
News Summary
Generated by OK AI. Editorially reviewed.- गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन अमेरिका, इजरायल, कतार, इजिप्ट र टर्कीसहित अन्तर्राष्ट्रिय कार्यदल गठन गर्ने सहमति भएको छ।
- कार्यदलले प्राविधिक, सूचनात्मक र मानवीय सहयोग उपलब्ध गराउनेछ र टर्कीले नेतृत्व साझा गर्नेछ।
- सम्झौताअनुसार हमासले ७२ घण्टाभित्र सबै बन्दीहरू फिर्ता गर्नुपर्नेछ र इजरायलले सयौं पालेस्टिनी कैदीहरू रिहा गर्नेछ।
२३ असोज, गाजा । गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन हुने भएको छ ।
गाजा युद्धमा मारिएकाहरूको शव रहेको स्थान पत्ता लगाउन कठिनाइ पर्ने देखिएपछि अमेरिका, इजरायलसहितका देश सम्मिलित कार्यदल गठन गर्ने सहमति भएको हो ।
यस्तो कार्यदलमा इजरायल र गाजामा संघर्षरत हमासबीच युद्धविराम गराउन मध्यस्थता गरेका कतार, इजिप्ट र टर्कीका प्रतिनिधि समेत सामेल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
टर्कीका एक वरिष्ठ अधिकारीका अनुसार उक्त कार्यदलको नेतृत्व र समन्वय साझा रूपमा गरिनेछ ।
कार्यदलमा प्रतिनिधित्व गर्ने देशहरूले प्राविधिक, सूचनात्मक र मानवीय सहयोग उपलब्ध गराउनेछन् ।
टर्कीले यसअघि इजिप्टमा सम्पन्न युद्धविराम तथा बन्दी सम्झौताका वार्तामा पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
ती वार्तामा अमेरिका, कतार र इजिप्टले संयुक्त रूपमा मध्यस्थता गरेका थिए ।
मध्यस्थकर्ता देशका प्रतिनिधिसहित इजिप्टको शर्म अल–शेखमा इजरालय र हमासबीचको वार्तामा गाजामा मारिएका बन्दीहरूको शव खोज्न कार्यदल गठन गर्ने सहमति भएको इजरायली समाचार संस्था टाइम्स अफ इजरायलले जनाएको छ ।
इजिप्टको कायरोमा भएको वार्तापछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच युद्धविराम र बन्दी मुक्तिको सम्झौता भएका घोषणा गरेका थिए ।
इजरायली सञ्चारमाध्यमहरूका अनुसार गाजास्थित विद्रोही समूह हमासले अहिले पनि ४८ जना इजरायली बन्दीहरूलाई नियन्त्रणमा राखेको उल्लेख गरेका छन् ।
तीमध्ये २० जना जीवित रहेको, २६ जनाको मृत्यु पुष्टि भएको र बाँकी दुई जनाको अवस्था अज्ञात रहेको इजरायली अधिकारीहरूको भनाइ छ ।
बन्दीहरूमध्ये एक इजरायली सैनिक सन् २०१४ को गाजा युद्धका क्रममा मारिएका थिए ।
ट्रम्पले सार्वजनिक गरेको समझौताअनुसार युद्धविराम सुरु भएको ७२ घण्टाभित्र हमासले गाजाबाट सबै बन्दीहरू इजरायल फिर्ता गरिसक्नुपर्नेछ ।
कायरोमा भएको वार्ताका क्रममा हमासका प्रतिनिधिले गाजामा केही मृत बन्दीहरूको शव कहाँ छ भन्ने यकिन नरहेको बताएका थिए ।
हमासले ती शव फेला पार्न कठिनाइ हुने र तोकिएको म्यादमा सबै फिर्ता गर्न नसकिने जवाफ दिएको छ । इजायली पक्षले भने ढिलो भए पनि सबै शव फिर्ता हुने विश्वास व्यक्त गरेको टाइम्स अफ इजरायलले लेखेको छ ।
इजरायलका बन्दी मामिला संयोजक गल हिर्शका अनुसार यस्तो जटिलता हुने अनुमान अनुसार नै अन्तर्राष्ट्रिय कार्यदल गठनको पहल गरिएको हो ।
‘हामीले अपेक्षित कठिनाइका कारण यो टास्कफोर्स गठन गरेका हौं, जसले आवश्यक स्रोत, जानकारी र उपकरण प्रयोग गरेर सबै बन्दीहरूलाई इस्रायल फिर्ता ल्याउनेछ,’ हिर्शले भनेका छन् ।
सम्झौताअनुसार बन्दीहरू फिर्ता गर्ने सर्तमा इजरायलले सयौं पालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ, जसमा इजरायली नागरिकमाथि आक्रमणमा दोषी ठहरिएका व्यक्ति पनि समावेश छन् ।
हमासले सबै मृत बन्दीहरूको ठेगाना फेला पार्न नसक्ने तीन जना इजरायली अधिकारीहरूले बताएका सीएनएनले उल्लेख गरेको छ ।
एक अधिकारीले ७ देखि ९ जनाको शव फेला नपर्ने अनुमान गरेका छन् भने अर्काका अनुसार यो संख्या १० देखि १५ बीचमा हुनसक्छ ।
अधिकारीहरूले गरेको यी मूल्याकंन इजरायली गुप्तचर निकाय र इजिप्टमा जारी वार्ताबाट प्राप्त सूचनामा आधारित छन् ।
हमासले यसअघि जनवरीदेखि सन् २०२५ को मार्च बीचमा भएको युद्धविरामका क्रममा ३० बन्दीहरू जसमा २० इजरायली नागरिक, ५ जना सैनिक र ५ जना थाईल्याण्डका नागरिक तथा ८ जनाको शव फिर्ता गरेको थियो ।
मे महिनामा अमेरिकासँग सम्बन्ध सुधार्ने संकेतस्वरूप हमाले एक अमेरिकी–इजरायली नागरिकलाई मुक्त गरेको थियो ।
यसअघि सन् २०२३ नोभेम्बरको अन्त्यमा सात दिनको युद्धविरामका क्रममा १०५ नागरिकहरूलाई मुक्त गरिएको थियो भने त्यसअघि ४ बन्दीहरू छाडिएको थियो ।
यसको साटोमा इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदी, विद्रोही र युद्धकै क्रममा पक्राउ परेका गाजाका बासिन्दालाई रिहा गरेको थियो ।
युद्ध सुरु भएपछि हालसम्म इजरायली सेनाले ८ बन्दीहरूलाई जीवित उद्धार गरेको छ भने ५१ जनाको शव फेला पारेको छ ।
तीमध्ये तीन जनाको मृत्यु भुलवस इजरायली सेनाकै गोलीबाट भएको पुष्टि भएको छ ।
कायरोमा भएको वार्ताले अन्तर्राष्ट्रिय कार्यदल गठन गरेपछि अब गाजामा रहेका सबै बेपत्ता बन्दीहरूको खोज तथा उद्धार प्रक्रियालाई संयोजन गर्दै अघि बढाइनेछ ।
यो कदमले युद्धविराम कार्यान्वयनलाई स्थायित्व दिने र मानवीय संकट कम गर्न सहयोग पुग्ने अपेक्षा छ ।
प्रतिक्रिया 4