+
+

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा के विषयमा हुदैछ छलफल ?

दिपेश शाही दिपेश शाही
२०७९ भदौ २५ गते १४:५२
परराष्ट्र सचिव भरतराज पौड्याल ।

२५ भदौ, काठमडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक आगामी मंगलबार नयाँ दिल्लीमा बस्ने भएको छ । बैठकमा सहभागी हुन भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्याल दिल्ली जाने तय भएको छ ।

शुक्रबार दुवै देशका परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव पौड्यालको भारत भ्रमणका विषयमा जानकारी सर्वाजनिक गरेका छन् । ‘भारतीय विदेश सचिव क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा आगामी १३ र १४ सेप्टेम्बरमा परराष्ट्र सचिव पौड्याल भारत जाने तय भएको छ,’ नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘भेटमा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ ।’

भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भ्रमणका विषयमा थप उल्लेख गरिएको छ । ‘दुई देशका परराष्ट्र सचिवबीच हुने छलफलमा दुई देशबाट प्रधानमन्त्रीस्तरमा सम्पन्न उच्चस्तरीय भ्रमणका क्रममा अघि बढाइएका र घोषणा गरिएका काममा भइरहेको प्रगतिका विषयमा समीक्षा हुनेछ,’ भारतीय विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई देशको परराष्ट्र सचिवबीच करिब दुई वर्षपछि बैठक हुन लागेको हो । सन् २०२० को अक्टोबरमा पौड्याल परराष्ट्र सचिव नियुक्त भएका थिए भने नोभेम्बरमा तत्कालीन भारतीय विदेशसचिव हर्षबद्र्धन श्रृङ्गलाले नेपाल भ्रमण गरेका थिए ।

नेपालबाट परराष्ट्र सचिव भने दुई वर्षपछि भारत भ्रमणमा जान लागेका हुन् । पौड्यालको यो पहिलो औपचारिक भारत भ्रमण हो । अहिलेका भारतीय विदेश सचिव क्वात्राले पनि अहिलेसम्म नेपाल भ्रमण गरेका छैनन् । यसअघि नेपालका लाग भारतीय राजदूत रहेका क्वात्रा चार महिनाअघि मात्रै त्यहाँको विदेशसचिवमा नियुक्त भएका हुन् ।

के विषयमा हुनेछ छलफल ?

भारतीय विदेश मन्त्रालयका अनुसार दुवै देशबाट यसअघि सम्पन्न प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा अघि बढाइएका र घोषणा भएका कामका विषयमा समीक्षा हुनेछ ।

प्रधानमन्त्री देउवाले गत अप्रिल पहिलो साता भारत भ्रमण गरेका थिए भने भारतीय प्रधानमन्त्री मोदीले मे महिनाको दोस्रो साता लुम्बिनी भ्रमण गरेका थिए । ती दुईवटै भ्रमणमा ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने विषयमा महत्वपूर्ण समझदारी भएको थियो ।

देउवाको भारत भ्रमणमा दुई देशबीच उर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त धारणा जारी भएको थियो । त्यसपछि मोदीको लुम्बिनी भ्रमणका क्रममा देउवाले भारतका सरकारी कम्पनीलाई पश्चिम सेती र सेती ६ जलविद्युत् आयोजना निर्माणका लागि आह्वान गरेका थिए । केही हप्ताअघि मात्रै नेपालको लगानी बोर्ड र भारतको सरकारी कम्पनी एनएचपीसीबची ती दुईवटै जलविद्युत आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

त्यस्तै सोही भ्रमणका क्रममा अरुण चौथो जलविद्युत परियोजना निर्माणका लागि दुई पक्षबीच समझदारी भएको थियो । नेपाल विद्युत प्राधिकरण र भारतको सतलज विद्युत निगमबीच ४९०.२ मेगावाट विद्युत निकाल्ने अरुण चौथो परियोजना निर्माण गर्ने समझदारीमा हस्ताक्षर भएको थियो । साथै, उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमति बमोजिम अहिले नेपालले भारतमा विद्युत निर्यात समेत गरिरहेको छ ।

भारतले अघि सारेको अग्निपथ योजना र त्यसमा नेपाली गोर्खा सैनिकको भर्तीबारे पनि परराष्ट्र सचिवस्तरको बैठकमा छलफल हुनसक्ने बताइएको छ । भारतले अग्निपथमा गोर्खा सैनिकका लागि भर्ना खोले पनि नेपालले आन्तरिक राजनीतिक सहमति जुट्न बाँकी रहेको भन्दै अहिलेलाई रोकेको छ ।

यद्यपि, यस विषयमा नेपालमा सरोकारवाला निकायहरूबीच छलफल भएको छैन । साथै, भारतीय स्थल सेना अध्यक्ष मनोज पाण्डेको केही दिनअघि सम्पन्न भ्रमणका क्रममा पनि यस विषयमा छलफल हुन सकेन । भारतले भने अग्निपथ योजना अन्तर्गत नै गोर्खा सैनिकको पनि भर्ती हुने बताइसकेको छ ।

त्यस्तै नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मञ्चमा भइरहेका सहकार्य र दुई देशबीच उत्पन्न सीमा समस्याका बारेमा पनि सचिवस्तरीय बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सन् २०१९ मा भारतले नेपालको कालापानी क्षेत्रलाई समेटेर नक्सा जारी गरेपछि उत्पन्न विवादको समाधान अहिलेसम्म निस्किएको छैन । नेपालले त्यसका लागि पटकपटक आग्रह गरे पनि भारतले चासो नदिएको नेपाली अधिकारीहरूको भनाइ छ ।

भ्रमण सकेर सचिव पौड्याल बिहीबार स्वदेश फर्किनेछन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?