News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी युवा खेलाडी करिना पुरी फिफाको \'एक्जिक्युटिभ प्रोग्राम इन एन्टी–डोपिङ\' मा छनोट हुने विश्वका २८ जनामध्ये एक भएकी छिन्।
- करिना पुरी फिफाको एन्टी–डोपिङ कार्यक्रममा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् ।
- उनले खेलाडी र प्रशिक्षकलाई सचेतना दिने र नीति सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
२१ असोज, काठमाडौं । नेपालकी युवा खेलाडी करिना पुरीले अन्तर्राष्ट्रिय खेल प्रशासनको महत्वपूर्ण क्षेत्रमा नयाँ इतिहास रचेकी छिन्। संकटा फुटबल क्लबकी खेलाडी र कानून विद्यार्थी पुरी फिफाको ‘एक्जिक्युटिभ प्रोग्राम इन एन्टी–डोपिङ’ मा छनोट हुने विश्वका २८ जनामध्ये एक भएकी छिन्। यो कार्यक्रममा सहभागी हुने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्।
फिफाको यो कार्यक्रम खेलमा हुने डोपिङ नियन्त्रणका लागि विश्वका प्रमुख पहलहरूमध्ये मानिन्छ। सहभागीहरूले वर्ल्ड एन्टी–डोपिङ कोड, परीक्षण प्रक्रिया, प्रतिबन्ध, खेलाडी अधिकार, र अन्तर्राष्ट्रिय नियमनबारे व्यावहारिक प्रशिक्षण पाउँछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का एक वरिष्ठ अधिकृतले भने, ‘करिनाको छनोट नेपालका लागि गर्वको कुरा हो। यो केवल व्यक्तिगत सफलता होइन, देशको खेल क्षेत्रमा नयाँ अध्याय हो।’
२३ वर्षीया करिना केवल फुटबलर होइनिन्। उनले हत्तिबनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षण लिएकी थिइन् र एशियन गोजुर्यु कराते प्रतियोगितामा दुई स्वर्ण जितिसकेकी छन्। अहिले कानून अध्ययन गर्दै गरेकी उनी खेल र कानूनी ज्ञान दुवै क्षेत्र जोड्न सक्षम छिन्।
नेपालमा हालसम्म प्रमाणित एन्टी–डोपिङ विशेषज्ञ नहुनु खेल क्षेत्रमा ठूलो कमजोरी मानिन्छ।
नवौं राष्ट्रिय खेलकुदमा संकलित डोपिङ नमुना विदेश पठाइयो तर केही नतिजा अझै सार्वजनिक भएका छैनन्। सन् २०२२ मा पाँच तौलउठाउने खेलाडीमा डोपिङ पोजिटिभ पाइएको थियो, तर मन्त्रालयले कुनै आधिकारिक जानकारी दिएको थिएन। प्रतिबन्धित खेलाडीका लागि पुनर्वास कार्यक्रम पनि छैन।
नेपालले सन् २०१० मै युनेस्कोको एन्टी–डोपिङ कन्वेन्सन अनुमोदन गरे पनि यसको पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन।
खेल विज्ञहरूले करिनाले नेपालमा एन्टी–डोपिङसम्बन्धी आशा जगाएको टिप्पणी गरेका छन्। ‘उनी संघर्ष र क्षमताले देशलाई विश्वस्तरको छलफलमा पुर्याउन सक्छ भन्ने कुराको प्रमाण हुन्’ उनीहरूको भनाइ छ ।
फिफाको प्रशिक्षणपछि उनी खेलाडी र प्रशिक्षकहरूलाई सचेतना दिने, संघहरूलाई सहयोग गर्ने र नीति सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4