+
+

‘यो ग्यालरीमा होइन, हाम्रो मुटुमाथि डोजर चलेको हो’

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ २३ गते १६:०८

२३ भदौ, पोखरा । ‘यो केवल एउटा घर, बिल्डिङमात्रै होइन । योसँग हाम्रो थुप्रै सम्झनाहरु जोडिएको छ । बाल्यकाल जोडिएको छ, यो हल बन्दै गर्दा यहाँ आएर खेलेको अझै याद छ । बाबाहरुले आफैं इँटा, सिमेन्ट बोकेर बनाएको ग्यालरी अहिले भत्काउन लाग्दा साह्रै नरमाइलो लागेको छ’, महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरीको भवनमा महानगरको डोजर चल्दै गर्दै ठीक अघिल्तिर उभिएर कलाकार हेमकान्ती गुरुङ भन्दै थिइन् ।

पोखरा आर्ट ग्यालरी पोखराकै एकमात्र आर्ट ग्यालरी हो । महानगरले महेन्द्रपुल फराकिलो बनाउने भन्दै ग्यालरीमाथि डोजर चलाउँदा उनीहरुको मन कुँडिएको छ ।

ग्यालरीमा ‘अनन्त रेखाहरु’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ । सिर्जनशील कलाकार समूहले गरेको प्रदर्शनी २५ गतेसम्म चल्ने छ । वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यान’, बुद्धिबहादुर गुरुङ, आलोक गुरुङ, विश्व शाक्यदेखि अनुज पुस्तासम्म ८५ जना सहभागी रहेको प्रदर्शनीलाई भदौ १० गते उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले नयाँ विकल्प नभेटिँदासम्म ग्यालरी नहटाउने आश्वासन दिएका थिए ।

तर उनको आश्वासन विपरीत चित्रकला प्रदर्शनी चलिरहेकै बेलामा नयाँ ठाउँको विकल्प नदिइकनै बिहीबार डोजरको सबैभन्दा पहिलो हिर्काइ आर्ट ग्यालरीमाथि पर्‍यो ।ग्यालरीमाथि डोजर चल्दा छेउमै बसेर भावुक मुद्रामा हेरिरहेका थिए, कलाकार हेमकान्ती गुरुङसँगै, ज्योति गुरुङ र सिर्जनशील कलाकार समूहकै अध्यक्ष मिलन शेरचन ।

सिर्जनशील कलाकार समूहकी अध्यक्ष शेरचनले ग्यालरीमाथि डोजर चल्दा आफ्नो मुटुमा चोट पुगेको बताइन् । ‘कस्तो नरमाइलो लागिराखेको छ । यहीबेला हाम्रो प्रदर्शनी पनि चलिराखेको छ,’ निराश मुद्रामा उनले भनिन्, ‘यो डोजर ग्यालरीमाथि होइन, हाम्रो मुटुमाथि चलेको हो ।’

शेरचनको कुरामा सहमति जनाउँदै कलाकार ज्योति गुरुङ पनि भावुक बनिन् । कलाकारितामा लागेदेखि नै यही ग्यालरीमा चित्रकला प्रदर्शन गर्दै आइरहेको उनले स्मरण गरिन् । ‘हिजोजस्तै लाग्छ, यो बनेको । अहिले भत्काउन लाग्दा त कस्तो नरमाइलो लागेको भन्या !’ उनले भनिन् ।

त्यतिबेला महानगरले खटाएको डोजर ग्यालरी छेउमै रहेको पोखरा पुस्तकालयका भित्ता कोपर्दै थियो । गुरुङको कुरा सुनिरहेकी शेचरन एकछिन मौन भइन् र आक्रोश पोखिन्, ‘राज्य कलाकारप्रति कसरी यति अनुदार हुन सक्छ ? हामीले नभत्काऊ भनेको हो र ? नयाँ ठाउँ खै त ?’

२०५६ सालमा स्थापना भएको ग्यालरी अहिले पुरानो र जीर्ण भइसकेको छ । २ तले ग्यालरी भवनमा माथिल्लो हलमा ग्लालरी छ भने भूइँतलामा व्यापारिक सटर छन् । ग्यालरी भवन रहेको भवन भत्काउने निर्णय भने अहिलेको होइन । तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वमा ०७५ चैतमा बसेको कार्यपालिका बैठकले नै ग्यालरी र पुस्तकालय भत्काउने र नयाँ ठाउँमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

तर, करिब ४ वर्षसम्म उक्त निर्णय निर्णयमै सीमित रह्यो । न ग्यालरी र पुस्तकालयको विकल्प खोजियो न भूइँतलामा व्यापार गरिरहेका व्यापारीलाई नै व्यवस्थित गरियो । तत्कालीन समयमा महानगरले पोखरा ८ नयाँबजारस्थित प्रदेश संग्रहालयमा ग्यालरी र पुस्तकालय सार्ने बताएको थियो । तर, प्रदेशको मातहतमा रहेको संग्रहालयले उक्त प्रस्ताव स्वीकारेन ।

