+
+
भैरहवाको भुईंबाट-७ :

बन्दाबन्दै साँघुरो भयो गौतमबुद्ध विमानस्थलको टर्मिनल

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ भदौ २३ गते १८:४५
विमानबाट उत्रिएर टर्मिनल छिर्नुअघिनै लाममा बसेका यात्रुको लामो लाइन

२३ भदौ, भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार, सोमबार र बुधबार जजिरा एयरलाइन्सको विमान अवरतण गर्छ । टर्मिनल भवनबाट नजिकै रहेको एप्रोनमा विमानबाट ओर्लिएका यात्रुहरु त्यहाँबाट सोझै आगमन (एराइभल) कक्षतिर लाग्छन् ।

अवस्था कस्तो भने यात्रुको लाइन विमानको भर्‍याङबाटै सुरु भएर टर्मिनल भवनभित्रको हेल्थ डेस्कमा ठोकिन्छ । यसको मूल कारण हो, टर्मिनलभित्र साँघुरो आगमन कक्ष । यो अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भाग निकै साँघुरो छ । जसले गर्दा एउटा १५० सिटे न्यारोबडी जहाजमा आएका यात्रुलाई विमानस्थलको टर्मिनल नपस्दै सास्ती सुरु हुन्छ ।

पानी परेको बेला यात्रुहरु टर्मिनलको पाली (ट्रस)मा कोचाकोच गरेर लाइन बस्नुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड पुग्नेगरी टर्मिनल भवनको डिजाइन नहुँदा यो समस्या आएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

विमानबाट उत्रिएर टर्मिनल छिर्नुअघि नै लाइनमा बसेका यात्रु

‘यत्रो विमानस्थलको यात्रु आगमन कक्ष कम्तीमा ४ वटा विमान एकसाथ अवतरण गर्दा सम्हाल्न सक्नेगरीको बन्नुपर्ने हो,’ एक अधिकारी भन्छन्, ‘यो टर्मिनल भवनमा त एउटा विमानका यात्रुलाई पनि सजिलोसँग सेवा दिन सकस छ ।’

एकैपटक दुई विमानका यात्रु ओर्लिएर लाइन बस्नुपर्‍यो भने आगमनतर्फको सेवा अहिलेको भन्दा दोब्बर सुस्त हुने उनले बताए । दैनिक ४० विमानले उडान भर्ने भनिएको यो विमानस्थलले फरक-फरक समयमा अवतरण भएमात्र सेवा दिन सक्नेछ, त्यो पनि अहिलेकै पाराको ।

‘यति ठूलो लगानीमा यत्रो पूर्वाधार तयार पार्दा एकदमै अदूरदर्शी डिजाइन र निर्माण भएको रहेछ,’ ती अधिकारी भन्छन्, ‘हरेक पटक यो देखेर विस्मित हुन परेको छ ।’

हुनपनि, टर्मिनल भवनको आगमनतर्फको कक्षमा हेल्थ डेक्स, अध्यागमन बेल्ट, ब्यागेज क्लेम एरिया र सुरक्षा र भन्सार जाँचसम्मको प्रक्रिया गर्दा यात्रुले सकसपूर्ण लाइनमा कोचिनुपर्छ ।

शनिबार विहान कुवेतबाट भैरहवा उत्रिएका दिलकृष्ण गुरुङले विमान रोकिएको एप्रोनबाटै लाइनमा उभिनुपरेको गुनासो गरे । ‘टर्मिनल भवनको आगमन कक्षभित्र पनि खुट्टा राख्ने ठाउँ नहुने रहेछ,’ उनले भने, ‘ठीक छ, लाइनमा त बस्नैपर्छ, तर एप्रोन एरियाबाटै उभाउनु त लाजको पसारो भएन र ?’

साउदीबाट कुवेत हुँदै भैरहवा आएका यात्रु संगम पौडेलले भने, ‘हामी त यसलाई हाम्रो देशै यस्तै हो भनेर पचाउँला, तर टर्मिनल बाहिरैबाट लाइन बस्नु परेका विदेशीले के भन्लान् ?’

