+
+

मधेशमा दल बदलको खेल सुरु

श्रवण देव श्रवण देव
२०७९ भदौ २२ गते ९:०६

२२ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद प्रल्हाद गिरी गोस्वामी ५ भदौमा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा पार्टी प्रवेश गराए ।

गिरि २०७४ मा भएको प्रदेश सभा चुनावमा पर्सा ३ को ‘ख’ बाट निर्वाचित भएका थिए । त्यस बेला उनी तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट चुनाव लडेका थिए । तत्कालिन फोरम नेपाल र राजपा मिलेर जसपा बन्दा गिरिले लोसपामा सनाखत गरेका थिए ।

लोसपामा सनाखत गरेको एक वर्षपछि उनी एमाले प्रवेश गरेका हुन् । गिरी तराई/मधेशमा भएको सशस्त्र संगठनमा पनि आबद्ध थिए । सरकारसँग शान्तिपूर्ण वार्ता गरी उनी खुला राजनीतिमा आएका थिए ।

०००

राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भु यादव ६ भदौमा लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरे । उनलाई पार्टीमा भित्र्याउन राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा राजविराज आएका थिए ।

३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका सतिश सिंह जनमत पार्टी प्रवेश गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन राजपाबाटै गाउँपालिका अध्यक्षमा निर्वाचित सिंहले जसपाबाट लोसपा बन्दा लोसपा रोजेका थिए ।

०००

जिल्ला समन्वय समिति, सप्तरीका प्रमुख प्रभाकर यादव ११ भदौमा जसपामा प्रवेश गरेका छन् ।

सप्तरीकै महादेवा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट चुनाव लडेका दिपक यादव ‘टुटु बाबु’ १५ भदौमा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । यी दुबैलाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरे ।

०००

एउटा पार्टीबाट जित्ने, जनप्रतिनिधि बन्ने र पुनः त्यो पार्टीले टिकट नदिने देखिएपछि निर्वाचनपिच्छे पार्टी परिवर्तन गर्ने केही दृष्टान्त हुन् यी ।
जुनसुकै चुनाव आउँदा मधेशमा पार्टी परिवर्तन गर्ने खेल शुरु हुन्छ जुन यस पटक पनि शुरु भएको छ ।

जसरी पनि उम्मेदवार बन्ने दाउ

जिल्ला समन्वय समिति, सप्तरीका प्रमुख २०७४ को स्थानीय तहको चुनावमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव लडेका थिए । राजपा लोसपा बन्दासम्म उनी यहीं पार्टीमा रहे । बैशाख २०७९ को चुनावमा टिकट नदिएको भन्दै उनी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीबाट टिकट लिएर छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा चुनाव लडेर पराजित भए । उनी अब प्रदेश सभा उम्मेदबारको आकांक्षी भएर जसपा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा दोस्रो पटक राजविराजको मेयरमा चुनाव भिड्दा शम्भु यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसअघि उनी जसपामा थिए ।

जसपाअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा रहेका यादव राजपाबाटै २०७४ को निर्वाचनमा राजविराजको मेयरमा जितेका थिए । अहिले लोसपा प्रवेश गरेका उनी प्रदेश सभाको उम्मेदबार बन्ने तयारी गर्दैछन् ।

महादेवा गाउँपालिकाको अध्यक्षमा २०७४ मा तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित दीपक भने गत बैशाखको चुनावमा कांग्रेस प्रवेश गरेर टिकट लिएका थिए । उनी यस पटक आफ्नो पुरानो पार्टीमै प्रवेश गरेका छन् ।

लोसपा त्यागेर जनमत पार्टीमा प्रवेश गरेका सतिश सिंहको दाउ पनि प्रदेश सभामा निर्वाचन लड्नु नै हो । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी प्रदेश सभाका पनि आकांक्षी बनेका छन् ।

मधेशमा पार्टी हेरफेर गर्ने काम पहिला पनि हुन्थ्यो । तर २०६३ मा भएको मधेश आन्दोलनपछि पार्टी परिवर्तन गरेर सत्तामा पुग्ने र चुनाव लड्ने क्रम बढी देखिएको छ । २०६३ को मधेश आन्दोलन नेतृत्व गरेको तत्कालिन मधेशी जनअधिकार फोरम पटक-पटक फोडेर छुट्टै पार्टी बनाउनेको संख्या धेरै देखियो । त्यस बेला फोरममा रहेका विजय कुमार गच्छदार, जयप्रकाश प्रसाद गुप्ता, शरदसिंह भण्डारी, राजकिशोर यादव, तत्कालिन नेपाल सदभावना पार्टीमा रहेका राजेन्द्र महतो, अनिल झा, श्यामसुन्दर गुप्ता, सरिता गिरी लगायतले पनि आफ्नै नेतृत्वमा पार्टी बनाए । यी पार्टी बन्दा यताबाट उता र उताबाट यता आउनेको संख्या बढ्दै गयो, जुन अहिले पनि कायमै छ ।

चुनावपच्छिे पार्टी परिवर्तन गरिनु पदलोलुपता मात्रै भएको वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल बताउँछन् । ‘यो पदलोलुपता र सिद्धान्तहीनताबाहेक केही होइन’ उनी भन्छन् ।

भारतको हरियाणामा ३ जना एमएलए पार्टी परिवर्तन गर्दा उनीहरुको नाम ‘आया राम, गया राम’ राखेको बताउँदै मण्डल त्यो कुरा नेपालमा सामान्य बनिसकेको बताउँछन् । ‘को कतिखेर कुन पार्टीमा जाने हो त्यसको ठेगान छैन,’ मण्डल भन्छन्, ‘एक घण्टाअघि एक पार्टीमा हुन्छन्, एक घण्टापछि अर्काे पार्टीमा ।’

राजनीतिमा देखिएको यहीं रुपका कारण आम मान्छेको आस्था राजनीतिप्रति घट्दै गएको बताउँछन् उनी । ‘यो लोकतन्त्रका लागि पनि घातक हुन सक्छ’ मण्डल भन्छन्, ‘काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङले जित्नु र स्वतन्त्र सांसद बन्न धेरै लाइनमा रहनु पनि राजनीतिप्रतिको वितृष्णाकै परिणाम हो ।’

पार्टीभित्र पनि हारेकालाई नै सिफारिस

पार्टी परिवर्तन गरी जसरी पनि चुनाव लड्ने पक्षमा केही नेता लागिरहँदा राजनीतिक दलले पनि पटक-पटक चुनाव लड्ने नेतालाई नै सिफारिस गरिरहेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ मधेश प्रदेशका केही पालिकाका पराजित उम्मेदवार आगामी निर्वाचनका लागि सिफारिस हुनु ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएका लालकिशोर साह र बलराम महतोको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) ले सिफारिस गरेको छ । लालकिशोर जसपाबाटै जनकपुरधामको मेयरका उम्मेदवार बनेका थिए भने स्वतन्त्रबाट उम्मेदवार बनेका महतो भने चुनावपछि जसपामा प्रवेश गरेका हुन् ।

लालकिशोरको नाम क्षेत्र नम्बर ३ बाट तथा बलरामको नाम २ र ४ नम्बर क्षेत्रबाट सिफारिस गरिएको छ ।

सप्तरीको खड्क नगरपालिकाको मेयरमा गत बैशाखमा हारेका हेमायु हक प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस भएका छन् । उनलाई पनि जसपाले नै क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ । जबकी यी तीनै जनाले २०७४ को स्थानीय तह निर्वाचन जितेका थिए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?