News Summary
Generated by OK AI. Editorially reviewed.- एनवाईसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ मा अमेरिकाको क्वीन्समा आयोजना हुने भएको छ।
- आइएमए निहोन कराते डो युएसाका संस्थापक सिहान शान्त थोकरले यो च्याम्पियनसिपले सबै उमेर र स्तरका कराते खेलाडीलाई एकै ठाउँमा ल्याउने बताए।
- च्याम्पियनसिपमा ६६ क्याटगोरीमा प्रतिस्पर्धा हुनेछ र कुल ५ सय २८ पदक प्रदान गरिनेछ, जसमा २ हजार अमेरिकी डलर नगद पुरस्कार राखिएको छ।
२१ असोज, काठमाडौं । एनवाईसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ मा हुने भएको छ । आइएमए निहोन कराते डो युएसएले गत वर्षदेखि यो च्याम्पियनसिप आयोजना गर्न सुरु गरेको हो ।
‘हामी आज यो घोषणा गर्न पाउँदा हर्षित छौ । ‘एनवाईसी क्वीन्स कराते च्याम्पियनसिप २०२५’ नोभेम्बर २३ तारिख आइतबारका दिन हुनेछ,’ आइएमए निहोन कराते डो यूएसएका संस्थापक, प्रमुख प्रशिक्षक तथा च्याम्पियनसिप निर्देशक सिहान शान्त थोकरद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘अमेरिकाको न्युयोर्क राज्यको क्वीन्समा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एकताबद्ध गर्न यो हाम्रो दोस्रो प्रयास हो,’ विज्ञप्तिमा थोकरले भनेका छन्, ‘यो प्रिमियर मार्शल आर्ट कार्यक्रमले संयुक्त राज्य अमेरिका र विदेशबाट सबै उमेर र स्तरका कराते खेलाडीहरूलाई एकै ठाउँमा ल्याउने छ।’
च्याम्पियनसिप क्विन्सको कोरोना स्थित नर्दर्न ब्यु वर्डमा रहेको एल्मकोर सेन्टरमा हुने छ । च्याम्पियनसिपको अघिल्लो दिन नोभेम्बर २२ तारिख शनिबार रेफ्री सेमिनार हुने जनाइएको छ ।
सेमिनारमा विश्व कराते महासंघ डब्लुकेएफका रेफ्री सेड्रिक बार्क्सडेलले प्रशिक्षण दिने छन् । ‘सेमिनारले रेफ्रीको स्तर बढाउनेछ र प्रतिस्पर्धामा निष्पक्षता र व्यावसायिकता सुनिश्चित गर्नेछ भन्ने हाम्रो अपेक्षा छ’ थोकरले भने, ‘च्याम्पियनसिपले उच्च स्तरको करातेको एक रोमाञ्चक दिनको प्रतिक्षा गर्दछ ।’
च्याम्पियनसिपमा कुल ६६ क्याटगोरीमा प्रतिस्पर्धा हुने छ । १०–११ वर्ष देखि १८ वर्ष माथि पुरुष महिला दुबैमा एड्भान्स काता र कुमिते डिभिजनका लागि दुई हजार अमेरिकी डलर नगद पुरस्कार राखिएको छ । यस्तै ५ वर्ष देखि ४५+ वर्ष उमेरका लागि काता र कुमितेमा प्रतिस्पर्धा गराइने छ ।
च्याम्पियनसिपमा कुल पाँच सय २८ पदक प्रदान गरिनेछ । जसमा स्वर्ण र रजत एक सय ३२ हुने छन् । यस्तै दुई सय ६४ कास्य पदक पनि प्रदान गरिने छ।
प्रतिक्रिया 4