+
+

विराटनगरमा माघ अन्तिममा दुई एक्स्पो आयोजना हुँदै

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ ३० गते १७:१२
भीम घिमिरे र सुयस प्याकुरेल

३० भदौ, विराटनगर । मोरङका उद्योगी व्यावसायीका दुई वटा संगठनले आगामी माघ अन्तिममा दुई वटा व्यापारिक मेला (एक्स्पो) आयोजना गर्ने भएका छन् । दुई ध्रुवमा बाँडिएका उद्योगीका छुट्टा–छुट्टै संगठनले माघ अन्तिममा फरक– फरक मेला आयोजना गर्ने भएका हुन् ।

नेपाल उद्योग परिसंघ प्रदेश-१ ले आगामी १९ माघदेखि २८ माघसम्म सीआईएन एक्स्पो २०२३ आयोजना गर्ने घोषणा गरेको छ ।

उद्योग संगठन मोरङले पनि आगामी २६ माघदेखि ३ फागुनसम्म विराट एक्स्पो आयोजना गर्ने घोषणा गरेको छ । संगठनले वार्षिक क्यालेन्डर अनुसार विराट एक्स्पो २०२३ आयोजना गर्ने बताएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै परिसंघले पहिलो पटक सीआईएन एक्स्पो २०२३ आयोजना गर्ने जानकारी दिएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रत्येक वर्ष आलोपालो गर्दै विराट एक्स्पो आयोजना गर्ने सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार २०७८ चैतमा मोरङ व्यापार संघले विराट एक्स्पो आयोजना गरेको थियो । पूर्व सहमति अनुसार २६ माघ २०७९ देखि ३ फागुनसम्मका लागि ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’लाई उद्योग संगठनले वार्षिक क्यालेन्डर सूचीमा राखेको थियो ।

उद्योग संगठनसँग पालैपालो मेला आयोजना गर्ने सहमति गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष पवनकुमार सारडालाई साथमा लिएर परिसंघ अध्यक्ष भीम घिमिरेले सीआईएन एक्स्पो २०२३ घोषणा गरेका हुन् । तर एक्स्पोको विषयमा विवाद सुरु भएपछि दुवै संगठनलाई मिलाउने पक्षमा आफूहरु रहेको व्यापार संघका अध्यक्ष रिजाल बताउँछन् ।

‘अहिले दुई वटै संस्थाका अध्यक्षहरु विराटनगर बाहिर हुनुहुन्छ, उहाँहरु आएपछि हामी मिलाउने कोसिस गर्छाै,’ उनले भने, ‘हाम्रो भूमिका सहजकर्ताको हुन्छ ।’ परिसंघले आयोजना गर्ने एक्स्पोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका उनले निम्तो मान्नका लागि कार्यक्रममा गएको बताए ।

‘उद्योग संगठनसँग वार्षिक रुपमा आलोपालो विराट एक्स्पो आयोजना गर्ने हाम्रो सहमति छ,’ उनले भने, ‘एक्स्पो घोषणा गरेका दुवै संस्थालाई सहमतिमा ल्याउने कोसिस गर्छाैं ।’ उनले घोषणा भइसकेका दुई वटै एक्स्पो मध्ये एउटालाई ६ महिना पछाडि सार्न सकिने बताए ।

‘सीआईएन एक्स्पो–२०२३’ आयोजना गर्ने उद्योग परिसंघ प्रदेश १ अध्यक्ष भीम घिमिरे उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष हुन् । उनकै नेतृत्वमा मोरङ व्यापार संघसँग विराट एक्स्पो आलोपालो आयोजना गर्ने सम्झौता भएको थियो । उद्योग संगठनका वर्तमान अध्यक्ष सुयस प्याकुरेलसहितको टिमसँग भीम घिमिरेको सम्बन्ध राम्रो छैन । सम्बन्ध राम्रो नभएका कारण घिमिरे नेतृत्वको परिसंघले उद्योग संगठनले तोकेकै मितिमा एक्स्पो घोषणा गरेको व्यापारीहरु बताउँछन् ।

‘भीम घिमिरे उद्योग संगठनको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ, उहाँकै पाला आलोपालो एक्स्पो आयोजना गर्ने सम्झौता भएको थियो,’ उद्योग संगठन मोरङ स्रोतले भन्यो, ‘उहाँले संगठनको अध्यक्षमा दोह्रोर्‍याउन चाहँदा सुयस प्याकुरेलको टिमले मानेन, त्यसपछि उहाँ उद्योग परिसंघ प्रदेश १ को अध्यक्ष बन्नु भयो, उहाँहरुको सम्बन्ध पनि राम्रो छैन ।’

व्यापारीहरुका अनुसार परिसंघले आयोजना गर्ने एक्स्पोलाई मोरङ व्यापार संघ नेतृत्वको साथ छ । उद्योग संगठनले आयोजना गर्ने एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सहयोग छ ।

परिसंंघले आयोजना गर्ने एक्स्पोमा कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी हुनेछ । ५० करोड रुपैयाँ बराबरको कारोबारको लक्ष्य लिएको प्रदर्शनीमा ३ सय ५० स्टल राखिनेछ ।
उद्योग संगठनले आयोजना गर्ने विराट एक्स्पोमा पनि ३५० वटा नै स्टल रहनेछन् । परिसंघले विराटनगर २ शंकरपुरमा एक्स्पो गर्दैछ ।

संगठनले विराटनगर–३ मा विराट एक्स्पो आयोजना गर्ने तयारी गरेको छ । २६ माघदेखि एक्स्पो सुरु गर्ने तयारी भएको संगठनका महानिर्देशक चुणामणि भट्टराईले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?