+
+

१५ दिनभित्र फिल्म हल नवीकरण गर्न र कर बुझाउन चलचित्र विकास बोर्डको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १३:४२

काठमाडौं । चलचित्र विकास बोर्डले नवीकरण नभएका फिल्म हललाई नवीकरण गर्न र फिल्म प्रदर्शनबापतको कर दाखिला गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।सोमबार बसेको चलचित्र विकास बोर्ड बैठकले दिइएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शनको अनुमति नदिइने निर्णय गरेको छ ।

‘हामीले पटक-पटक हल सञ्चालकलाई पत्र काटेर ताकेता दिएका थियौं । हलले यसलाई अटेर गरे । बोर्डले १५ दिनको अल्टिमेटम दिएको छ र हामी अब एक्सनमा उत्रिन्छौं,’ बोर्ड सदस्य तथा बक्स अफिस संयोजक राज कटुवालले अनलाइनखबरसँग भने ।

विद्युतीय प्रणाली प्रयोग गरी टिकट जारी गरिरहेका सिनेमा हलले बोर्डले तयार पारेको बक्स अफिस प्रणालीमा अन्तरआबद्ध भई आन्तरिक राजश्व विभाग र बोर्डलाई तत्कालै रियलटाइम डेटा उपलब्ध गराउनुपर्ने निर्देशन पनि बोर्डले दिएको छ ।

आर्थिक ऐन २०७८ को अनुसूची-४ को प्रकरण ६ मा चलचित्रघरले विदेशी चलचित्र प्रदर्शन गर्दा असुल उपर गरेको चलचित्र शुल्क बापतको रकम प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्ने र नबुझाए शुल्कको २५ प्रतिशत जरिवाना लाग्ने पनि बोर्डले जनाएको छ ।

गत वैशाख १३ गते जारी सूचना पुनः वेबसाइटमा प्रकाशित गर्दै बोर्डले भनेको छ, ‘यसर्थ कुनै पनि चलचित्रघरले बक्स अफिस प्रणाली कार्यान्वयन नगरेको वा चलचित्र विकास शुल्क नबुझाएको र तोकिएको समयमा चलचित्र प्रदर्शन इजाजतपत्र नवीकरण नगरेको भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्तुत कानुनी व्यवस्था बमोजिमका उक्त कार्यहरू गर्नुहुन यो सूचना मार्फत जानकारी गराइएको छ । अन्यथा प्रचलित कानुन बमोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?