+
+
विचार :

लोकतन्त्र छोड्दा लोकबाट छुट्दै कम्युनिस्ट पार्टी

घम्बर नेपाली घम्बर नेपाली
२०७९ भदौ २६ गते १२:३९

कम्युनिस्ट पार्टीहरूमाथि लाग्ने सर्वाधिक गम्भीर आरोप हो– उनीहरू अधिनायकवादी हुन्छन् । असली कम्युनिस्ट सत्ताहरू आजको विश्व व्यवस्थामा कतै पनि अस्तित्वमा नहुनुको एउटा मूलभूत कारण कम्युनिस्ट अधिनायकवादी चरित्रलाई लिने गरिन्छ । यसले कम्युनिस्टहरूको लोकतान्त्रिक अभ्यासप्रति आशंका भएको इंगित गर्दछ ।

बहुसंख्यक श्रमजीवी तथा उत्पीडित वर्ग पक्षधरताका निम्ति खुलेरै राजनीति गर्ने कम्युनिस्ट पार्टीहरू कमजोर र अस्तित्वकै संघर्षमा पुग्नुले यो बहसलाई सतहमा ल्याउनु मनासिव देखिन्छ । यस आलेखमार्फत कम्युनिस्टहरू यथार्थमा लोकतन्त्रका पक्षधर भए पनि किन उनीहरूको अस्तित्व संकटग्रस्त हुन पुग्यो ? भन्ने प्रश्नको संक्षिप्त विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

कम्युनिस्ट पार्टी र लोकतन्त्र

पहिलो पटक सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रमार्फत कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट पार्टीबारे अवधारणा अघि सारेका थिए । जसअनुसार कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ताको रूपमा परिभाषित गरिएको थियो । श्रमजीवी वर्गको राजनीतिक नेतृत्व गर्न सर्वहाराको अधिनायकत्व जरूरी भएको घोषणापत्रमा उल्लेख गरिएको छ ।

यही मूल सैद्धान्तिक आलोकमा आजसम्म पनि विश्वभरि कम्युनिस्ट पार्टी र त्यसअन्तर्गतका संगठनहरू निर्माण हुँदै आएका छन् । मार्क्सले कम्युनिस्ट संगठनको वैचारिकी निक्र्योल गर्न महत्वपूर्ण योगदान गरे पनि त्यसलाई अभ्यास गर्ने पाटो उनको कालमा अपूरो रह्यो ।

वास्तवमा कम्युनिस्ट पार्टी संगठनको ठोस खाका निर्माण गर्ने श्रेय भ्लादिमिर लेनिनलाई जान्छ । लेनिनले पेशागत रूपमै क्रान्तिकारी आन्दोलनमा होमिएका कार्यकर्ताको संगठन सञ्चालन गर्न जनवादी केन्द्रीयताको सिद्धान्तलाई लागू गरेका थिए ।

सन् १९०२ तिर प्रयोगमा ल्याइएको यो सिद्धान्तको सारतत्व छलफलमा स्वतन्त्रता र काम–कारबाहीमा एकता हो । सन् १९१७ मा अक्टोबर क्रान्ति हुनुभन्दा अघि भएको रसियन बोल्शेभिक पार्टी कंग्रेसले जनवादी केन्द्रीयतालाई थप परिभाषित गरेको थियो ।

खासगरी यस भेलाले पार्टीका हरेक संगठन निर्वाचित हुनुपर्ने, संगठनका हरेक एकाइले आफ्नो रिपोर्टिङ अनिवार्य रूपमा पार्टीलाई बुझाउनुपर्ने भयो । अल्पमत बहुमत मातहत, तल्लो कमिटि माथिल्लो कमिटि मातहत, सबै पार्टी कमिटि केन्द्रीय सम्मेलन मातहत रहने नियम पारित गरियो ।

हरेक माथिल्लो कमिटिको निर्णय तल्लो कमिटि र सिंगो पार्टी सदस्यले अनिवार्य रूपमा कार्यान्वयनमा लैजानुपर्ने बाध्यकारी व्यवस्था बनाइयो । जनवादी केन्द्रीयताको सिद्धान्तलाई सोभियत कम्युनिस्ट पार्टीले पछि सोभियत सत्तामा पनि लागू गरेको थियो ।

