+
+
६ जिज्ञासा र जवाफ : :

कमेडियन अपूर्व क्षितिजमाथि किन अनुदार बन्यो प्रहरी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते २१:४०

२२ भदौ, काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ । नेवाः समुदायका अभियन्तासँग भएको छलफलमा सहमति निस्किएपछि छाड्ने प्रक्रिया अघि बढाउने बताइएको छ । तर यस्तै बेला प्रहरीले हिरासतमा राख्न म्याद थप गरिदियो ।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराले क्षितिजविरुद्ध चारवटा मुद्दा रहेकाले प्रक्रिया पूरा गर्न समय लागेको अनलाइनखबरलाई बताए । ‘भोलिसम्ममा सबै प्रक्रिया सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाउँछौं’ बोहोराले भने, ‘त्यसपछि प्रक्रियागत रुपमा उनी छुट्ने वा के हुने भन्ने टुंगो लाग्छ ।’

हिरासतमा राखिएका अपूर्वलाई प्रहरीले मंगलबार वीर अस्पताल भर्ना गरेको छ । असहज महसुस भएको बताएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रहरी स्रोत बताउँछ । कमेडियन अपूर्वलाई किन समातिएको थियो ? अहिले उनलाई छाड्न भन्दै किन सामाजिक सञ्जालदेखि संसद्सम्ममा आवाज उठिरहेको छ ? प्रहरीले व्यापक दबावबीच पनि किन हिरासतमा राख्न म्याद थप गर्‍यो ? ६ प्रश्न र उत्तरमा हाम्रो स्तम्भ ‘जिज्ञासा र जवाफ’ :

को हुन् अपूर्व क्षितिज ? उनलाई प्रहरीले किन समात्यो ?

– स्ट्याण्ड अप कमेडीमा लोकप्रिय नेपाली युट्युब च्यानल ‘कमेडी सर्कल’बाट दिएको प्रस्तुतिका कारण चिनिंदै गरेका युवा हुन्, अपूर्व । सर्लाहीको हरिवन घर भएका उनले भारतको नयाँदिल्लीबाट चार्टर्ड एकाउन्टेन्सी पढेका छन् ।

नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लागेको विषयमा गरेको व्यंग्य चर्चित छ । उनैले पछिल्लो समय यही युट्युब च्यानलमार्फत नेवाः समुदायको विषयमाथि व्यंग्य गरेपछि उनी विवादमा तानिएका थिए ।

‘नेवारीको परम्परा’ शीर्षकमा अपलोड गरिएको यो व्यंग्य आफैंमा स्तरीय भने थिएन । अथवा यसरी भनौं, यसमा व्यंग्य चैं कहाँनेर थियो ? त्यसैले हुनुपर्छ, भिडियो विवादमा तानिएपछि उनले सार्वजनिक रुपमा माफी पनि मागेका थिए ।

‘मैले यो भिडियोको विषयमा धेरै म्यासेज र कल पाइरहेको छु, मेरो नियत हँसाउने मात्र थियो’ उनले भनेका थिए, ‘कसैलाई हाँसो नलाग्न पनि सक्छ, त्यसका लागि म माफी माग्न चाहन्छु, कसैलाई चित्त दुखेको भए माफ गरिदिनुहोला ।’

उनले सामाजिक सञ्जालबाट भिडियोहरु हटाइसकेको पनि उल्लेख गर्दै यो विषयलाई त्यहीं सकिन भनेका थिए । यद्यपि, नेवाः समुदायका अभियन्ताहरुले यत्तिमै चित्त बुझाएनन् । उनीहरुले आफ्नो भावनामा चोट पुर्‍याएको भन्दै प्रहरीमा किटानी जाहेरी दिए । त्यसपछि अपूर्व पक्राउ परे ।

उनीमाथि नेवाः अभियन्ताको आरोप के हो ?

