+
+

पोखराका मेयरलाई चुनौती : कार्यालयकै अघि अवैध संरचना

अमृत सुवेदी अमृत सुवेदी
२०७९ भदौ २२ गते २१:०५

२२ भदौ, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै चुनौती बनेको छ ।

कतिसम्म भने महानगरको कार्यालय अगाडि अनुमतिबिना अस्थायी व्यापारिक भवन बनाइएको छ । र, त्यो भवनमा मेयरसँग जोडिएको हेलो स्टेसनरी समेत छ । हेलो स्टेसनरी मेयर आचार्यले आफ्नै भानिज भाइ कमलनयन तथा शिव गौतमलाई बिक्री गरेका हुन् ।

हेलो स्टेसनरी बेचेर मेयर आचार्यले रानीपौवामा न्यू हेलो स्टेसनरी चलाइरहेका छन् । बिक्री गरिसकेको भए पनि उनको व्यावसायिक जीवन उकालो लागेको व्यवसाय भएकाले हेलो स्टेसनरीलाई मेयर आचार्यकै भनेर उनलाई चिन्नेहरुले बताउने गरेका छन् ।

महानगरकै अगाडि न्युरोडमा गणेशबहादुर श्रेष्ठको जग्गामा भवन बनाएर सटर भाडामा लगाइएको हो । सटर बनाएर भाडामा लगाउनकै लागि श्रीकान्त चापागाईंले श्रेष्ठको जग्गा भाडामा लिएर अवैध भवन बनाएका हुन् । चापागाईंले न्युरोडमै हेलो स्टेसनरीको पारीपट्टी पनि अनुमति बेगर अर्को भवन बनाएका छन् ।

त्यो भवनको न नक्सापास छ, न अस्थायी अनुमति । २ तले अवैध भवनले नियामक निकाय महानगरकै थितिमाथि व्यंग्य गरेको छ । ‘उहाँकै आफन्तसमेत जोडिएर न्युरोडमा अवैध संरचना बनाएका छन् । अवैध संरचना हटाउने र अन्त बन्न नदिन मेयर आचार्यले पहिले यहीँबाट एक्सन थाल्नुपर्छ,’ महानगरका एक जनप्रतिनिधि भन्छन्, ‘महानगरबाट स्वीकृत नलिई संरचना बनाउने क्रम तीव्र छ । यसले पोखराको नेतृत्वलाई चुनौती थपिएको छ ।’

हेलो स्टेसनरी गत सालदेखि नै न्युरोडमा सञ्चालनमा आएको हो भने हेल्लो साइनो मिनि मार्केटको अहिले सटर बुकिङ खुला भइरहेको छ । पोखरा महानगरले महेन्द्रपुलस्थित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन दिएको ३५ दिने अवधि बुधबार सकिएको छ र बिहीबारदेखि अवैध संरचना हटाउने प्रक्रिया सुरु हुन लागेको वडा नम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए ।

न्युरोडमा अवैध भवन बनेको जानकारी आएको र कार्यालयमा बुझेर पत्र काट्ने मर्सानीको भनाइ छ । महानगरको कार्यालयकै पारीपट्टी बनेको अवैध भवन रोक्न पटक –पटक नगर प्रहरीले आग्रह पनि गरेको थियो । पोखरा–९ मा पर्ने उक्त जग्गामा भवन बनाउने भए पार्किङसहितकै बनाउनुपर्ने महानगरले आग्रह गरेको तर बेवास्ता गर्दै बनाइएको इन्जिनियर सुरेन्द्र पाण्डेले बताए ।

महानगर र भवन बनाउनेका बीचमा कुरा नमिल्दा केही समय यतिकै रोकिएको थियो । तर पछि महानगरबाट स्वीकृत नै नलिई संरचना तयार पारिएको हो । काठमाडौंमा मेयर बालेन्द्रले अवैध संरचना भत्काउन थालेपछि भदौ १७ गते बल्ल स्वीकृतिका लागि महानगरमा फाइल पठाइएको छ ।

भवन निर्माण गर्ने श्रीकान्त चापागाईंले भने महानगरले अनुमति नदिएको र राजश्व बुझाउन जाँदा पनि नलिएको बताए । ‘स्वीकृतिका लागि महानगरमा गत साल नै फाइल पठाएको महानगरले नै दिएन । उसको कारणले हामी व्यवसाय नै नगरी बस्ने कुरा भएन,’ चापागाईंले भने, ‘जग्गा भाडामा लिइसकेकाले लामो समय कुर्न सकेनौं ।’

महानगरले स्वीकृति नदिए पनि बलमिच्याईं गरेर भबन बनाउन पाईंदैन । ‘मापदण्ड छोड्नुपर्छ, नक्सापास गर्नेदेखि सबै प्रक्रिया पूरा नगर्ने भवन अवैध नै हो,’ महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले भने ।

पोखरा न्युरोडमै एकले अर्को अवैध संरचनालाई देखाउँदै योबाहेक अरु पनि घरटहरा बनिरहेका छन् । यसलाई नियमन गर्न यसअघिका मेयर मानबहादुर जिसी पनि असफल बनेका थिए । व्यावसायिक पृष्ठभूमिका अहिलेका मेयर धनराज आचार्यलाई झनै बढी जोखिम रहेको उनका नजिकका व्यक्तिहरु बताउँछन् ।

मेयर आचार्यले भने न्युरोडमा हेलो स्टेसनरी रहेको भवनबारे आफूलाई यसअघि जानकारी नभएको बताए । ‘अनुमति सबैले लिनुपर्ने हो । अवैध भए महानगरले नियमन गर्ने छ,’ मेयर आचार्यले भने, ‘सोधिखोजी गरेर विधिसम्मत र कानुनसम्वत बनाउँछौं ।’

अभिलेखीकरणको नाममा यसरी अवैध रुपमा बनेका भवन तथा संरचनालाई वैध बनाउन महानगरले तयारी थालिरहेको छ । अभिलेखीकरण गर्ने भन्दै तेब्बर राजश्व लिएर प्राविधिक समितिको बैठकमार्फत यस्ता अवैध संरचनालाई वैध बनाउने तयारी महानगरले थालेको एक कर्मचारीले बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?