+
+

२ करोडमाथिको दौडमा ‘झिंगेदाउ’ : किन चल्यो फिल्म ? 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १२:२५

काठमाडौं । चलचित्र विकास बोर्डको रियल टाइम डेटामा दोस्रो बिहीबार मध्यान्हसम्म ‘झिंगेदाउ’को देशव्यापी कमाइ २ करोड रुपैयाँ ग्रस छ ।

बक्स अफिस जडान नभएका हलको हिसाब समेत जोड्दा ‘झिंगेदाउ’को कमाइ २ करोड ३० लाखसम्म हुनसक्ने बताइन्छ । बोर्डको बक्स अफिस टोलीले बुधबारदेखि हलको अनुगमन सुरु गरेकाले फिल्मको हिसाब केही दिनमा स्पष्ट आउला ।

तर निर्विवाद के हो भने ‘झिंगेदाउ’ घरेलु बक्स अफिसमा ‘क्लिन हिट’ फिल्म हो । दोस्रो बिहीबार मध्यान्हसम्म पनि मल्टिप्लेक्समा झिंगेदाउको अकुपेन्सी ४० प्रतिशत छ, जुन लोभलाग्दो हो ।

डेढ करोड रुपैयाँमा निर्माण भएको फिल्मको कमाइ तेस्रो सप्ताहन्तसम्म तीन करोड ग्रस पुग्ने प्रारम्भिक अनुमान छ । त्यसपछि ‘प्रेमगीत ३’ र हलिउड फिल्म ‘अवतार’ प्रदर्शन हुने भएकाले चुनौती पक्कै आउनेछ ।

‘कबड्डी ४’पछि बक्स अफिसमा हिट हुनेमा झिंगेदाउ’ यस्तो फिल्म हो, जसले यति कमाउला भनेर वितरक समेत विश्वस्त थिएनन् । तर बलियो वर्ड अफ माउथको कारण दोस्रो विकडेजमा पनि हलमा दर्शकको लोभलाग्दो उपस्थिति देखिएको छ ।

किन चल्यो त झिंगेदाउ ? समीक्षकहरुको विश्लेषणमा झिंगेदाउले विशुद्ध नेपाली मौलिकता र परिवेशलाई आत्मसात गरेको छ । भीमनिधि तिवारीको चर्चित कृतिमाथि बनेको फिल्मले साहित्यको बलियो संरचनालाई पछ्याएको छ ।

‘आफूलाई गम्भीर फिल्म भन्नेहरुले साहित्यिक मूल्यमान्यतालाई बेवास्ता गरेका थिए । तर झिंगेदाउ पूर्णतः साहित्यिक संरचनामा उभिएको छ । कथा बलियो भएकाले दर्शक इन्गेज भए,’ समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन् ।

नेपाली घरपरिवारभित्रको कलह र झगडाप्रति नेपाली दर्शकको रुचि देखिएको उनको विश्लेषण छ । ‘निर्देशकले कसरी बनाए भन्ने होइन, मुख्यतः झिंगेदाउ आफैंमा बलियो साहित्यिक उत्पादन हो,’ पण्डितको विश्लेषण छ ।

समीक्षात्मक रुपमा रुचाइए पनि फिल्म ‘ऐना झ्यालको पुतली’ले अपेक्षित शो पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?