+
+

‘राजतन्त्र फालाैं’ भन्थिन् बेलायती प्रधानमन्त्री, अचेल वामपन्थीसँग कुराे मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १९:२१

२० भदौ, काठमाडौं । सानाे छँदा मार्गरेट थ्याचरकाे खुबै विराेध गर्थिन् लिज ट्रुस । उनीविरुद्धका प्रदर्शनमा नारा लगाउन दाैडन्थिन् । वामपन्थ नै त नभनाैं तर उदारवादी विचारहरुप्रति रुझान् थियाे उनमा ।  उमेर पाक्दै जाँदा उनी थ्याचरकी पक्का समर्थक भएर निक्लिन् ।

कालान्तरमा थ्याचर बसेकै कुर्सीमा उनी बस्न जाँदैछिन् । तेस्राे बेलायती महिला प्रधानमन्त्री भएर उनी थ्याचरकै पथमा अग्रसर छिन् । कुर्सीले मात्रै त्याे पथमा होइन, बरु दक्षिणपन्थी नीतिहरुले समेत ।

मार्गरेट थ्याचर पहिलाे महिला प्रधानमन्त्री बनेकाे तीन दशकपछि सन् २०१६ मा थेरेसा मे दाेस्राे महिला प्रधानमन्त्री बनेकी थिइन् । बाेरिस जाेनसनकाे राजीनामासँगै लिज ट्रुस नेतृत्वमा आउने भएकी हुन् ।

पार्टीका नेताहरुमात्रै होइन, कतिपय सदस्यहरु उनमा थ्याचरजस्तै ‘आइरन लेडी’ हुन सक्न गुण देख्छन् । रुसले युक्रेनविरुद्ध युद्ध छेड्दा उनी यसअघि नै युक्रेनमाथि सहायताकाे पक्षमा उभिइसकेकी छन् । उनले नागरिकहरुमाथि लगाइएकाे करमाथि ठुलाे कटाैती हुने आश्वासनकाे भरमा लोकप्रियता पाएकी थिइन् ।

उनले तीन वर्षअघि एक भाषण क्रममा आफ्ना समाजवादी मातापितासँग बहस झगडा गर्दै आफु हुर्केको सुनाएकी थिइन् । ‘घरभरि वामपन्थीहरु थिए,’ स्कटल्यान्डबाट उत्तरी बेलायतमा सरेको परिवारबारे उनले भनेकी थिइन्, ‘बाबुआमा र उनीहरुसँग वैचारिक विवाद गर्दै म हुर्केकी ।’

लिजले अक्सफोर्डबाट अर्थशास्त्र दर्शनजस्ता विषयमा अध्ययन गरेकी थिइन् । विश्वविद्यालय पढ्दा बेला उनी लिबरल डेमोक्रयाटिक पार्टीकाे विद्यार्थी संगठनकी अध्यक्ष बनेकी थिइन् । उनी गाँजा फुकुवा गरिनुपर्ने अभियानमा समेत जाेडिएकी थिइन् । त्यसबेला उनी राजतन्त्र बेलायतबाट उखेलिनुपर्ने जस्ता कडा मतहरु पनि पेश गर्थिन् ।

सुरुमा जति कट्टरपन्थी सोच राखे पनि अक्सफोर्ड छाडेसँगै उनले पार्टी पनि छाडिन् । उनी कन्जर्भेटिभ पार्टीतिर लागिन्, जसले उनलाई कालान्तरमा प्रधानमन्त्री बन्ने बाटो खुलायो ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?