+
+

धरधरी रुँदै ऋचाको कटाक्ष : फिल्म ब्लकबस्टर हुन्छ भने रोइदिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १७:५५

काठमाडौं । फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक कार्यक्रममा ऋचा शर्माको हाँसो र आँसुले उपस्थितको ध्यान खिच्यो । इमोसनका अनेक भावभंगीमामा उनी पत्रकार सम्मेलनमा सहभागी रहिन् ।

रोएर फिल्म चल्दैन भन्दै उनी निकै रोइन् । उनी रुँदा पत्रकार सम्मेलनका कार्यक्रम होस्टदेखि को-स्टारसम्मलाई सम्हाल्न गाह्रो भयो । तर उनी अन्ततः सम्हालिइन् र रुनुको कारण खुलाइन् ।

रोएर पनि उनले कटाक्ष गर्न छाडिन् । भनिन्, ‘म रोएर फिल्म ब्लकबस्टर हुन्छ भने म ग्वाँग्वाँ रोइदिन्छु ।’

खासमा उनी किन रोइन् ? ऋचा भन्छिन्, ‘म आफैंले आफूलाई बाँधिराख्या थिएँ । नरेश दाइ (होस्ट)ले ठ्याक्कै कुरा निकाल्नुभयो । मेरो आफ्नै परिस्थिति छ । मैले अहिले यो भनिरहनु पनि पर्दैनजस्तो लाग्छ मलाई । घरकै हजुरआमा अस्वस्थ हुनुको कारण अलि इमोसनल भएको हो ।’

बोल्दै गर्दा प्रफुल्ल देखिएकी ऋचा अकस्मात् आमाको सन्दर्भ आएपछि फेरि भक्कानिइन् । फेरि रुँदै भनिन्, ‘दुई–तीन वर्षअघि आमा गुमाएँ…।’

रुने र हाँस्ने उतारचढावपछि उनी फिल्मको कुरामा फर्किइन् । ‘हामीले राम्रै कन्टेन्टमा सिनेमा बनाउनुपर्छ । दर्शकलाई इन्टरटेनिङ तुल्याउने फिल्म बन्नुपर्छ । रोएर फिल्म चल्ने होइन । तर म आफ्नै कारण रोएकी हुँ,’ उनले भनिन् ।

आफू धनगढीस्थित घरमा रहँदा सानैदेखि हिजोआजका कुरा हेर्ने गरेको स्मरण गरिन् । ‘त्यही बेलादेखि ममा एक्टिङको सपना हुर्किएको हो,’ उनले भनिन् ।

भोलि (बिहीबार)देखि ऋचाको छोराको उमेर एक वर्ष लाग्दैछ । ‘यो फिल्म सुटिङ हुँदा मेरो हातमा बिहेको मेहेन्दी नै थियो,’ उनले स्मरण गरिन् । साथै उनले निर्माता तथा अभिनेता सन्तोष पन्तलाई ‘अग्रगामी’ भएको टिप्पणी गरिन् ।

ऋचाको समेत प्रमुख भूमिका रहेको यो फिल्म असोज २८ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?