+
+

शिशिर-पुकार पुस्तालाई पर्खिरहेको संसद्

देशका विभिन्न क्षेत्रबाट सक्षम र नीतिगत हस्तक्षेप गर्न सक्ने राम्रा मान्छे संसद्मा पुग्दा संसद्को गरिमा मात्र बढ्दैन, त्यसले जनताको लोकतन्त्रप्रतिको आस्थालाई थप बलियो समेत बनाउँछ।

दिव्येस गिरि दिव्येस गिरि
२०७९ असोज १ गते १३:२३

संघीय संसद्को चुनाव आएसँगै सबैलाई चुनावी रौनक लागेको छ। गठबन्धनमा सिट बाँडफाँटको तनाव चुलिएको छ। दलका विभिन्न समितिले प्रदेश र संघीय संसद्को लागि सिफारिस गरेर केन्द्रलाई पठाइरहेका छन्। जहाँ जिउँदै मान्छेलाई इँटा भट्टामा हाल्ने आलमदेखि ज्यान मार्ने उद्योगका आरोपी चक्रे मिलान समेत सिफारिस भएका छन्।

मुख्य दलहरूले नै यस्ता उम्मेदवारलाई सिफारिस गरेको दृश्यले दलहरूले मतदातालाई कसरी हेपेका छन् भन्ने चित्र पनि देखिएको छ। अर्थतन्त्र, शासन-प्रशासनको गुणस्तर र राजनीतिक जवाफदेही विनाका बासी अनुहार हेरेर दिक्दार भएका जनतालाई नयाँपनको अनुभूति दिनुको सट्टा विभिन्न फौजदारी अभियोगमा लागेकाहरूलाई राजकाज चलाउन दिने गरी दलहरूले गरेका सिफारिसले जनतालाई थप हेप्ने काम मात्रै गरेको छ।

यस्तै दलहरूको हेपाइबाट वाक्क परेका केही सहरी क्षेत्रका जनताले गठबन्धन र मुख्य दलहरू विरुद्ध गत स्थानीय निकायको चुनावमा केही ठाउँमा विद्रोह गरेका थिए। काठमाडौं, धरान र धनगढीका जनताले गरेको अस्वीकार सहितको विद्रोहको छाल आउने संघीय तथा प्रादेशिक निर्वाचनमा देखिने स्पष्ट छ।

स्थानीय चुनावमा काठमाडौं, धरान र धनगढीमा मुख्य दलहरूको विरुद्ध देखिएको विद्रोहले दलको फ्रेम भन्दा बाहिर रहेर उम्मेदवारी दिनेबारे सोचिरहेकाहरूलाई एक हिसाबले हौसला मिलेको छ।

स्वतन्त्र उम्मेदवारको विजय र त्यसको प्रभाव

स्थानीय निर्वाचन अगाडि स्वतन्त्र उम्मेदवारहरूले जिते भने उनीहरूको कार्यपालिकामा बहुमत हुँदैन र त्यसले काम गर्न सक्दैनन् भन्ने परम्परागत दलहरूले भाष्य निर्माण गर्न खोजेका थिए। तर दशकौंको दलहरूको अकर्मण्यताले आजित जनताले यस्तो भाष्यमा विश्वास गरेनन् र केही उम्मेदवारलाई निर्वाचित गराए।

चुनाव जितेपछि उनीहरूले जुन तवरले काम गरेका छन् त्यसले दलहरू मात्र होइन, गैरदलीय उम्मेदवारले झन् प्रभावकारी हिसाबले काम गर्न सक्ने रहेछन् भन्ने देखाएको छ। अनावश्यक स्वार्थ समूहसँग जोडिनु नपर्ने तथा नियम कानुन मिच्ने सबैलाई बराबर राखेर निष्पक्ष काम गर्न सक्ने स्थितिले दलहरूले निर्माण गरेको भाष्य गलत साबित भएको छ।

अब्बल तरिकाले काम गर्ने मान्छेका लागि कुनै पनि कुरा व्यवधान हुँदैन भन्ने कुरा पुष्टि भइसकेको छ। यस्तो बेलामा संघीय निर्वाचनमा पनि नीतिनिर्माणमा प्रभावकारी हस्तक्षेप गर्न सक्ने तथा स्वार्थ समूहको घेराबाट उठ्न सक्ने सार्वजनिक नीतिको बारेमा राम्रोसँग बुझेका सक्षम युवाहरू पुर्याउनुपर्छ भन्ने बलियो मनोविज्ञान निर्माण भएको छ।