जिल्ला प्रहरी परिसर, टेकुमा उजुरी दिने टोलीको नेतृत्व गरेका यादवलाल कायस्थका अनुसार अपूर्वले कमेडी भनेर हालेको भिडियो सामान्य व्यंग्य मात्र थिएन । नेवाः समुदायको भावनामाथि चोट पुर्‍याउने किसिमको भएकाले पनि उनीविरुद्ध जाहेरी दिइएको कायस्थ बताउँछन् ।

सम्पदा संरक्षण महाअभियानमा समेत जोडिएका कायस्थका अनुसार उनको भिडियोलाई लिएर नेवाः समुदायमा आक्रोश बढेको थियो । त्यही क्रममा जम्मा भएका १०४ जना नेवाः समुदायका व्यक्तिहरुले जाहेरीमा हस्ताक्षर गरेको उनी बताउँछन् । पछि चार वटा कसूरमा उनीविरुद्ध जाहेरी दर्ता भएको कायस्थको भनाइ छ ।

अपूर्वले के भनेका थिए ? के त्यो सही थियो ?

‘मलाई नेवारी एक्सेन्ट एकदमै मनपर्छ, क्या भेराइटी हुन्छ । तर तिनीहरुको नाम किन त्यस्तो यमपुरी, चटामरी, लाख मरी ? खानेकुराको नाम हो कि महाभारत र रामायणका राक्षसको नाम हो ?’

‘मलाई पछि थाहा भयो, नेवार केटीहरु लास्टै गँजेडी हुँदोरहेछ ।’

‘नेवारी टोन । क्या मिठो गरी बोल्ने नि नेवारहरु । त भन्नै सक्दैनन् । तलाई ट भन्छन् । क्या मजाको सुनिन्छ नि । त भन्न नसक्ने भए आफू बस्ने ठाउँको नाम भक्तपुर किन राखेको ?’

१२ मिनेट २८ सेकेण्डको भिडियोमा अपूर्वले भनेका यस्ता भनाइहरुप्रति नेवाः समुदायका अभियन्ताहरुको चित्तदुखाइ थियो । उनले नेवारी लबजमा पनि प्रश्न उठाउँदै व्यंग्य गरेका थिए ।

अपूर्वले आफूले रमाइलोका लागि भिडियो राखेको भनेका छन् । तर व्यंग्यले कसैको आस्था, भावना र आत्मसम्मानमा चोट पुर्‍याउनु नहुने जानकारहरु बताउँछन् । कतिपय कमेडियनहरु अपूर्वको पक्राउले अब गरिने व्यंग्य कस्तो हुनुपर्छ भन्ने विषयमा पनि बहस हुन जरुरी देखाएको बताउँछन् ।

उसोभए के अपूर्वलाई पक्रनु आवश्यक थियो ?

कतिपयले अपूर्वले सार्वजनिक माफी मागेर भिडियो पनि डिलिट गरिसकेकाले अब यो विषय यहीं टुंग्याउन आग्रह गरेका थिए । कलाकारलाई उसको सिर्जना या अभिव्यक्तिकै लागि गिरफ्तारी या अरु कदम चालिंदा त्यसले समाजमा गलत भावना विकास हुने तर्क छ । साथै यसले नजानिंदो तरिकाले कलामा ‘सेल्फ–सेन्सरसिप’ को भय सिर्जना हुने कतिपयको भनाइ छ ।

उजुरीकर्ता नेवाः समुदायका अभियन्ताले पटकपटक आफूहरुको आस्था र भावनामा चोट पुर्‍याउने काम भएको बताउँदै सांकेतिक रुपमा पनि कारबाही हुनुपर्ने तर्क गरेका थिए । तर सम्पदा संरक्षण तथा गुठी बचाउ अभियानमा सक्रिय अभियन्ता गणपतिलाल श्रेष्ठले चाहिं अनलाइनखबरसँग अपूर्वलाई सच्चिने मौका दिनुपर्ने भन्दै कडा कारबाही आवश्यक नरहेको बताएका छन् ।

