+
+

हत्या आरोपमा २० वर्ष जेल सजाय पाएका अभियुक्त ९ वर्षमै छुटे

फूलमाला र अबिरले स्वागत

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असोज ३ गते १८:१६

३ असोज, वीरगञ्ज । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषि ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी रिहा भएका छन् ।

२० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै संविधान दिवसका अवसरमा माफी पाएर रिहा भएका हुन् ।

वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका उनले ४० प्रतिशत कैद सजाय भुक्तानी गरेको वीरगञ्ज कारागार प्रमुख मदन घिमिरेले जानकारी दिए ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार ९९८ जना कैदीलाई आममाफी दिएको थियो । जसमा वीरगञ्ज कारागारबाट रिहा भएका एक जना प्यासी पनि हुन् ।

‘चाल चलन असल भएका कैदीबन्दीलाई आम माफीका लागि माथिल्लो निकायमा सिफारिस गर्ने चलन छ’, उनले भने ‘सोही अनुसार वीरगञ्ज कारागारबाट विभिन्न मुद्दामा जेल सजाय काटिरहेका ६ जना महिला सहित ३८ जना रिहा भएका छन् । प्यासीले ४० प्रतिशत कैद सजाय भुक्तान गरेका थिए ।’

फूलमालाले स्वागत

कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भुक्तान गरेर रिहा भएका प्यासीलाई उनको समर्थकले भव्य स्वागत गरेका छन् । सोमबार दिउँसो कारागारबाट रिहा भए लगत्तै उनका समर्थकले उनलाई खादा, अबिर र माला लगाएर स्वागत गरेका हुन् । कारागार कार्यालयको गेट बाहिर उनको स्वागतका लागि सयौं मानिसहरु भेला भएका थिए ।

दोस्रो पटक संविधान सभाको निर्वाचन हुँदा बारा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट संविधान सभा सदस्यमा महमुद आलमले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गरेको भोलिपल्ट २०७० असोज १८ गते शुक्रबार महमुद आलममाथि परवानीपुरको चावासोती दालमिल अगाडि गोली प्रहार भएको थियो ।

गम्भीर घाइते अवस्थामा आलमलाई उपचारका लागि काठमाण्डौंको टिचिङ अस्पतालमा लगिएको थियो । २०७० असोज २४ गते उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

एमाले निकट मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलम हत्या घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गरेको थियो । अनुसन्धानको क्रममा प्यासीको संलग्नता देखिएपछि उनलाई प्रहरीले १० कात्तिकमा पक्राउ गर्‍यो ।

हत्या अभियोगमा प्यासी पक्राउ परेपछि नेकपा एमाललेले प्यासीलाई पार्टीबाट निष्काशन गरेको थियो ।

प्यासीले नै महमुदलाई राजनीतिमा ल्याएका थिए । उनीहरु अपराधिक गतिविधिमा समेत संलग्न रहेको प्रहरीको दावी छ । आफूलाई उछिनेर आलम अघि बढ्न थालेपछि प्यासीले आलम हत्याको योजना बुनेको प्रहरीले बताएको थियो । आलमको हत्यापछि २०७० को संविधानसभा निर्वाचनमा एमालेले उनकी पत्नी नेजमा खातुनलाई उम्मेदवार बनाएको थियो । आलम पत्नी नेजमा निर्वाचित पनि भएकी थिइन् ।

२०७३ वैशाख १५ गते बारा जिल्ला अदालतले प्यासीलाई १० वर्षको जेल सजाय सुनाएको थियो । अदालतको फैसलाबाट असन्तुष्ट नेजमा र उनका समर्थकले न्यायधीश माथि नै दुर्व्यवहार समेत गरेका थिए ।

जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै आलम पत्नी नेजमाले २०७३ कात्तिक ५ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन गरेकी थिइन् ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले प्यासी आलमको हत्याका मुख्य योजनाकार रहेको ठहर गर्दै मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसला सुनायो ।

आलमको हत्यामा संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने विपिन यादवलाई भने अदालतले १० बर्ष जेल सजायको फैसला सुनाएको थियो ।

राजनीतिक प्रभावमा अपराधीलाई छोड्नु गलत : आलम परिवार

आलम परिवारले भने महमुद आलमको हत्याका मुख्य योजनाकार प्यासीले पुरा कैद भुक्तानी नगर्दै रिहा गर्नु दुःखद भएको बताएका छन् ।

‘मेरो श्रीमानलाई मारिदियो, बालबच्चालाई टुहुरो पारिदियो’, आलमकी श्रीमती तथा संविधान सभा सदस्य नेजमा खातुनले भनिन्, ‘२० वर्ष कैद सजाय पाएको व्यक्तिलाई ९ वर्ष नपुग्दै किन आम माफि दिइयो, यो सरासर अन्याय हो, हामीले न्याय पाउनुपर्छ ।’

महमुदका छोरा मोबिन आलमले राजनीति घिनलाग्दो हुँदा हत्याराले यति छिट्टै उन्मुक्ति पाएको बताए । ‘बुवाको हत्यापछि न्यायलयप्रति विश्वास गरेर कानुनी उपचार खोज्यौं, अदालतले न्याय पनि दिएको हो’, उनले भने, ‘तर राजनीति यति घिनलाग्दो देखियो, राजनीतिक प्रभावमा बुवाको हत्यारालाई कैद भुक्तान नै नगरी बाहिर छोडियो ।’

अहिले आएर आफूहरुले एक्लो महशुस गरिरहेको उनको भनाइ छ । ‘बुवाको हत्यापछि उहाँको सपना पूरा गर्न जागिर छोडेर म राजनीतिमा आएँ’, उनले भने, ‘अहिले हाम्रो साथमा हुनुहुन्न । तर अपराधी बाहिर घुमिरहेको छ । मान्छेको ज्यान कति सस्तो देखियो । अहिले एक्लो महशुस भइरहेको छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?