हाम्रो पोलिसी फर्मुलेसनमा जुन तहको नलेज डेफिसिट छ त्यसलाई सम्बोधन गर्नको निम्ति पनि सार्वजनिक नीति बुझेका र भोलि संसद्मा नीतिगत छलफल गरेर नीति निर्माण गर्दा अधिकतम जनताको हितमा नीति बनाउन सक्ने मान्छे संसद्को रूपमा जरुरी छ। अहिले देखिएको अभाव पूर्ति गर्न संसदमा युवा र सक्षम सांसद आवश्यक छ।

को हुन् शिशिर खनाल ?

नेपालमा अहिले कुनै क्षेत्र सबैभन्दा दयनीय देखिन्छ भने त्यो हो- शिक्षा क्षेत्र। शिक्षा क्षेत्र केवल एक क्षेत्र मात्रै हैन, यसले बढ्दै गरेको विद्यार्थीको जीवनस्तर कस्तो भन्ने कुरासम्म निर्क्योल गर्दछ। नेपालको शिक्षा क्षेत्र राम्रो नहुनुको परिणाम हामीले तीन पुस्तासम्म बेहोर्नेछौं। पछिल्लो समय दलीय हस्तक्षेपले शिक्षा क्षेत्र सुधारलाई थप जटिल समेत बनाएको छ।

यस्तो अप्ठ्यारो क्षेत्रमा हात हालेर परिणाममुखी काम निकालेका पात्र हुन्- शिशिर खनाल जो आउने मङ्सिरको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिस्पर्धा गर्दैछन्। सन् २०१९ मा युवा सीईओको अवार्डसमेत पाएका उनले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन्।

उनले नेपाल फर्किएलगत्तै टिच फर नेपाल सुरु गरे। तुलनात्मक हिसाबले कमजोर गुणस्तर रहेको ग्रामीण भेगका विद्यालयमा विदेशी विश्वविद्यालय पढेका तथा राम्रो विषयमा स्नातक उत्तीर्ण भएका शिक्षकहरूमार्फत पढाउने हेतुले उनले सन् २०१२ मा टिच फर नेपाल सुरु गरेका हुन्।

खनालको पहलकदमीमा सुरु भएको कार्यक्रमले दुर्गम भेगका विद्यार्थीको गणित, विज्ञान, अङ्ग्रेजी जस्ता विषयको नतिजामा उल्लेखनीय सुधार ल्याएको छ। सन् २०१२ मा टिच फर नेपालले २०७० सालदेखि ललितपुरको दक्षिणी भेगका १५ वटा विद्यालयमा स्वयंसेवी शिक्षक (फेलो) पठाएर सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेको हो।

करिब ७ जिल्लाका ६० सामुदायिक विद्यालयमा टिच फर नेपालले नेपालका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयका करिब ५० हजार विद्यार्थीलाई पढाएको छ। टिच फर नेपालमार्फत विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फेलोसिप दिंदै आएको छ। जसमा छनोट भएका युवाहरूले दुई वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउँछन्। सामान्य मोबाइल वा कम्प्युटरको प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भन्ने कुरा टिच फर नेपालको प्रयोगले देखाएको छ।

अहिले सार्वजनिक शिक्षा सुधार एउटा सामान्य चाहना मात्रै नभएर यो जरुरी काम बनिसकेको छ। टिच फर नेपालमार्फत हजारौं विद्यार्थीको भविष्य राम्रो बनाउने मेकानिज्ममा काम गरिसकेका उनलाई यदि सांसद बनाएर पठाउन सकियो भने अहिले संसद्मा देखिएको रिक्तता अन्त्य हुनसक्छ। सार्वजनिक नीतिको अध्ययन गरेका र शिक्षाको क्षेत्रमा नमूना काम गरेकाले संसद्मा गएर नीति निर्माणको काममा उनले ‘नलेज डेफिसिट’लाई कम गर्न तथा शिक्षा सुधार्ने नीति निर्माण तहमा हस्तक्षेप गर्न सक्ने देखिन्छ।

को हुन् पुकार बम ?

