+
+

पूर्वमेयरको ज्वाइँसँग ठेक्का तोडिएको जग्गामा पोखराको प्रशासनिक भवन बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते २०:३९

२९ भदौ, पोखरा । पूर्वमेयर मानबहादुर जिसीको ज्वाईंले ३५ वर्षका लागि ठेक्का पाएर तोडिएको राष्ट्रबैंक चोकस्थित जग्गामा पोखरा महानगरपालिकाको प्रशासनिक भवन बन्ने प्रक्रिया अगाडि बढाइएको छ । कार्यकाल सकिनुभन्दा २ दिनअघि पूर्वमेयर जिसीले आफ्नै ज्वाइँ विष्णु भण्डारीको कम्पनीलाई ४० रोपनी जग्गा ठेक्का दिएका थिए ।

३० वैशाखको निर्वाचनबाट निर्वाचित मेयर धनराज आचार्यले छानबिन समिति गठन गरेको समितिले कानुनविपरीत र स्वार्थ बाझिने गरी जग्गा भाडामा लगाएको निश्कर्ष निकालेपछि सम्झौता तोडिएको थियो । त्यहाँ करिब ४२ रोपनी जग्गा छ ।

वडा नम्बर ७ र १७ को बीचमा रहेको उक्त जग्गामा अब भने पोखरा महानगरपालिकाले आफ्नो प्रशासनिक भवन बनाउने प्रक्रिया अगाडि बढाएको छ । पोखरा महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले सो जग्गामा महानगरको प्रशासनिक भवन बनाउन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको कर्मचारी आवास क्षेत्रको जग्गा महानगरको प्रशासनिक भवन बनाउन प्रयाप्त र उपयुक्त पनि रहेकाले प्रक्रिया अगाडि बढाइएको मेयर धनराज आचार्यले जानकारी दिए ।

समितिको अध्यक्ष मेयर रहने प्रावधान भए पनि यो सहरी विकास मन्त्रालय अन्तर्गत पर्छ । मेयरको अध्यक्षतामा बसेको समितिको बैठकले सो जग्गामा महानगरको भवन बनाउन दिने निर्णय गरेर पठाइसकेपछि कार्यपालिकाको बैठकले मालपोत, जग्गा प्राप्ति समिति हुँदै नेपाल सरकारसँग हस्तान्तरणका लागि माग गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले सो जग्गाको चार किल्ला निर्धारण गरिदिन मालपोत र नापी कार्यालयलाई आग्रह गरेको छ । चार किल्ला निर्धारणपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जग्गा प्राप्ति समितिको बैठकले नेपाल सरकारसँग जग्गा उपलब्ध गराउन माग गर्ने छ । मन्त्रिपरिषदले निर्णय गरेर जग्गा उपलब्ध गराएपछि महानगरले प्रशासनिक भवन निर्माण थाल्ने छ ।

पोखरा महानगरको अहिलेको कार्यालय पुरानै र साँघुरो छ । पुरानो भवनले सेवाग्राहीको चाप थेग्नै नसक्ने भएपछि मेयर मानबहादुर जिसीकै पालामा निर्माणको तयारी थालिएको थियो ।

२०७४ सालमा मेयर जिसीको अध्यक्षमा बसेको पहिलो कार्यपालिका बैठकले नै नयाँ भवन बनाउन समिति गठन गर्ने निर्णय गरेको थियो । समितिले विभिन्न ठाउँको अध्ययन गरी दिएको सुझावको आधारमा पोखरा १२ माटेपानीस्थित पशु स्वास्थ्य कार्यालयको ९९ रोपनी जग्गामा प्रमुख प्रशासकीय भवन बनाउने मेयर जिसीले निर्णय गरेका थिए । तर, नेपाल सरकारले जग्गा उपलब्ध नगराउँदा सो ठाउँमा भवन बन्न सकेन ।

२०७७ सालमा पोखरा–८ दमकल मार्गमा प्रशासनिक भवन बनाउने निर्णय गर्दै उपमेयर मञ्जुदेवी गुरुङले गत साल मंसिरमा शिलान्यास गरेकी थिइन् । तर, स्थानीयसमेत रहेका सांसद विन्दुकुमार थापाकै परिवार तथा अन्य स्थानीयले सो ठाउँमा पार्क बनाउनुपर्ने भन्दै विरोध गरेपछि ठेक्का भएर पनि निर्माण रोकियो ।

मेयर जिसीको कार्यकालमा सफल नभएको निर्माणको काम मेयर धनराज आएपछि बसेको पहिलो कार्यपालिकाको बैठकले नयाँ भवन बनाउने निर्णय गरेको थियो । सहरी स्वास्थ्य केन्द्र रहेको दमकल मार्गमा स्थानीयको विरोधले भवन बन्न नसकेको र साँगुरो पनि हुने भन्दै मेयर आचार्यले अर्को ठाउँको खोजी गरिरहेका थिए ।

आफैं अध्यक्ष रहेको पोखरा उपत्यका नगर विकास समितिको जग्गा निवर्तमान मेयर जिसीले ३५ वर्षसम्मका लागि लगाएको ठेक्का तोडिएपछि सोही ठाउँमा नयाँ प्रशासनिक भवन बनाउने आचार्यले निधो गरेका थिए । सोहीअनुसार मेयर आचार्यको अध्यक्षता समितिले निर्णय गरिसकेपछि महानगरको कार्यापालिका बैठकले पनि सोही ठाउँमा भवन बनाउने निर्णय गरेको हो ।

‘सो जग्गामा पार्किङसहितको बहुतले सुविधा सम्पन्न भवन बनाउन उपयुक्त देखेरै प्रक्रिया अगाडि बढाएका हौं,’ मेयर आचार्यले भने, ‘जग्गा प्राप्तिको प्रक्रिया सकिएलगत्तै भवन निर्माणको काम थाल्ने छौं ।’

मेयर जिसीको कार्यालय सकिनुअघि महानगरको राष्ट्रबैंक चोकस्थित योजग्गासहित पोखरा पर्यटन बसपार्कको १८ र पृथ्वीचोक यातायात व्यवस्था कार्यालय नजिकै रहेको ५ रोपनी जग्गा निजी कम्पनीलाई दिइएको ठेक्का सम्झौता असार ३१ गते खारेज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?