+
+

हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते २०:०६

२२ भदौ, काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन् ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो । मंगलबारै प्रहरीले उनलाई अस्पताल भर्ना गरेपनि यो विषय सार्वजनिक गरिएको थिएन ।

बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । एक सुरक्षा अधिकृतले अनलाइनखबरसँग भने, ‘उनलाई असहज भएपछि अस्पताल भर्ना गरिएको हो, अस्पतालको रिपोर्ट आएपछि के गर्ने भन्ने हुन्छ ।’

अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । हालै नेवाः समुदायका अभियन्ताले उनको परिवारसँग छलफल गरेर रिहाइको प्रक्रिया अघि बढाउने सहमति गरेका थिए ।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए । फेसबुकमार्फत माफी पनि मागेका थिए ।

तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएका थिए । त्यसपछि सोधपुछका लागि भन्दै बोलाइएका अपूर्व पक्राउ परेका थिए ।

सबै सामग्री हटाएर माफी माग्दा पनि थुनामा राखेको भन्दै उजुरीकर्ताहरुको आलोचना भइरहेको छ । क्षितिजको पक्षमा सामाजिक सञ्जालमा ट्वीट र स्ट्याटस लेख्ने अभियान नै चलेको छ । यसपछि उजुरीकर्ता र परिवारबीच उनलाई रिहा गराउने बारेमा छलफल सुरु भएको थियो ।

प्रहरीले पनि उनलाई छाड्ने प्रक्रिया अघि बढाइएको बताइरहेको थियो । तर बुधबार एकाएक उनीविरुद्ध अनुसन्धानका लागि भन्दै पाँच दिन म्याद थप भएको थियो । उनलाई एक साताभन्दा लामो समयदेखि थुनिएको विषयमा प्रतिनिधिसभामा पनि प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?