+
+
पोखरा नगर विकास समितिको जग्गा प्रकरणः :

जाँदाजाँदै मेयर जिसीले ज्वाइँलाई दिलाएका रहेछन् ५८ रोपनी जग्गाको ठेक्का

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असार २१ गते २२:०४

२१ असार, पोखरा । पोखरा पर्यटन बसपार्क र गल्फ ड्राइभिङ रेन्जको ठेक्का पाउने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीको ज्वाइँ भएको खुलेको छ ।

जिसीले कार्यकाल सकिनुभन्दा २ दिनअघिमात्र गल्फको ४० रोपनी जग्गा २५ वर्षलाई ठेक्का दिने सम्झौतामा हस्ताक्षर गरेका थिए । ३ असारमा भएको सम्झौतामा मेयर जिसी र एक्सन विल्डर्स सेवा प्रालिका तर्फबाट विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । भण्डारी मेयर जिसीका ज्वाइँ राम भण्डारीका सहोदर भाइ हुन् ।

यसैगरी पोखरा बसपार्कको १८ रोपनी जग्गा सोही दिन मेयर जिसी र शिलाशालिग्राम निर्माण सेवा प्रालिबीच सम्झौता भएको छ । शिला शालिग्रामका तर्फबाट छविलाल कुँवरले हस्ताक्षर गरेका छन् । त्यो कम्पनी पनि विष्णु भण्डारी समूहकै हो ।

भण्डारीले एक/डेढ वर्ष अगाडिदेखि नै बसपार्क हात पार्नका लागि कसरत गरिरहेका थिए । भण्डारीकै समूहको रिद्धिसिद्धी कन्ट्रक्सनले तनहुँको ब्यास नगरपालिकामा पनि मादी पुलदेखि शिशाघाटसम्मको ढुंगा गिटी बालुवाको ठेक्का लिएको छ । व्यासमा ६ करोडभन्दा रकममा घाट ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

भण्डारी लमजुङ मस्र्याङ्दी–९ सिमपानी निवासी हुन् । उनीहरुको समूहले विभिन्न ठाउँमा रेस्टुरेन्टहरुसमेत चलाउँदै आएको छ । काठमाडौंका साथै लमजुङकै कृषि फारम चलाइरहेका भण्डारीले पोखराको बसपार्क र गल्फ जग्गा भाडामा लिनेबारे लामो समयदेखि बलिइङ गरिरहेका थिए ।

‘उहाँले एक/डेढ वर्ष अघिदेखि नै पर्यटन बसपार्क ठेक्कामा लिएर सञ्चालन गर्नेबारे मन्त्रालय तहमै पनि कुरा गर्नुभएको थियो । निर्माण सम्पन्न नै नभएका कारण केही समय ढिला भएको थियो,’ निवर्तमान मेयर जिसी स्रोतले भन्यो, ‘अहिले उहाँ र उहाँकै समूहले ठेक्कामा पाएछ ।’
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका मेयर जिसीकै हस्ताक्षरमा समितिको बैठकबेगर ठेक्का सम्झौता भएको थियो ।

के प्रयोजनका लागि दिइएको हो ? के कति संरचना बनाउने हो ? बसपार्क व्यवस्थापन कसरी गर्ने ? शुल्क कति उठाउने हो ? जस्ता विषयलाई मौन राखेर मेयरकै ज्वाईंका भाइले ठेक्का पाए ।

पोखरा उपत्यका नगर विकास समितिलाई आफ्नो भूउपयोग गर्ने अधिकार भए पनि कुन कानुनमा टेकेर ठेक्का दिइएको हो भन्ने उल्लेख नै छैन भने ठेक्काबारे समितिका सदस्य प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत र वन कार्यालयका प्रमुखसमेत बेखबर थिए ।

गल्फ कोर्सको जग्गा मासिक २ लाख ७२ हजार रुपैयाँ भाडा तिर्ने गरी २५ वर्षका लागि ठेक्का दिइएको हो । करिब १८ रोपनी क्षेत्रफलमा रहेको पर्यटन बसपार्क १ लाख ७५ हजार रुपैयाँमा १० वर्षका लागि जिम्मा लगाइएको छ । जबकी सहरी विकास मन्त्रालयले ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बनाएको पर्यटन बसपार्क अहिलेसम्म पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण नै भइसकेको छैन ।

योसँगै यातायात व्यवस्था कार्यालय नजिकैको ५ रोपनी जग्गा सोही दिन अर्को समूहलाई ठेक्का दिइएको छ । मासिक र १ लख ३५ हजार रुपैयाँ तिर्ने गरी राइजिङ कन्ट्रक्सन प्रालिलाई जग्गा भाडामा दिइएको हो । गल्फ र पर्यटन बसपार्क कौडीमा भाउमा लिएका भण्डारीले पोखरा बहुचर्चित रामघाटको ठेक्का पनि लिन खोजेका थिए ।

