+
+

निर्माण नहुँदै विवादमा पोखरा घर

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ २४ गते १९:२६

२४ भदौ, पोखरा । पोखरा महानगरपालिकाले बिहीबार महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर चलायो । डोजर लगाएर भत्काइएका ती संरचना महानगरको आफ्नै स्वामित्वका हुन् ।

महेन्द्रपुल क्षेत्र साँघुरो हुँदै गएको भन्दै महानगरले त्यहाँ पार्क तथा शौचालय निर्माण गर्न भन्दै आर्ट ग्यालरी र पुस्तकालय भवन भत्काएको हो । तर, महानगरको ‘डोजर एक्सन’ बाट जनप्रतिनिधि नै विवादमा परेका छन् ।

डोजर लगाउनुअघि ग्यालरीमा सिर्जनशील कलाकार समूहको आयोजनामा ‘इटर्नल लाइन्स’ अर्थात् अनन्त रेखाहरु नामक चित्रकला प्रदर्शन भइरहेको थियो । मेयर धनराज आचार्यले नै भदौ १० मा उद्घाटन गरेको प्रदर्शनी शनिबारसम्म चल्नेछ । उनले उद्घाटनका क्रममा नयाँ विकल्प खोजेपछि मात्रै ग्यालरी भत्काउने वचन दिएका थिए ।

तर, उनी आफ्नो वचनबाट पछि हटेर नयाँ विकल्प नखोजिँदै ग्यालरीमा डोजर चलाएपछि कलाकर्मी अब आफ्नो कला कहाँ देखाउने भन्ने दुविधामा छन् । पोखराका कलाकार र साहित्यकारले महानगर कलाकर्मीप्रति अनुदार भएको आरोप लगाइरहेका छन् ।

आलोचना भएपछि शुक्रबार विज्ञप्ति जारी गरी महानगरपालिकाले कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा प्रतिवद्ध रहेको जनाएको छ । ‘हाल ती भवनमा रहेका कुनै पनि सामग्रीहरुमा क्षति नपुर्‍याइएको र ती सबै सुरक्षित साथ स्थानान्तरण गरिनेछ,’ महानगरको विज्ञप्तिमा भनिएको छ ।

पोखरा महानगरले पृथ्वीचोकस्थित साविक ट्राफिक कार्यालय रहेको ठाउँमा नयाँ आर्ट ग्यालरी तथा पुस्तकालय बनाउने भन्दै महेन्द्रपुलका भवनमा डोजर चलाएको थियो ।

पृथ्वीचोकमा बन्ने भनिएको ‘पोखरा घर’ को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बनाउने महानगरको योजना छ । त्यसका लागि महानगरले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ पनि विनियोजन गरिसकेको छ ।

‘पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ,’ मेयर आचार्यले भने, ‘त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।’

पृथ्वीचोकमा ‘पोखरा घर नबन्दासम्म अस्थायी ग्यालरीका लागि प्रदेश संग्रहालयको निर्माणाधीन भवनलाई प्रयोग गर्ने महानगरको योजना छ । तर, संग्रहालय परिसरमा बनिरहेको उक्त भवनसमेत तयार भइसकेको छैन ।

‘पोखरा घर’ होइन, ‘टिकट घर’ !

हाल महानगरले सुविधासम्पन्न पोखरा घर बनाउने योजनासहित आँखा गाडिरहेको जग्गा भने पोखरा उपत्यका नगर विकास समितिको जग्गा हो ।

तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरेको थियो । तत्कालीन पोखरा नगरपालिका वडा नं. ९, गण्डकी पेट्रोल पम्पको जग्गा समितिले निशुल्क रुपमा बस टर्मिनलका रुपमा ०३२ सालमा लिएको थियो ।

तर, त्यहाँ प्रयोजन विपरीत लामो समयसम्म ट्राफिक कार्यालयको गोलघर बस्यो । करिब २ वर्ष अघिमात्र गोलघर केही माथि नयाँ भवनमा सरेको छ । गोलघर त्यहाँबाट हटेपछि ०७७ साउन १७ गते पृथ्वीचोक बसपार्क टोल विकास समितिको बैठक बसेर प्रयोजनअनुसार नै त्यस ठाउँलाई प्रयोग गर्न माग गर्ने निर्णय गरेको थियो ।

अहिले महानगरले त्यहाँ पोखरा घर बनाउने योजना अगाडि सारेपछि सरोकारवाला तथा स्थानीय जग्गाले पोखरा घरसँगै प्रयोजनअनुसार नै प्रयोगमा ल्याउन माग गरेका छन् । उनीहरुले तत्कालीन समयमा समितिले आफूहरुसँग गरिएको वाचाअनुसार नै प्रयोग गर्नुपर्ने माग राखेका छन् ।

‘अहिले त्यो जग्गामा पोखरा घर बनाउने भन्ने सार्वजनिक रुपमा सुनें । जग्गादाताहरु सँग कुनै सल्लाह गरिएको छैन’ जग्गादाता परिवारका सदस्यसमेत रहेका प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ भन्छन्, ‘दानमा दिइसकेपछि हाम्रो हक लाग्छ भन्ने त होइन । तर, दाताहरुसँग उचित परामर्श त हुनुपर्‍यो नि !’

त्यहाँ पोखरा घरको परिकल्पनाअनुसार नै काम भएपनि बस टिकट काउन्टर पनि जोडिनुपर्ने जग्गा दाताहरुको माग छ । ‘महानगर र वडामा यस विषयमा पहिल्यै निवदेन पनि दिइसकेका छौं । सुरुमा टिकट घर बनाउने भनेर अधिग्रहण गरिएको हो, त्यहीअनुसार नै जग्गा दिएका हौं,’ बसपार्क टोल विकास समिति अध्यक्ष केशव थापा भन्छन्, ‘अहिले हाम्रो माग के हो भने, त्यहाँ सूचना केन्द्रसहित पार्क र टिकट काउन्टर पनि हुनुपर्छ भन्ने हो ।’

पोखरा वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी साविक ट्राफिक कार्यालय रहेको जग्गामा पोखरा घरकै लागि डीपीआर तयार हुन लागिसकेकाले टिकट काउन्टरका लागि अन्यत्रै व्यवस्थापन गर्ने तयारी रहेको सुनाए ।

‘बसपार्क भइसकेपछि टिकट काउन्टर भित्रै (बसपार्क) हुन्छ । अहिलेको जग्गा बाहिरी भाग हो’, उनले भने, ‘बसपार्कको काउन्टर बाहिरी भागमा हुने कुरा भएन । तर, हामी वरिपरि नै व्यवस्थापन गर्ने तयारी छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?