+
+

हेलो मेयर ! खाल्डाखुल्डी कहिले पुर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १६:४७

२३ भदौ, पोखरा । गत आर्थिक वर्षदेखि निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटन–पार्दी सडकखण्ड अहिले हिलाम्मे छ । सानो बर्षात हुँदासमेत सडकमा आउजाउ यातायातका साधनमात्रै नभई यात्रीहरुले पनि सास्ती भोग्नु परिरहेको छ ।

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने बाटोबाट दिक्क भएका स्थानीयबासिन्दा अचेल पोखरा महानगरले सुरु गरेको ‘हेल्लो मेयर’ कार्यक्रममा आफ्नो गुनासो टिपाउँदै सोध्छन्, ‘बाटोले साह्रै दुख पाइयो । कहिले बन्छ बाटो ? कहिले पुरिन्छ खाल्डाखुल्डी ?’

तर, यो सडकखण्ड सडक डिभिजन कार्यालयको मातहतमा पर्ने भएकाले त्यसको समाधान महानगरसँग छैन । महानगरले केवल गुनासो टिपोट गर्छ र सम्बन्धित निकायमा पठाउँछ ।

०७८ असार मसान्तमा सिंह एन्ड ब्रदर्स, रामसागर जेभीले ठेक्का पाएको उक्त सडकको ठेक्का यही आर्थिक वर्षमा सकिँदैछ । सडक डिभिजन कार्यालयका सूचना अधिकारी उज्ज्वल शर्माका अनुसार बाटो निर्माणको काम करिब अन्तिम चरणमा छ ।

‘पहिले त्यो बाटोमा ३ मिटरमात्रै कालोपत्रे थियो । तर, सडक विस्तार गर्दा भत्काउनु पर्ने भएकाले दायाँबायाँ खाल्डाखुल्डी, माटो हुने नै भयो,’ इन्जिनियर शर्मा भन्छन्, ‘त्यस्तो बाटोमा धेरै पानी पर्दा समस्या पैदा भएको साँचो हो । तर, अब काम अन्तिम चरणमा छ ।’

पोखरा महानगरले भदौ १२ गतेदेखि सेवाग्राही तथा जनताको गुनासो सुन्न टोल फ्री नम्बर ११८१ सम्पर्क गरेर आफ्नो गुनासो टिपाउने व्यवस्था ल्याएको छ । धनराज आचार्यले आफ्नो घोषणा पत्रमै एक महिनाभित्र ‘हेल्लो मेयर’ कार्यक्रम ल्याउने बताएका थिए । तर, उनले ढिलो गरी ल्याए । भदौ १२ गते महानगरको एकद्वार प्रणालीसँगै सेवाग्राहीको गुनासो सुन्ने गरी हेल्लो मेयर कार्यक्रम सञ्चालनमा आएको हो ।

हेल्लो मेयर कार्यक्रम संयोजक माया गुरुङका अनुसार दिनमा ४ देखि २० वटासम्म फोन आउने गरेको छ । जसमध्ये अधिकांश पोखरा महानगर क्षेत्रभित्रका खाल्डाखुल्डी, नाला कहिले पुर्ने भन्ने प्रश्न गर्छन् । जबकी ती गुनासो सम्बोधन महानगरको अधिकार क्षेत्रभित्र पर्दैन ।

‘धेरैले खाल्डो, नाली कहिले पुर्ने भनेर प्रश्न राख्नुहुन्छ । हाम्रो अधिकार क्षेत्रभित्र पर्ने गुनासोहरु सम्बन्धित शाखामा फरवार्ड गरेर समाधानका उपाय खोज्छौं,’ संयोजक गुरुङ भन्छिन्, ‘तर, अधिकार बाहिर जहाँ हामीले एक बेल्चा पनि माटो, बालुवा राख्न पाउँदैनौं त्यसबारे पनि गुनासो आउँछन् ।’

केही दिन अघिमात्रै पोखरामा खुला नालामा बगेर एक बालकको मृत्यु भएको थियो । उक्त नाली पनि सडक विभागकै मातहतमा बनिरहेको छ । स्थानीयले सडक डिभिजन कार्यालयमै पुगेर लामाचौर, सुन्दरफिडको खुला नाला पुर्न बाध्य पारे पनि पोखराका अन्य ठाउँमा पनि उस्तै समस्या छन् । ‘धेरै ठाउँमा उस्तै खुला नालाहरु रहेछन् । व्यस्त रहने पोखरा न्युरोड क्षेत्रमै पनि खुला नालाले समस्या पारिरहेको भनेर गुनासो आइराखेका छन्,’ गुरुङ भन्छिन् ।

‘हेल्लो मेयर’मा महानगरको फोहोरमैलाबारे पनि धेरै गुनासो आउने गरेका छन् । फोहोरमैला उठाउन ढिला गरेको, अनधिकृत बिल उठाइरहेकोलगायत गुनासो आउने गरेको महानगरले जनाएको छ ।

संयोजक गुरुङका अनुसार ‘हेल्लो मेयर’मा गुनासोमात्रै आउँदैनन्, सुझावसमेत आउँछन् । महानगरलाई कसरी राम्रो बनाउनेदेखि वार्षिक क्यालेन्डर नै बनाएर मेयर अगाडि बढाउनुपर्ने गरी काम गर्न पनि सुझाव आइरहेको उनले बताइन् ।

आएका गुनासा र सुझावलाई सुरुमा माया डायरीमा टिपोट गर्छिन् । त्यसपछि कम्प्युटरमा लिपिबद्ध गरेर सम्बन्धित शाखा, निकायमा पठाउँछिन् । ‘साँझ आएका सबै गुनासा, सुझावलाई एकैचोटि मेयर सा’बको सचिवालयमा फरवार्ड गर्छु,’ उनले भनिन् ।

‘हेल्लो मेयर’ अहिले माया एक्लैले धानिरहेकी छन् । तर, दैनिक गुनासो बढ्दै जान थाले भने कर्मचारी थप्नुपर्ने उनले बताइन् । ‘हेल्लो मेयरलाई सबैले राम्रो कार्यक्रमका रुपमा लिनु भएको छ । जनतासँग प्रत्यक्ष जोडिने भएकाले रुचाउनु भएको होला । फोन गर्नेको संख्या पनि बढ्दै गएको छ,’ उनी भन्छिन्, ‘केही समयपछि कर्मचारी थप्नुपर्छ ।’

‘हेल्लो मेयर’ मा फोनबाट मात्रै नभई मेयर धनराज आचार्यलाई प्रत्यक्ष भेटेर पनि गुनासो राख्न पाइने महानगरले व्यवस्था मिलाएको छ । दिउँसो २ बजेदेखि ३ बजेसम्म महानगरमा खुलेको सचिवालयमा पुगेर सेवाग्राहीले आफ्नो गुनासो तथा सल्लाह सुझाव राख्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?