जनवादी केन्द्रीयताको सिद्धान्त लेनिनले पार्टी संगठनभित्र गुट तथा फरक समूह बन्ने खतराबाट जोगाउन अघि सारेका थिए । तर यसको अभ्यासलाई हेर्दा सोभियत कम्युनिस्ट पार्टी तथा त्यसको सोभियत सत्ता सञ्चालनको दौरानमा पनि निकै फितलो बन्न गयो । स्टालिनको शासनकालसम्म पुग्दा जनवादको पाटो करिब समाप्त हुने तर केन्द्रीयता हावी हुने स्थिति बन्यो ।

पछि चिनियाँ कम्युनिस्ट पार्टीले पनि जनवादी केन्द्रीयताको सिद्धान्तलार्ई अवलम्बन गरी सफल प्रयोग पनि गरे । जनवादी गणतन्त्र चीनको संविधानमै यो सिद्धान्त अनुसार संगठन परिचालित हुने व्यवस्था गरिएको छ । तर अभ्यासको पाटो चीनका सन्दर्भमा पनि त्यति उत्कृष्ट देखिन सकेन । पूँजीवादी बाटोमा हिंड्न थालेपछि चिनियाँ कम्युनिस्ट पार्टीमा श्रमजीवी वर्गको व्यक्तिले नेतृत्वको सपना देख्न सक्ने सम्भावना समाप्त भइसकेको छ ।

सन् १९१७ को अक्टोबर क्रान्तिदेखि सन् १९५९ को क्युबाली क्रान्तिसम्म आइपुग्दा विश्वभरि कम्युनिस्ट पार्टी र आन्दोलनप्रति उभार थियो । श्रमजीवी मजदुर, किसान तथा उत्पीडित समुदायका आवाजलाई संगठित र मुखरित गर्ने काम कम्युनिस्ट आन्दोलनले गरेको थियो ।

त्यही सशक्त आन्दोलनको बलमा विश्वको एकतिहाइ भूभागमा कम्युनिस्ट पार्टीको झण्डा फहराएको थियो । जसको अन्तर्यमा कम्युनिस्ट विचार र भावनालाई आत्मसात् गर्ने क्रान्तिकारी संगठन थियो । अर्थात् सामूहिक छलफलमार्फत निर्णयमा लचकता तथा निर्णय कार्यान्वयनमा एकरूपताको मूल मर्म बोक्ने पार्टी संगठन थियो ।

जब कम्युनिस्ट पार्टी सत्ताको चास्नीमा डुब्न थाले, यी सबै मर्महरू उध्रिंदै जान थाले । अन्ततः उत्तरकोरिया, क्युबा लगायत कम्युनिस्ट व्यवस्था भएका देश क्रमशः वंशवादमा नै फस्न पुगे ।

नेपाली कम्युनिस्ट पार्टीभित्र लोकतन्त्र

नेपाली कम्युनिस्ट पार्टी २००६ सालमा गठन भएको थियो । अन्य कम्युनिस्ट देशहरूमा झैं नेपाली कम्युनिस्ट पार्टीले संगठन सञ्चालनको लागि जनवादी केन्द्रीयताको सिद्धान्त अवलम्बन गर्‍यो । तर यो सिद्धान्तको व्यावहारिक प्रयोगमा कैयौं त्रुटि हुन पुगे । जसको परिणाम पार्टी गुट र टुटफुटको प्रक्रियाबाट गुज्रनुपर्‍यो ।

२०४६ सालको जनआन्दोलनसम्म आइपुग्दा नेपालका कम्युनिस्टहरू कैयौं चोइटामा विभाजित भइसकेका थिए । २०४६ को आन्दोलनमा निर्णायक भूमिका कांग्रेसको रह्यो तर वाममोर्चाको सहायक मात्र । समयको उही हाराहारीमा जन्मिएको बुर्जुवा भनिएको नेपाली कांग्रेसले २०१५ सालदेखि अहिलेसम्म बारम्बार सत्ताको नेतृत्व गर्न सफल भएको छ । आम जनमत कम्युनिस्टहरूको हावी भए पनि वामपन्थी कम्युनिस्टहरू प्रायः सहायक भूमिकामा पुग्नुपर्ने तितो यथार्थ विद्यमान छ ।

दीर्घकालीन जनविद्रोहको माध्यमबाट राज्यसत्ता कब्जा गर्ने ध्येय राखेर माओवादीले २०५२ सालदेखि सशस्त्र युद्धको शंखघोष गर्‍यो । झापा विद्रोहपछि सशस्त्र संघर्षमा उत्रिएको यो दोस्रो परिघटना थियो । साढे दश वर्षसम्म भीषण युद्ध प्रक्रियाबाट गुज्रिएको माओवादी पार्टीले पनि जनवादी केन्द्रीयताको संगठनात्मक पद्धति लागू गरेको थियो ।

