+
+
सम्झनामा शुभबहादुर :

‘साथीलाई धेरै मिस गरेको छु, राष्ट्रलाई उहाँजस्तो मान्छेको खाँचो थियो’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १६:४३

काठमाडौं । वरिष्ठ संगीतज्ञ शुभबहादुर सुनामको ७४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । कुशल एरेन्जरको रुपमा सुप्रसिद्ध उनी सेक्सोफोन वाद्यवाधक समेत हुन् ।

नारायगोपाल, प्रेमध्वज प्रधान, तारादेवीका मनपर्ने एरेन्जर समेत रहेका उनी संगीतकार शम्भुजीत बाँस्कोटाका मिल्ने साथी समेत थिए । संगीत मात्र होइन, मित्रको रुपमा सुनामसँग बाँस्कोटाले जीवनका धेरै हिउँद सँगै बिताएका छन् ।

बम्बै (हाल मुम्बई), कलकत्ता (हाल कोलकाता)देखि काठमाडौंसम्म उनीहरुले सांगीतिक यात्रामा सहकार्य गरेका छन् । शम्भुजीतको नजरमा ‘जेन्टलम्यान’को छवि बनाएका शुभबहादुरको जीवनबाट आगामी पुस्ताले नेपाली संगीतप्रतिको अथाह प्रेमलाई सिक्नुपर्ने उनी बताउँछन् ।

शम्भुजितले शुभबहादुरबारे यसरी सविस्तार सम्झिए–

शुभबहादुरजी र म अत्यन्तै मिल्ने साथी हौं । हामीले लामो समय सँगै संगीतमा काम गर्‍यौं । साथीको रुपमा मैले उहाँलाई मिस गरिराखेको छु ।

के घर के डेरा’ फिल्ममा उहाँले केही गीत र मैले केही गीत गरेका थियौं । नीर शाहजीको गीत भएको विनोद चौधरीको एल्बममा पनि सहकार्य भएको थियो ।

मेरा राम्रा गीतमा उहाँले राम्रो एरेन्जमेन्ट गर्दिनुभएको छ । उहाँ संगीत विधामा राम्रो ज्ञान भएको वाद्यवाधक पनि हुनुहुन्थ्यो । ‘के घर के डेरा’को रेकर्डिङको बेलामा हामी सँगै कलकत्ता पनि गएका थियौं ।

त्यो फिल्ममा उहाँका केही गीत र मेरा केही गीत थिए । गोपाल योञ्जन र नातिकाजीले गरेजस्तै हामीले सहकार्य गर्‍यौं । मेरो मिल्ने अन्त्यन्त नजिकको साथी । तर उहाँले छिट्टै छाडेर जानुभयो ।

मान्छेलाई रोगले कहाँ छोड्छ र त्यही पनि…(गला अवरुद्ध) । राष्ट्रलाई उहाँजस्तो ज्ञानी मान्छेको खाँचो थियो । उहाँ अझै केही वर्ष रहनुपथ्र्यो । देशलाई धेरै कुरा दिन सक्नुहुन्थ्यो ।

साथीलाई आज निकै मिस गरेको छु । उहाँको निधनको खबरले म एकदमै स्तब्ध भएको छु, केही बोल्न पनि सकेको छैन ।

हामीले निकट भविष्यमै इन्स्ट्रुमेन्टल गाना गर्ने योजना बनाएका थियौं । बम्बैमा एउटा मेलोडी गीतको इन्स्ट्रुमेन्टल भएको थियो । सुभाषजीले मेरो पनि एउटा इन्स्ट्रुमेन्टल मेलोडी निकाल्नुपर्छ भन्नुहुन्थ्यो । त्यो पनि गरुँला भनेको थिएँ मैले ।

फेरि पनि बम्बै घुम्न जाम्ला सँगै भन्ने गफ हुन्थ्यो । त्यतातिर मेरा परिचित धेरै थिए र उहाँले पनि चिन्ने साथीहरु पनि छन् । बम्बै जाम्ला भन्नुहुन्थ्यो । अब यस्तै भयो ।

जहाँसम्म सेक्सोफोन वाद्यवाधनको चर्चा छ, सेक्सोफोन त धेरैले बजाउनुहुन्छ । सबै जना उत्तिकै उत्कृष्ट हुनुहुन्छ । उहाँकै ज्वाइँ अमूल कार्की ढली पनि उत्तिकै मीठो बजाउनुहुन्छ । उहाँको फ्यामिलीमा सबैले सेक्सोफोन बजाउँछन् ।

तर शुभबहादुरजीले सेक्सोफोन बजाउनुहुन्छ नि त्यो अर्कै छ । पाश्चात्य संगीत, भजन भन्नुस् जहाँ पनि हृदयदेखि बजाउनुहुन्छ । फिल गरेर बजाउनुहुन्छ उहाँले । बजाउनु मात्र होइन कि फिल गर्नुहुन्छ ।

उहाँले जेन्टलम्यान, सरल, कसैलाई मन नदुखाउने, अलिकति ठट्टासट्टा पनि रमाइलै गर्नुहुन्थ्यो । कसैलाई पनि चित्त नदुखाउने मान्छेमा पर्नुहुन्थ्यो । उहाँले मलाई शम्भुजीतजी भन्नुहुन्थ्यो, म शुभबहादुरजी भन्थें ।

मैले उहाँलाई लगभग २०३१ सालतिर चिनेको हो । त्यसपछि हामी आदर गर्थ्यौं र सहकार्य पनि गर्‍यौं । मन परेपछि उहाँले मेरा धेरै गीतको एरेन्जमेन्ट गर्दिनुभयो । उहाँले मेरा मीठा गीतहरु जस्तो नारायण गोपालको गीत गर्दिनुभएको छ ।

नारायणगोपालका गीतमा एरेन्जमेन्ट गर्नुभएको छ । नारायणगोपालले गाउनुभएका पर्खिबसें र तिमीले भनेका सारा देव छोएर गीतमा एरेन्ज गर्नुभएको छ । नीर शाहले लेखेको विनोद चौधरीका चार–पाँच गीतको एल्बम जसलाई कलकत्तामा रेकर्ड गरिएको थियो त्यहाँ एरेन्ज गर्नुभएको छ ।

उहाँले पाश्चात्य गीत जाने पनि सिके पनि नेपाली सुगम संगीतलाई मान्यता दिनुहुन्थ्यो । नेपालमा वेस्टर्न र इस्टर्न संगीततिर ढल्केका संगीतकारहरु धेरै देखिन्छन्, तर शुभबहादुरजी यी सबैको ज्ञान भएर पनि नेपाली संगीतमा अगाध लगाव दिने संगीतकारमा पर्नुहुन्छ ।

म उहाँको निधन सांगीतिक क्षेत्रको लागि ठूलो क्षति भन्छु । उमेर पुगेका स्रष्टा सबै जान्छन् र हामी पनि एकदिन जानुपर्छ । तर उहाँले अझै केही कुरा दिन सक्नुहुन्थ्यो राष्ट्रलाई । हामीले मिस गर्‍यौं, क्षति भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?