+
+

चिनियाँ नेताको सवारीले बानेश्वर-कालीमाटी सडकमा पटक पटक जाम

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १९:५२

२७ भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक यातायात बन्द गरियो ।

सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले सोल्टी होटल गए । उनको सुरक्षाको लागि कोटेश्वर-बानेश्वर-माइतीघर-थापाथली-त्रिपुरेश्वर-कालीमाटीको सडक खाली गराइएको थियो । जसको कारण काठमाडौंको अन्य क्षेत्रका सडक पनि प्रभावित भयो ।

लीले सोल्टी होटल पुगेपछि केहीबेर आराम गरेका थिए, त्यतिबेला भने सडक जाम खुल्यो । केहीबेरपछि ली सभामुखसँग द्विपक्षीय भेटवार्ताका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनतर्फ निस्किए । त्यतिबेला फेरि बानेश्वर-माइतीघर-थापाथली-त्रिपुरेश्वर-कालीमाटी सडक खाली गरियो ।

अघिल्लो पटकको जाम राम्ररी नखुल्दै फेरि रोकिएका गाडीले बल्खुचोक, कलंकी, रत्नपार्क, कोटेश्वर, पुरानो बानेश्वरमा अस्तव्यस्त भएको एक ट्राफिक प्रहरीले बताए । ली संसद भवन छिरेपछि रोकिएको ट्राफिक जाम केहीबेर खुलेको थियो । संसदमा सभामुख अग्निप्रसाद सापकोटासँगको भेटपछि ली फेरि सोल्टी होटल फर्किँदा यो रुटमा फेरि सडक यातायात अवरुद्ध गरियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले भीआईपीको सवारी भएका कारण जाम भएको बताए । भीआईपी सवारीको कारण जनताले सास्ती पाएको तर ट्राफिक प्रहरीले रुट मिलाउन नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?