फलस्वरुप कलाकार ग्यालरीविहीन बने भने सटर व्यापारीहरु फुक्काफाल बने । महानगरले ताकेता नगर्दा भूइँतलाको सटरमा व्यापार गरिरहेका व्यापारीहरु कोहीले महिनैपिच्छे भाडा बुझाइरहे, कसैले भने हालसम्म बुझाएका छैनन् । २७ वटा सटरमध्ये महानगरसँग त्यहाँबाट कति भाडा उठ्न बाँकी छ लेखाजोखा नै छैन ।

मानबहादुर जिसीको कार्यकाल सकियो । तर, पोखरेली कलाकारले आफ्नो कला प्रदर्शन गर्ने नयाँ ठाउँ पाएनन् । फलस्वरुप कहिले होटल रेस्टुरेन्ट त कहिले पार्टी प्यालेस धाउन थाले । ‘अहिले पनि यो भत्काएर हामीलाई समाजघरमा जाउ भनेका छन्, समाजघर र ग्यालरी कसरी एउटै हुन्छ ? महानगरले बुझ्नु पर्दैन ?’ सिर्जनशील कलाकार समूहका सचिवसमेत रहेका कलाकार अमृत कार्की आक्रोश पोख्छन् ।

महानगरले अन्तिम पटक साउन १२ गते ग्यालरी र पुस्तकालय भत्काइने भएकाले सटर खाली गर्न व्यवसायीका नाममा ३५ दिने सूचना जारी गरेको थियो । म्याद बुधबार सकिएको छ । म्याद सकिएको भोलिपल्टै महानगर डोजर लिएर ‘एक्सन’मा उत्रिएको हो । महानगरको डोजरले ग्यालरीको भवनलाई कोपरकापर पारेर छाडेको छ ।

त्यही भित्र पूर्वनिर्धारित प्रदर्शनी सक्ने योजनामा रहेका कलाकारहरु महानगरले अमानवीय व्यवहार गरेको बताउँछन् । ‘महानगरको सूचनाभन्दा पहिले नै हाम्रो कार्यक्रम तय थियो । अब २ दिन पर्खिंदा के जान्थ्यो ? मेयर साब आफैं अतिथि भएर आउनु भएको थियो । दसैंको मुखमा व्यापारीलाई उठाएर राज्यले अमानवीय व्यवहार गरेको छ,’ शेरचनले दुखेसो पोखिन्, ‘सहर बन्न ताल, पहाड देखाएरमात्रै हुँदैन । कला, साहित्य, संस्कृति पनि उत्तिकै महत्वपूर्ण हो भनेर कसले बुझाइदिने ?’

ग्यालरीमा कोभिड महामारी अघिसम्म वार्षिक १० देखि १५ वटासम्म विभिन्न कला प्रदर्शनी भइरहन्थे । तर, कोभिडपछि भने उक्त संख्या ह्वात्तै घट्यो । अहिले सिर्जनशीलले कोभिडपछि गरेको ‘अनन्त रेखाहरु’ प्रदर्शनी पहिलो हो ।

विस्तारै विदेशीसहित काठमाडौंका कलाकार पनि पोखरामा कला प्रदर्शनका लागि आउने समय मागिरहेको तर, ग्यालरी नै अन्योलमा हुँदा आफूहरु रनभूल्लमा रहेको सिर्जनशील कलाकार समूहका कोषाध्यक्ष जीवेन्द्र गुरुङ सुनाउँछन् । भन्छन्, ‘बल्ल हामी लयमा फर्किएकाछौं । बाहिरका साथीहरु पनि कति आउन खोज्दै हुनुहुन्छ । तर, यो ग्यालरीकै फ्युचर छैन अन्त कहाँ भन्ने ?’

कलाकार हेमकान्ती गुरुङ महानगरले पहिले ग्यालरी भत्काएर विकल्प खोज्नुभन्दा विकल्प खोजेर ग्यालरी भत्काउन उत्तम हुने सुझाव दिन्छिन् । ‘पहिले व्यवस्थापन गरेरमात्रै हटाउँछौं भन्नुभयो । हामीले मान्यौं पनि अहिले त घर न घाटका भयौं,’ उनी भन्छिन् ।

वडाध्यक्ष दीपेन्द्र मर्सानीले महेन्द्रपुलबाट ग्यालरी र पुस्तकालय हटाइसकेपछि त्यहाँ पार्क र सार्वजनिक शौचालय बनाउने महानगरको योजना रहेको सुनाए । उनले भाडा बक्यौता रहेका व्यवसायीबाट पनि शुल्क असुलिने बताए ।

मेयर धनराज आचार्यले ग्यालरी र पुस्तकालय पोखरा पृथ्वीचोकस्थित साविक ट्राफिक कार्यालयमा बनाइने जानकारी दिए । उनले पृथ्वीचोकमा ‘पोखरा घर’ बनाइने छ, जसको भूइँतलामा सूचना केन्द्र, पहिलो तलामा पुस्तकालय र तेस्रो तलामा ग्यालरी बन्ने योजना रहेको सुनाउँदै आएका छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?