
काठमाडौं । लेखक जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक भएको छ । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय जीवन बाँच्ने सूत्र पस्किंदै आएका प्रसाईंको पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो ।
बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यलाई सरल भाषामा व्याख्या गर्ने कोसिस गरेको छ ।
पछिल्लो समय मानिसले के र कति भन्दा पनि सकेसम्म धेरै भन्न थालेको र ‘धेरै’ उत्पन्न गर्ने धपेडीले खोस्दै लगेको सुखमय जीवनको पाटोलाई पुस्तकले उठान गरेको छ ।
‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ,’ प्रसाईंले भने, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नु आज जरुरी भएको छ ।’
लेखक प्रसाईं अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान तथा अध्यापनमा संलग्न छन् । उनले अढाइ दशक भन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सर लगायत जीर्ण रोगको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् ।
‘धेरैको धपेडी’ पुस्तकको बजार मूल्य ४२५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4