एमालेको वैचारिक नेता मानिने घनश्याम भुसालसँग केही समय अगाडि पङ्तिकारमध्ये एकको भेट भएको थियो। भेटमा भुसालले ‘इनफ इज इनफ’ आन्दोलनको बारेमा केही सकारात्मक तरिकाले जिज्ञासा राखेका थिए। त्यो समयमा त्यो आन्दोलनले कसरी एकाएक देशव्यापी रूप लियो, विभिन्न आन्दोलनको नेतृत्व गरे पनि स्वयम् भुसालका लागि त्यो आन्दोलन नौलो लागेको रहेछ।

संवादको क्रममा सामाजिक सञ्जालबाट तीन दिनमै करिब एक लाख युवाहरू एउटा ग्रुपमा जोडिएर सरकारको अक्षमता विरुद्ध सामाजिक दूरीसहित देशव्यापी भएको प्रदर्शनबारे छलफल भयो। उक्त अभियानको एक हिस्सेदार भएको हिसाबले उनलाई हामीले यो आन्दोलन उठ्ने परिस्थिति, छोरा पुस्ताको मनोविज्ञान र बा पुस्ताका राजनीतिक नेताहरूको त्यो मनोविज्ञानलाई बुझ्न नसक्ने जटिलताका बारेमा हाम्रा दृष्टिकोणहरू राख्यौं।

सरकारले स्वास्थ्य सामग्री आयातमा गरेको भ्रष्टाचारदेखि कोरोना नियन्त्रणको अव्यवस्थित कार्यशैली विरुद्ध सामाजिक सञ्जालको माध्यमबाट त्यो आन्दोलन सुरु भएको थियो र हप्ता दिनमै त्यो आन्दोलन देशका कुना–कुनामा पुगेको थियो।

कोभिड महामारी सकिएको केही समय मात्रै बित्यो। विश्वव्यापी स्वास्थ्य सङ्कटकाल नै निम्त्याउने गरी आएको कोभिडले हामीलाई धेरै हानिनोक्सानी र केही गम्भीर पाठहरू समेत पढाएर गयो। लामो समयदेखि सरकारले लकडाउन गर्नेबाहेक केही उल्लेख्य उपलब्धि गर्न नसक्दा राज्यको निकम्मापन मात्रै झल्केको थिएन, त्यसको प्रत्यक्ष दुःख भोग्ने जनता थिए। त्यही बीचमा जन्मेको ‘इनफ इज इनफ’ अभियानले लुटतन्त्रमा जकडिएको राज्य कसरी अक्षम हुने रहेछ भन्ने चित्र मज्जाले देखाएको थियो।

हप्ता दिन नपुग्दै देशैभरि सल्केको त्यो आन्दोलनको मुख्य भागमा सरकारको अकर्मण्यताविरुद्ध आफ्नो ज्यानको समेत प्रभाव नगरी आमरण अनशन बसेका दुई युवाहरू थिए। जसले शान्तिपूर्ण आन्दोलनलाई देशभर पुर्याएको थियो र त्यो आन्दोलनमा १२औं दिनसम्म आमरण अनशन बसेका ईशान अधिकारी र पुकार बममध्ये बम यो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन्।

पछिल्लो ७० को दशकदेखि काठमाडौंले राजनीतिक काँचुली फेर्न खोजेको छ। आन्दोलनको चरित्रदेखि भाष्य नै परिवर्तन गर्न खोजेको काठमाडौंको यसै आन्दोलनलाई सुरुबाटै सिपाहीको भूमिकामा रहेर काम गरिरहेको एक पात्र हो पुकार बम।

पुकार बम ७० को दशकदेखि सामाजिक आन्दोलनको परिदृश्यमा सानो तहमा सुनिरहेको आवाज हो। राजनीतिको ठूलो स्टेजमा उनको चर्चा नभए पनि चल्तीको राजनीति भन्दा बाहिर अहिलेको समस्यालाई उजागर गर्दै समाधान खोज्नेहरूको सानो भिडमा पुकार पनि त्यही उत्साह बोकेर हिंडेको मान्छे हो।

देशले बन्दहड्तालको हैरानी खेपिरहँदा स्व. उज्ज्वल थापासँगै माइतीघरमा ‘नेपाल खुल्ला छ’ भन्ने अभियान गर्दै हिंडेका पुकार भूकम्पलगत्तै तत्कालीन विवेकशील नेपालीको चर्चित क्विक रेस्पोन्स गर्ने टिमका अगुवा समेत हुन्।

