+
+

‘ऐना झ्यालको पुतली’ प्रिमियरमा सेलिब्रिटी : बालापन सम्झाउने अर्गानिक फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १२:२१

काठमाडौं । ‘ऐना झ्यालको पुतली’को प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले फिल्म हेरिरहँदा आफ्नै कथा हेरिरहेजस्तो महसुस भएको बताएका छन् । कथा, निर्देशन र कलाकारको प्रशंसा गर्दै उनीहरुले फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिए ।

गायिका आनीछोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको बताउँदै यो फिल्म नेपालभरिका स्कुलमा देखाउन आग्रह गरिन् । ‘मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो । यो फिल्म सबै स्कुलले आफ्ना विद्यार्थीलाई देखाउनुपर्छ । यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो,’ आनीको भनाइ थियो ।

पहिलो चोटि हेर्दा धित नमरेर दोस्रोपटक फिल्म हेर्न आएका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए ।

‘यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा सिनेमाको कोटीमा पर्छ । नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ पन्तले भने । साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिङ दिंदै फिल्म हेर्दा आफूलाई डेढ घण्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिए ।

‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली सिनेमामा विरलै देखेको थिएँ या सायद देखेकै थिइनँ । यो सिनेमाले पीडाभन्दा पनि तपाईं हाम्रो दिमागमा ‘प्रश्न’ उमार्र्ने रहेछ । सुन्दर स्वेटर झैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो सिनेमालाई भव्य उचाइ दिएको छ । यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो,’ उनको प्रतिक्रिया थियो ।

फिल्म हेरेका दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत लगायतले पनि फिल्ममा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । आउँदो शुक्रबारबाट प्रदर्शन हुन गइरहेको फिल्ममा सुजित बिडारीको लेखन तथा निर्देशन छ । फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् ।

संखुवासभामा त्यहींकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्ब सादृश्य वर्णन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?