+
+

महिला फुटबल : ‘फाइनल जिंक्स’ तोड्न नेपाल असफल, १० फाइनल १० हार

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज ३ गते २१:२५
नेपाल र बंगलादेशबीको फाइनल खेल ।

३ असोज, काठमाडौं । बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ ।

संविधान दिवसका दिन १६ हजार समर्थकमाझ उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो ।

नेपाली महिला फुटबलको ३६ वर्षे अन्तर्राष्ट्रिय इतिहासमा राष्ट्रिय टिम फाइनलमा पराजित भएको यो १० औं पटक हो ।

नेपालले सन् १९८६ मा हङकङमा भएको एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रियस्तरमा डेब्यू गरेको हो । नेपालले सन् १९८९ र १९९९ मा पनि एसियन च्याम्पियनसिप खेलेको थियो ।

तर त्यसपछिको एक दशक नेपाली महिला फुटबल शुन्य अवस्थामै रह्यो ।

सन् २०१० देखि साफ महिला च्याम्पियनसिप सुरु भयो र त्यही वर्ष दक्षिण एसियाली खेलकुद (साग)मा पनि महिला फुटबल समावेश गरियो । यही दुई प्रतियोगिताबाट नेपाली महिला फुटबलमा अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेको हो ।

तर १२ वर्षे साफ महिला फुटबलको इतिहासमा नेपाल उपाधि विहीन रहँदै आएको छ ।  यसअघिका ४ पटक फाइनलमा भारतसित पराजित भएको नेपाल यो पटक बंगलादेशसँग पराजित भयो ।

फाइनल खेलेका बंगलादेश र नेपालले भारतलाई पराजित गर्दै दक्षिण एसियामा उसको दबदबा तोडेका थिए । समूह चरणमा बंगलादेशसँग पराजित भएको भारत नेपालसँग हारेपछि पहिलो पटक सेमिफाइनलबाटै बाहिरियो ।

साफ च्याम्पियनसिपमा यसअघि २५ खेलमा अपराजित रहेको भारत यस पटक एकै संस्करणमा दुई खेल गुमाउन पुग्यो ।

दशौं फाइनल हार

उपविजेता बनेको नेपाली टिम । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

नेपालको महिला टिमले भाग लिएको लगभग सबैजसो प्रतियोगिताको फाइनल पुगेको छ । तर फाइनलमा यसअघि भारत लगातार तगारो बन्दा नेपाललाई सदावहार उपविजेताको ट्याग नै लागेको थियो ।

यस पटक बंगलादेशसँग पराजित भएपछि नेपालले त्यो उपविजेताको ट्याग हटाउन सकेन ।

१०‌ औं फाइनलमा पराजित भएको नेपाल अहिलेसम्म भारतसँग ७ पटक तथा बंगलादेश, म्यानमार र उज्वेकिस्तानसँग एक–एक पटक हार व्यहोरेको छ ।

साफ महिला च्याम्पियनसिप होस वा दक्षिण एसियाली खेलकुद जहाँ पनि भारत नेपालको बाधक बनिरहेको इतिहास छ । दक्षिण एसिया बाहेक बाहिर पनि नेपालले एक प्रतियोगिता (नादेज्दा कप) खेलेको थियो । त्यस प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानसँग पराजित भयो ।

सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपाल यसअघि भारतसँग चार पटक पराजित भएको थियो । २०१० मा १–० ले, २०१२ मा ३–१ ले, २०१४ मा ६–० ले र २०१९ मा ३–१ ले भारतसँग पराजित भएको थियो ।

यस्तै २०१० देखि नै साग महिला फुटबलमा नेपाल भारतसँग तीन पटक पराजित भएको थियो । २०१० मा बंगलादेशमा भएको ११औं सागमा नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो ।

सन् २०१६ मा भारतमै भएको १२औं सागमा नेपाल फाइनलमा भारतसँग ४–० ले पराजित भएको थियो भने २०१९ मा नेपालमै भएको १३औं सागमा नेपाल फाइनलमा २–० ले पराजित भएको थियो ।

२०१९ मा चार फाइनल, चार हार

सन् २०१९ मा नेपाली राष्ट्रिय महिला टिमले चार अन्तर्राष्ट्रिय फाइनल खेल्दा सबैमा हार बेहोरेको थियो । मार्चमा विराटनगरमा भएको पाँचौ साफ महिला च्याम्पियनसिप र डिसेम्बर महिनामा पोखरामा भएको १३औं सागमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।

त्यसअघि २०१९ कै फेब्रुअरीमा नेपालले भारतमा हिरो वुमन्स गोल्डकप खेलेको थियो । जहाँ भारतलाई उसैको भूमिमा पहिलो पटक हराएर ऐतिहासिक जित निकालेको थियो । तर, फाइनलमा नेपालको प्रतिद्वन्दी भने भारत थिएन ।
चार टिम सहभागी प्रतियोगितामा म्यानमार र नेपाल शीर्ष दुईमा रहेर फाइनल पुगेका थिए । नेपाल फाइनलमा म्यानमारसँग ३–१ ले पराजित भएको थियो ।

यस्तै २०१९ सेप्टेम्बरमा नेपालले कीर्गिस्तानमा नादेज्दा कप खेलेको थियो । जसमा नेपालसहित उज्वेकिस्तान, कीर्गिस्तान र ताजिकिस्तानले भाग लिएका थिए । लिग चरणमा शीर्ष दुईमा रहँदै उज्वेकिस्तान र नेपाल फाइनल पुगे । फाइनलमा नेपालले उज्वेकिस्तानसँग ३–२ पराजय ब्यहोरेको हो । उक्त खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् ।

नेपालको मिहला टिमले अहिलेसम्म खेलेको फाइनल

साफ महिला च्याम्पियनसिप

२०१० फाइनलः भारतसँग १–० ले पराजित
२०१२ फाइनलः भारतसँग ३–१ ले पराजित
२०१४ फाइनलः भारतसँग ६–० ले पराजित
२०१९ फाइनलः भारतसँग ३–१ ले पराजित
२०२२ फाइनलः बंगलादेशसँग ३–१ ले पराजित

दक्षिण एसियाली खेलकुद (साग)
२०१० फाइनलः भारतसँग ३–१ ले पराजित
२०१६ फाइनलः भारतसँग ४–० ले पराजित
२०१९ फाइनलः भारतसँग २–० ले पराजित

२०१९ हिरो वुमन्स गोल्डकप
फाइनलः म्यानमारसँग ३–१ ले पराजित

२०१९ नाजेज्दा कप
फाइनलः उज्वेकिस्तानसँग ३–२ ले पराजित

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?