प्रस्थानतर्फको कक्ष तुलनात्मक रुपमा केही फरक छ, तर एकैपटक धेरै यात्रुलाई सेवा दिन सक्ने अवस्था भने छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एक अधिकारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन जानीजानी साँघुरो बनाइएको दाबी गर्छन् ।

‘५ वटा विमान पार्क हुने विमानस्थलको आगमन कक्ष कम्तीमा ३ वटा विमानका यात्रुलाई सहज हुनेगरी बनाउनुपथ्र्यो,’ ती अधिकारी भन्छन्, ‘त्यसका लागि न जग्गाको अभाव थियो न त बजेटको ।’

त्यति प्राविधिक विश्लेषण गर्ने क्षमता भएन, थिएन भन्न नमिल्ने बताउँदै उनी भन्छन्, ‘त्यसैले, जानीजानीकनै टर्मिन भवन साँघुरो बनाइएको हो । अर्को टर्मिनल भवनका लागि छुट्टै ठेक्का लगाउने योजनासहित यसो गरिएको भन्न करै लाग्छ ।’

प्रस्थानतर्फ बाहिरबाटै लागेको लाइन

नभन्दै, अहिले एसियाली बिकास बैंक (एडीबी)बाट थप ऋण लिएर नयाँ टर्मिनल बनाउने तयारी सुरु भइसकेको ती अधिकारीले बताए ।

नागरिक उड्ययन प्राधिकरणले गौतमबुद्ध वमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने योजना सार्वजनिक गरिसकेको पनि छ । हालको टर्मिनल साँघुरो भएको भन्दै प्राधिरकणले दोस्रो टर्मिनल भवन बनाउने विषय चालु आर्थिक वर्षको योजनामा पारेको छ ।

१४ अर्बमा एरोब्रिजसहितको अर्को टर्मिनल भवन बनाउने प्राधिकरणको योजना छ । नयाँ टर्मिनलसँगै समानान्तर ट्याक्सी वे, एप्रोनलगायत पूर्वाधार थप्ने भन्ने छ । यसका लागि १४ अर्ब भनेको यो विमानस्थलको निर्माण लागत (जग्गाबाहेकका पूर्वाधार)भन्दा दोब्बर हो ।

नयाँ टर्मिनलका लागि जग्गाको अभाव नभएको विमानस्थलका अधिकारीहरु बताउँछन् । नयाँ टर्मिनल बनाएर विमानस्थललाई थप सुविधासम्पन्न र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाइने उनीहरुको दाबी छ ।

नयाँ टर्मिनल बनेपछि अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल आन्तरिक टर्मिनल भवनका रुपमा प्रयोग हुने विमानस्थलका महाप्रबन्धक गोबिन्द दाहालले बताए । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार एरोबि्रज सहितको टर्मिनल भवन चाहिन्छ,’ उनले भने, ‘बनाउने योजना पनि तयारै छ ।’

आगमन कक्षतर्फको बाहिरी भाग

अर्थ मन्त्रालय भने विमानस्थल क्षमताअनुसार सञ्चालनमा नआउँदै ऋण लिएर थप लगानी गर्ने पक्षमा छैन । भैरहवा पश्चिमतर्फ एयर रुट दिन भारत अनिच्छुक रहेको कारण पनि यसमा धेरै लगानी थप्ने पक्षमा छैन अर्थ मन्त्रालय ।

यो विमानस्थलको धावनमार्ग, टर्मिनल र टावर बनाउन करिब ७ अर्ब लगानी भएको छ । लगानी थपेर विमानस्थललाई चम्काउने सोच नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुमा देखिन्छ ।

भोलि विमानस्थलमा उडान चाप बढ्दा अहिलेको टर्मिनल भवनले थेग्नै नसक्ने उनीहरु बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठ प्राधिकरणको यो तर्कमा पूर्ण सहमत रहेको बताइन्छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कुनै कारणबस् त्रिभुवन विमानस्थल बन्द भए अन्तर्राष्ट्रिय उडानका विमानहरुलाई वतरणको विकल्प दिएकोले पनि गौतबुद्ध विमानस्थल थप विस्तार हुनपर्ने अनलाईनखबरसंग बताए ।

विदेशबाट आउनेलाई कुर्दै आफन्तजन

‘गौतमबुद्ध विमानस्थललाई विद्रुपीकरण गर्ने बेला यो होइन’, उनले भने, ‘यो राष्ट्रिय आवश्यकताको विमानस्थल भएकाले नै यसलाई गौरबको आयोजनाका रुपमा बनाइएको हो ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

भैरहवाको भुईंबाट–१

भैरहवाको भुईंबाट–२

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?