‘समुदायलाई होच्याएर अपूर्वले गल्ती गरेकै हुन्, मान्छेबाट गल्ती हुनसक्छ’ उनले भने, ‘तर उसले सच्चिएर कुनै बेला उसैको मुखबाट समुदायको राम्रो कुरा पनि सुन्न पाइयो भने त्यो राम्रो हो । कारबाहीमा कडाइ गर्न खोज्दा अर्को गलत भावनाले प्रोत्साहन पाउन सक्छ ।’

सहमतिपछि पनि उनलाई थुनामा राख्न म्याद थप्नुको कारण के हो ?

नेवाः समुदायका अभियन्ता र अपूर्व क्षितिजको परिवारबीच शनिबार प्रहरी परिसर टेकुमा छलफल भएको थियो । त्यस क्रममा अपूर्वका बुबाआमाले उनीबाट गल्ती भएको बताएका थिए । अपूर्वले पनि पहिल्यै गल्ती स्वीकार्दै भिडियो हटाएका थिए ।

अभियन्ता कायस्थले पनि दुवै पक्षबीच सहमति भएको भन्दै छुटाउने प्रक्रिया अघि बढाउने बताएका थिए । पछि सहमति पत्र बनाएर दुवै पक्षले प्रहरीलाई बुझाएका थिए । त्यसपछि छाड्ने प्रक्रिया अघि बढाइदिन भनेका थिए । सोही अनुसार काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अपूर्वलाई थुनामुक्त गर्ने प्रक्रिया थालिएको बताएका थिए ।

तर बुधबार प्रहरीले एकाएक अपूर्वविरुद्ध पाँच दिन म्याद थप गरेपछि उनको पक्षमा आवाज उठाइरहेकाहरु झस्किएका छन् । प्रहरीले चाहिं कानूनी प्रक्रिया पूरा नभएकाले म्याद थप गरेको भनेको छ ।

कहाँ चुक भयो ? को चुक्यो ?

जानकारहरुका अनुसार दुई पक्षबीच सहमति भइसकेकाले प्रहरीले तत्काल छाड्ने गरी सहजीकरण गर्नुपर्थ्याे । अनुसन्धान अधिकृत वा सरकारी वकिलसँग पनि कतिपय अवस्थामा आरोपीलाई छाड्न मिल्ने अधिकार भएकामा प्रहरीले त्यतातिर ध्यान दिएको जानकारहरु बताउँछन् । बरु अझै म्याद थप गर्नुले प्रहरीले प्रक्रिया लम्ब्याउन चाहेको देखिएको कतिपय बताउँछन् ।

अपूर्वलाई म्याद थप गर्ने बेला उनीविरुद्ध साम्प्रदायिक सद्भाव भड्काउने गरी नारा लागेको थियो । नारालाई लिएर प्रहरीको अर्को उजुरी परेको भए नेवाः समुदायका व्यक्ति पनि पक्राउ गर्नसक्ने अवस्था रहन्थ्यो ।

सामाजिक सद्भाव यस्तो औजार हो, जसको दुवैतिर तिखा धारहरु हुन्छन् । र, ती असाध्यै संवेदनशील हुन्छन् । त्यसैले यो विषयलाई सकेसम्म चाँडो टुंग्याउन प्रहरी र अभियन्ताले पहल लिनुपर्ने हो, जुन हुन सकेको देखिंदैन ।

खासगरी सिर्जना र स्रष्टासँग जोडिएका पछिल्ला घटनाहरुमा प्रहरीले एकपछि अर्को गरी लक्ष्मणरेखा नाघ्दैछ । यो उदार समाजका लागि सुहाउने कुरा होइन। अपूर्वको विषयलाई लिएर संसदमा समेत आवाज उठ्नुले यो विषयको संवेदनशीलता प्रमाणित गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?