तथापि युद्धकालभरि जम्मा माओवादी पार्टीले एकपटक मात्र राष्ट्रिय सम्मेलन गर्न सक्यो । बाँकी केन्द्रीय समितिको बैठकबाट मात्र सबै विषयको हल गर्ने बाटो लियो । माओवादी पार्टीभित्र फरक विचार राख्नेप्रति कहाँसम्म दमन गरिन्थ्यो भन्ने कुरा बाबुराम भट्टराईमाथि गरिएको कारबाहीलाई हेर्‍यो भने पनि छर्लङ्ग हुन्छ ।

चेन अफ कमाण्डको सैन्य ढाँचाभित्र अभिव्यक्ति स्वतन्त्रता तथा फरक विचार र दुई लाइन संघर्षको घाँटी निमोठ्ने काम गरियो । पार्टी अध्यक्षलाई सधैं हेडक्वाटरको रूपमा शिरोधार्य गरियो । आम कार्यकर्तामाझ जहिल्यै हेडक्वाटरको विकल्प छैन भन्ने भाष्य जबर्जस्त स्थापित गरियो ।

जब कम्युनिस्ट पार्टी सत्ताको चास्नीमा डुब्न थाले, सबै मर्महरू उध्रिंदै जान थाले । अन्ततः उत्तरकोरिया, क्युबालगायत कम्युनिस्ट व्यवस्था भएका देश क्रमशः वंशवादमा फस्न पुगे ।

शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा माओवादी अभ्यस्त हुन थालेको पनि दुई दशक हुन आँटिसक्यो । तर हेडक्वाटरवाला भाष्यबाट माओवादी बाहिर आउनै सकेको छैन । पुष्पकमल दाहाल आजपर्यन्त पनि उक्त पार्टीको निर्विकल्प हेडक्वाटर बन्ने ‘भाग्यशाली मान्छे’ बनिरहेकै छन् ।

ताज्जुब लाग्ने कुरा त अझ के छ भने मन्त्री को को बन्ने, पार्टीको महत्वपूर्ण पदमा कसलाई बहाली गर्ने निर्णय सबै उनको खल्तीबाट निस्कन्छ । भर्खरै माओवादी पार्टीले सम्मेलन गरे पनि त्यस पार्टीको कुनै पनि नेतृत्व निर्वाचित भएर केन्द्रीय नेतृत्वमा आएको होइन । बरु हेडक्वाटर र त्यस वरपरको शक्तिशाली मान्छेहरूको निगाहमा उनीहरू पार्टी नेतृत्व हात पार्न सफल भएका हुन् ।

समानुपातिक समावेशिता जस्ता नीति स्थापित गर्न सफल भएको माओवादी आखिरमा संगठन लोकतन्त्रीकरणका हिसाबले एमाले, कांग्रेसभन्दा पनि पछाडि घिसारिन बाध्य देखिन्छ ।

नेतृत्व निर्माणका सन्दर्भमा तुलनात्मक हिसाबले नेकपा (एमाले) माओवादीभन्दा लोकतान्त्रिक देखिन्छ । तर आजको एमाले पार्टीभित्र कम्युनिस्ट चरित्रलाई पहिल्याउन त्यति सजिलो छैन । माओवादी युद्धलाई भड्खालोमा हालिसकेपछि त्यसको सह–उत्पादनको रूपमा अरू धेरै कम्युनिस्ट पार्टी जन्मिसकेका छन् । निकै फुटकर कम्युनिस्ट पार्टीहरू अस्तित्वमा आएका छन् ।

यी सबैजसो कम्युनिस्ट पार्टीहरूले जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक ढाँचा लागू गरेको भने पनि बढी केन्द्रीयतातिर जोड दिइरहेको उनीहरूको अभ्यासले प्रष्ट पार्दछ । यी पार्टीहरूमा विचार तथा कार्यक्रमको छलफलभन्दा पदकै लुछाचुँडी, एउटा कुनै राजनीतिक घटनाक्रमलाई बुझ्ने र व्याख्या गर्ने सिलसिलामा आएका भिन्न मतकै कारण फेरि पार्टी टुक्र्याउने र नयाँ पार्टीमा पद हासिल गर्ने दौड बढी छ ।

पछिल्लो पटक संसदीय राजनीतिमा आफूलाई संख्याका हिसाबले श्रेष्ठ सावित गर्न सफल भएको नेकपा (नेकपा) पनि आन्तरिक लोकतन्त्रकै अभावमा टुक्रिएर चिराचिरा भएको छ । खासगरी ओली हेडक्वाटरसामु प्रचण्ड हेडक्वाटर एकाध वर्ष पनि टिक्न सकेन ।