डा. गोविन्द केसीले सुरु गरेको स्वास्थ्य/शिक्षा राज्यको जिम्मामा हुनुपर्छ भन्ने आन्दोलनलाई सडकको सारथि भएर हरेक अनशनमा अग्रमोर्चामा देखापर्ने पुकार बम पछिल्लो डेढ दशकदेखि सुरु भएको हरेक नयाँ आन्दोलन र अभियानमा अग्र मोर्चामा खटिएका छन्।

किन शिशिर-पुकार बिम्ब ?

अहिलेको हाम्रो संविधान नेपालमा रहेको लामो समयदेखिको विभिन्न जातीय/क्षेत्रीय/लैङ्गिक र वर्गीय विभेदलाई अन्त्य गर्ने र सामाजिक न्यायलाई बलियोसँग कार्यान्वयन गर्ने तथा लोकतन्त्रलाई थप बलियो बनाउने उद्देश्य राखेको संविधान हो।

अहिलेको संविधानलाई यसले परिकल्पना गरेको बाटोमा हिंड्न अवरोध गर्ने दुई खालका प्रवृत्ति देखिन्छन्। एउटा पपुलिस्ट जमात छ जो यो संविधानले परिकल्पना गरेको गणतन्त्र, सामाजिक न्याय, संघीयता, धर्मनिरपेक्षता, शिक्षा/स्वास्थ्यमा मौलिक अधिकारलगायत सबै कुरालाई सैद्धान्तिक हिसाबले आक्रमण गर्छ र यसलाई असफल पार्ने उद्देश्य बोकेको छ। अहिले राजनीतिमा रवीन्द्र मिश्रदेखि पूर्वराजावादी र कन्जरभेटिभ समूहले त्यस्तो धारको प्रतिनिधित्व गरेको छ।

अर्को एउटा समूह जो अहिलेको दलहरूभित्रै रहेको छ। सैद्धान्तिक हिसाबले यो संविधानको पक्षमा त देखिन्छ तर त्यसलाई थप लोकतान्त्रिक बनाउँदै आजका पुस्ताको चाहना अनुरूप पारदर्शी हिसाबले राजकाज चलाउन समर्पित छैन। नीतिनिर्माणको तहमा योग्य मान्छेलाई पठाउने र कुनै स्वार्थ समूहको लोभमा नपरी आम मान्छेको जीवन सुधार्न नीतिगत काम गर्नुपर्ने उद्देश्यमा पनि उनीहरूको रुचि छैन। उल्टो दलतन्त्रलाई बलियो बनाउने, दलको शक्तिको आधारमा लोकतन्त्रलाई दलतन्त्र जस्तो बनाएर दलको राजनीतिक शक्तिको दुरूपयोग गर्दै अवाञ्छित गतिविधि गर्ने तथा पोलिसी फ्रडको कामसम्म गरेका छन्।

त्यस्ता दुवै खालको प्रवृत्तिबाट जोगाएर यो संविधानले देखाएको बाटोमा मुलुकलाई डोर्याउन पनि हामीलाई केही त्यस्ता सांसदहरूको समूह चाहिएको छ जो यस्तै खालको नीतिगत हस्तक्षेप कायम गर्न सफल होस्।

अहिले विभिन्न स्वतन्त्र उम्मेदवार देखिएका छन्। देशका विभिन्न क्षेत्रबाट सक्षम र नीतिगत हस्तक्षेप गर्न सक्ने राम्रा मान्छे संसद्मा पुग्दा संसद्को गरिमा मात्र बढ्दैन, त्यसले जनताको लोकतन्त्रप्रतिको आस्थालाई थप बलियो समेत बनाउँछ।

अहिलेको संविधानलाई थप नीतिगत स्पष्टताका साथ बलियो बनाउँदै लैजानको निम्ति हाम्रो नीति निर्माण तहमा त्यही चरित्र, सोच र विचारलाई प्रतिनिधित्व गर्ने संसद् सदस्य आवश्यक पर्छ। अहिले देखिएका स्वतन्त्र उम्मेदवारमध्ये पुकार बम र शिशिर खनालले त्यो सोच, चरित्र र विचारलाई राम्रोसँग न्याय गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?