सेटिङ मिलाउने दाइ, ठेक्का हात पार्ने भाइ

साउन १ गते मस्तिष्कघात भएपछि काठमाडौंमा उपचार गराएर फर्किएका मेयर जिसी अझै पूर्ण निको भइसकेका छैनन् । गत असोज ५ गते महानगरको कार्यालय फर्किएपनि मेयर जिसी नियमित जान सक्ने अवस्था थिएन । मेयर जिसीलाई अहिले पनि हिँडडूल गर्न अरुको सहयोगी चाहिन्छ ।

यस्तो अवस्थामा पनि मेयर जिसीले किन यसरी स्वार्थ बाझिने गरी ज्वाइँलाई नै ठेक्का सम्झौता गरेर दिए त ?

महानगर स्रोत भन्छ, ‘मेयर जिसी विरामी परेपछि ज्वाईं राम भण्डारीले महानगरका धेरै काम हेरिरहेका थिए । ज्वाईं, सचिवालयका केही कर्मचारीकै सेटिङमा भाइलाई ठेक्का मिलाइएको हो ।’

चैत १६ गते महानगरको ५५ औं कार्यपालिका बैठक बसिरहेको थियो, जहाँ फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउनेबारे छलफल भएको थियो । कर्मचारीले तालहरूको मापदण्ड चुनावमा मुखमा घटाउन नहुने भनाइ राख्दा मेयरका ज्वाइँसँग भनाभन नै भएको थियो ।

कर्मचारीहरुका अनुसार मेयरको अनुपस्थितिमा भण्डारीले मेयरकै कार्यकक्षमा बसेर पनि छलफल गर्ने गर्थे । अस्वस्थ हुँदा उपमेयरलाई कार्यवाहक दिनुपर्ने भएपछि ज्वाइँले आएर फाइल हेर्ने, कर्मचारीलाई अरनखटन गर्ने गरेको कर्मचारीहरुकै आरोप थियो । उनै मेयरका ज्वाईं भण्डारी र उपत्यका नगर विकास समितिका कर्मचारीकै रोहबरमा विष्णुले ठेक्का हात पारेका कर्मचारीहरु बताउँछन् । ‘मेयर साबको ज्वाइँको भाइ विष्णु भण्डारी बेला बेला आइरहनुहुन्थ्यो, उहाँले बसपार्क लिने विषयमा पनि कुरा गर्नुभएको थियो,’ मेयरको सचिवालय स्रोतले भन्यो ।
बसापार्कमा पाकिङबापत शुल्क उठाउने र सटरहरु बनाएर भाडामा लगाउने योजना उनको थियो । त्योसँगै गल्फको जग्गामा विभिन्न खेल गतिविधिमूलक व्यवसाय गर्ने उनको योजना रहेको उनी निकट एक व्यक्तिले बताए ।

‘दाइले सेटिङ मिलाएर भाइले ठेक्का लिने काम भएको हो, यसले मेयर साबकै बदनाम बनायो,’ महानगरका एक अधिकृतले बताए । प्रमुख प्रशासकीय अधिकृत पनि नभएको बेला समितिका कर्मचारीको मिलेमतोमा भाइलाई ठेक्का दिलाउन मेयरका ज्वाईं राम भण्डारीले चाँजोपाँजो मिलाएका थिए ।

मेयरको निवासमै हस्ताक्षर

सम्झौतामा हस्ताक्षर भएको दिन असार ३ गते पोखरा उपत्यका नगर विकास समितिमा मतगणना चलिरहेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि त्यहीँ राखिएकाले समितिको कार्यालय बन्द थियो ।

महानगरमा मेयर उपस्थित भएका थिएनन् । त्यसो भए ठेक्का सम्झौता कहाँ भयो त ? मेयरनिकट स्रोतले भन्यो, ‘समिति बन्द थियो । मेयर सा’ब महानगर जानुभएको थिएन । उहाँको निवासमै हस्ताक्षर भएको हो ।’

मेयरको हस्ताक्षर गराउनका लागि परिवारकै रोहबरमा ठेक्कामा पाउने समूह निवासमै पुगेर हस्ताक्षर गराएका थिए । मेयरका सचिवालयका कर्मचारीले मेयरले कार्यकक्षमै हस्ताक्षर गरेको बताएका छन् । तर, उनी त्यो दिन महानगरमै नआएको त्यहीँका कर्मचारीहरु बताउँछन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?