राजनीतिक मूल्य, सिद्धान्त तथा नैतिकताभन्दा पनि पद, प्रतिष्ठा, सम्पत्ति आदिमाथि कसले कब्जा जमाउने भन्ने होडबाजीका कारण यी पार्टीमा विघटनको पहिरो गएको हो । नयाँ नयाँ कलेबरमा आफूलाई क्रान्तिकारी बनाउने जतिसुकै डंका पिटे पनि तिनीहरूमा निहित स्वार्थ र चरित्रभन्दा बाहिर निस्कन सक्ने सम्भावना निकै क्षीण रहेको छ ।

निष्कर्ष

विचारपछि कुनै पनि राजनीतिक पार्टीको सबैभन्दा ठूलो हतियार संगठन हो । संगठन चुस्तदुरुस्त छैन भने जतिसुकै राम्रो विचार भएपनि परिवर्तनको यात्रालाई अघि बढाउन असम्भव छ । धारिलो विचारसँगै सुदृढ संगठनले मात्र क्रान्तिलाई टुंगोमा पुर्‍याउन सकिन्छ ।

त्योभन्दा अझ सर्वाधिक महत्वपूर्ण प्रश्न भनेको क्रान्तिलाई टिकाउन र समृद्ध बनाउन पनि सुव्यवस्थित र गतिशील संगठन जरूरी हुन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा संगठनलाई व्यापक लोकतान्त्रिक बनाउने र आम जनसमुदायसँग जोड्ने सवालमा निकै ठूलो दरार भेटिन्छ । अर्को गम्भीर पक्ष भनेको कम्युनिस्ट पार्टीले आफ्नो संगठनात्मक संरचनालाई उक्त देशको सापेक्षतामा विकास गर्न नसक्नु हो ।

एक सय वर्षभन्दा पुरानो लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आज आएर पनि हुबहु नक्कल गर्न खोज्नु कम्युनिस्ट आन्दोलनको दुःखान्त हो । अझ व्यवहारमा बढी अधिनायकवादी र केन्द्रीकृत बन्ने प्रवृत्तिले कम्युनिस्ट पार्टीहरू धरासायी हुँदै नगए के हुन्छन् ?

कम्युनिस्टहरू आफ्नो दर्शन, सिद्धान्त र स्वभावले नै सामूहिक सहकार्यमा अघि बढ्नुपर्ने हो । विडम्बना कम्युनिस्ट भनिने पार्टीहरू झन् बढी केन्द्रीकृत, सीमित झुण्डमा रमाउने, परिवार र नातागोतालाई काखी च्याप्ने, संकीर्ण र तानाशाही बन्न पुगे । जसको स्थान आफूलाई लोकतान्त्रिक भन्ने तर निश्चित पूँजीपतिको स्वार्थसिद्ध गर्नेहरूले लिनु स्वाभाविक हो ।
आज उठ्नै नसक्ने गरी थला परेको कम्युनिस्ट आन्दोलनले यो गल्तीबाट पाठ नसिक्ने हो भने कम्युनिस्ट पार्टी अघि बढ्न मात्र होइन, उठ्नै गाह्रो छ । जनवादी केन्द्रीयता बीसौं शताब्दीको पूवाद्र्धमा सान्दर्भिक मान्न सकिएला । तर आज विज्ञान, प्रविधि तथा सीप र ज्ञानको चरमचुलीमा उक्लिएको मानव समुदायको नेतृत्व पनि त्यही पद्धतिबाट हुन्छ भन्नुले कम्युनिस्टहरू अद्यावधिक हुन नसकेको सावित हुन्छ ।

त्यसकारण आजको विवेकशील मान्छेलाई कैद गर्न खोज्ने केन्द्रीयता होइन, अधिकतम लोकतन्त्रको अभ्याससहितको संगठनात्मक पद्धतिको बहसलाई अघि बढाउन ढिलो भइसक्यो । त्यस्तो नवीनतम र गतिशील संगठनले मात्र थला परेको कम्युनिस्ट आन्दोलनलाई प्राण दिनसक्छ ।

अग्रगामी फड्को मार्ने गरी विश्व क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ । क्रान्तिकारी कम्युनिस्ट तप्काले त्यस दिशातर्फ संगठन निर्माणको बहसलाई केन्द्रित गर्न जरूरी छ ।

(लेखक नेपाल खुला विश्वविद्यालयबाट राजनीतिशास्त्रका एमफिल शोधार्थी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?