+
+

‘सापटी दिएको १४ लाख फिर्ता भएन, उल्टै किर्ते मुद्दा खेप्नुपर्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते ८:४७

३१ भदौ, रुपन्देही । दाङको राप्ती गाउँपालिका–२ का सुर्ज बहादुर गुरुङले कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुरका अहमद् अब्दुल रउफलाई सापटीस्वरुप पटक–पटक गरेर १४ लाख २५ हजार रुपैयाँ दिए ।

रउफले उक्त रकम तिर्न १४ लाख २५ हजार बराबरको आफ्नो खाताको चेक गुरुङलाई दिए । रउफले दिएको चेक गुरुङले कर्णाली विकास बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न लगे । तर रउफको नाममा रहेको कृषि विकास बैंकको खातामा रकम नभएपछि चेक बाउन्स भयो ।

चेक बाउन्स भएपछि गुरुङले पटक–पटक फोन सम्पर्क गर्दा रउफले विभिन्न कारण देखाउँदै रकम दिने आश्वासन दिए, तर दिएनन् । रउफले रकम नदिएपछि गुरुङले बाध्य भएर चेक बाउन्सको मुद्दा हाले । बैंकले पटक–पटक ताकेता गर्दा पनि रउफले चेक बराबरको रकम जम्मा नगरेपछि कृषि विकास बैंकले उनको खाता कालो सूचीमा समेत राखेको छ ।

कर्णाली विकास बैंकका शाखा प्रबन्धक गोपाल रोकाले बैंकमा रकम नभएपछि पटक–पटक रकम जम्मा गर्ने समय उपलब्ध गराइएको तर रकम पूरा नभएपछि चेक बाउन्सको प्रक्रियामा अगाडि बढेको बताए । सरकारी वकिल कार्यालय मार्फत अहिले मुद्दा अदालतमा पुगेको उनको भनाइ छ ।

तर गुरुङविरुद्ध रउफले उल्टै किर्ते मुद्दा दिए । रउफले आफू जमानी बसेर अरुले रकम लिएको र साथीको विश्वासमा परेर गुरुङलाई खाली चेक दिएकोमा आफूविरुद्ध चेक बाउन्सको मुद्दा हालेपछि आफूले पनि उक्त मुद्दा किर्ते भनेर मुद्दा हालेको प्रतिक्रिया दिए ।

गुरुङले भने चेक बाउन्सको मुद्दाबाट जोगिन किर्ते मुद्दा दिएको गुनासो गरेका छन् । ‘एकातिर सापटी दिएको १४ लाख रकम फिर्ता पाएको छैन, अर्कोतिर उल्टै किर्ते गरेको भनेर मुद्दा खेप्नुपर्दा पीडामाथि पीडा भएको छ’ गुरुङले अनलाइनखबरसँग भने ।

रउफ नेकपा एकीकृत समाजवादीका जिल्ला नेता एवं मुस्लिम इत्तेहाद संगठन (समाजवादी)का केन्द्रीय उपाध्यक्ष हुन् । राजनीतिक पहुँच र शक्तिको आडमा आफूलाई उल्टै फसाउन खोजिएको गुरुङको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?