
२३ भदौ, बुटवल । मजदुर संगठनहरुले आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने माग गरेका छन् ।
राज्यको नीति निर्माण तहमा मजदुर वर्गको समानुपातिक प्रतिनिधित्वका उम्मेदवार छनोट देखि नै कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने उनीहरुको माग छ ।
जनमत सञ्चार केन्द्र नेपालले बुटवलमा गरेको अन्तरक्रियामा ट्रेड युनियन कांग्रेस र ट्रेड युनियन महासंघका अगुवाहरुले सबै दलहरुले मजदुरहरुलाई आन्दोलनमा उपयोग गर्ने र आश्वासन मात्रै दिने तर व्यवहारमा कार्यान्वयन नगरेको गुनासो गर्दै अब १० प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने माग गरे ।
ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण बेलबासेले राज्यका निकायमा विभिन्न क्षेत्रलाई आरक्षणको ब्यवस्था गरे जस्तै निर्वाचनमा मजदुरहरुलाई पनि आरक्षणको व्यवस्था गर्नुपर्ने माग गरे ।
‘मजदुर नेताहरुलाई थामथुम पार्न उम्मेदवार सिफारिस गर्ने तर टिकट नदिने परिपाटी छ, यो अन्त्य हुनुपर्छ,’ उनले भने ।
ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज गोकर्ण गिरीले राजनीतिक दलहरुले मजदुर वर्गलाई न्यून अवसर दिएको गुनासो गरे ।
मजदुरको १० प्रतिशत सहभागिता गराउनुपर्नेमा २–३ प्रतिशतको हाराहारीमा मात्रै प्रतिनिधित्व गराएको उनले बताए ।
जिफन्ट लुम्बिनी प्रदेश कमिटिले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र संघिय निर्वाचनमा श्रमिक बर्गको १० प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने भन्दै नेकपा एमाले प्रदेश अध्यक्षलाई ध्यानाकर्षण पत्र समेत बुझाएको गिरीले बताए ।
प्रतिक्रिया 4