण्डन गर्दछ । लामो इतिहास बोकेको व्यक्ति र कुनै पनि विषयमा दाग नलागेका पौडेलले नै जित्ने दाबी नेता कमला पन्त गर्छिन् ।

जोशीले तनहुँ १ बाट उठ्ने घोषणा गरेर प्रचारप्रसारमा लागिसकेका छन् । पार्टी र तालमेलको बलमा जोशीलाई पराजित गर्नेमा पौडेल विश्वस्त छन् । ‘गोविन्दराज उठे पनि थोरै मतले जित्नेछु भनि उहाँ लागि लागिरहनु भएको छ,’ पौडेल निकट एक जिल्ला नेता भन्छन् । आकांक्षी अरु नेताको तुलनामा माथिल्लो स्थानमा पौडेल रहेकाले अन्यले पछि हट्नुपर्ने वाध्यता हुनेछ ।

तालमेलबाट तनहुँ १ कांग्रेसले लिने निर्णय भयो भने अघिल्लोपटक एमालेबाट निर्वाचित र हाल एकीकृत समाजवादीमा रहेका कृष्णकुमार श्रेष्ठ (किसान) ले अर्को स्थान रोज्नुपर्ने छ । गत निर्वाचनमा श्रेष्ठले कांग्रेस नेता पौडेललाई हराएका थिए । श्रेष्ठले ३४ हजार मत पाउँदा पौडेलले २७ हजार ६९० मत पाएका थिए ।

०४८ सालमा तनहुँ १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ बाट निर्वाचन लड्दै जित्दै आएका थिए । तर २०७४ मा वरिष्ठ नेता पौडेल क्षेत्र नं १ बाट उठ्दा पहिलो पटक हार व्यहोरेका थिए । यस क्षेत्रमा देवघाट, आँबुखैरहनी र बन्दीपुर गाउँपालिका सहित भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १ देखि ४ र ७ देखि १४ सम्मका वडाहरु पर्दछन् । तनहुँ क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ५०१ मतदाता छन् ।

तनहुँ १ मा गत वैशाखको स्थानीय तह निर्वाचनको मत हेर्दा कांग्रेस पहिलो शक्ति बनेको छ । कांग्रेसले ३३ हजार १०६, एमालेले २२ हजार २१०, माओवादीले ८ हजार ४७४, राप्रपा १ हजार ७७५, एकीकृत समाजवादीले ८९२, जसपाले ५४ मत पाएका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?