+
+
सन्तोष सेनको अन्तरंग कथा :

‘प्रदीपलाई हिरो बनाउने भएपछि सिन्धुपाल्चोकमा खसी भोज खाइयो’

घाटैघाटाको शृंखलामा पनि सन्तोष सेन अविचलित थिए । उनी जति दृढताका साथ पाइला चाल्दै थिए, त्यसले एउटा सुखद् दिनको संकेत गरिरहेको थियो ।

शिव मुखिया शिव मुखिया
२०७९ असोज ५ गते १३:१८

काठमाडौं । त्यो बखत । अर्थात् लुट, कबड्डीहरुले सिनेमाको मानक र मानचित्र बदल्दै गरेको बेला । एक जोसिला युवा कतैबाट फुत्त पदार्पण हुन्छन् र गर्विलो उद्घोष गर्छन्, ‘म फलानो फिल्म बनाउँदैछु, जसको अनुमानित बजेट ८० लाख रुपैयाँ छ ।’

फिल्म बन्ने प्रसंगले भन्दा पनि ‘८० लाख’को कुराले चलचित्रवृत्तमा एउटा छाल उठ्छ, मानौं लामो सन्नाटापछि समुद्री किनारमा तुफानी लहर उर्लेकोे छ । मान्छेहरु मुखामुख गर्छन्, ‘ठूलै मुर्गा फेला परेछन् ।’

‘मुर्गा’ । खासगरी सिनेमा क्षेत्रमा प्रचलित यो एक यस्तो गोप्य शब्दावली हो, जसले ‘निर्माता’ बन्नका खातिर अन्धधुन्ध पैसाको बिटो झार्ने मनुवालाई इंगित गर्छ । यिनीहरुलाई सुनौलो स्वप्नलोकमा सयर गराइन्छ र वेपत्तासँग थाङ्नोमा सुताइन्छ । थाहा छैन, नेपाली सिनेमा क्षेत्रले ६ दशक लामो यात्रामा कतिलाई मुर्गा बनायो र फेरि नर्फकने गरी लाखापाखा लगाइदिए ।

तर सन्तोष सेन पाखा लागेनन् ।

किनभने सिनेमा उनको लागि द्रव्य लाभ गर्ने मेलो मात्र थिएन, युवाकालको रुमानी सपनालाई ब्युँताउने धरातल पनि थियो । यो आलोकमा उनी यति दृढ पाइला चाल्ने यत्नमा थिए, जसलाई मामुली हुरीले हल्लाउन नसकोस् । जबकि सिनेमाका लागि उनी फगत आलोकाँचो आगन्तुक जो थिए ।

प्रेमगीतबाट ४० लाख रुपैयाँ घाटा भयो । जब ‘प्रेमगीत २’ प्रदर्शनको पालो आयो, उनको नौनाडी गल्यो । अनेक झमेला, अनेक दाउपेच, अनेक हल्लाबाजी । यतिबेला उनको मन साँच्चै विरक्तिएको थियो, ‘अब फिल्म-सिल्म छाडेर पुरानै कामधन्दामा लाग्नुपर्ला ।’

खल्तीभरि पैसा बोकेर ‘निर्माता बन्छु’ भन्दै काठमाडौं सहरमा घुमिहिंड्दा सिनेमाको ताजा-ताजा प्लट बोकेर कथा सुनाउनेहरु कति आए होलान् ? क्याल्कुलेटर थिचेरै सिनेमामा गरिने लगानीबाट आर्जन हुने मुनाफाको हिसाब-किताब देखाउनेहरु कति भेटिए होलान् ? अनायास आर्जन हुने ‘नेम र फेम’को मोहनीमन्त्र बाँड्नेहरु कति थिए होलान् ?

सन्तोष सेन यी सबै मोह, महत्वाकांक्षा र भ्रमको दलदलमा उचालिंदै-पछारिंदै थिए । सिनेमाको गोलचक्करमा एक फन्को मारिसकेपछि उनलाई लाग्न थालेको थियो, साँच्चै सिनेमा बनाउने हो भने खारिएका निर्देशक र माझिएका कलाकार नै लिनुपर्छ ।

त्यसक्षण उनले निश्चल बस्नेतलाई सम्झिए, जो ‘लुट’ जस्ता सिनेमा बनाएर कुशल निर्देशकका रुपमा लाहाछाप लगाइसकेका थिए । तर निश्चिलले भने, ‘म अहिले अरुतिर व्यस्त छु ।’

त्यसक्षण उनले अनमोल केसीलाई सम्झिए, जसको मोल उल्कै बढेको थियो । उनैलाई लिएर मुस्ताङमा ट्राभल लभस्टोरी गर्ने मनसाय लिएर सन्तोष सेन अनमोलको घर पुगे । सुरुमा अनमोलले खेल्छु भन्ने संकेत दिए । पछि ‘खेल्न सक्दिनँ’ भने ।

त्यसक्षण उनले दयाहाङ राईलाई सम्झिए, जो करिअरको उत्कर्षमा थिए । नयाँ फिल्मको प्रस्ताव बोकेर उनी दयाहाङकहाँ पुगे । तर दयाहाङले आफ्नो बेफुर्सदिलो तालिका देखाउँदै भने, ‘अहिले नै त भ्याइएन हौ ।’

अन्ततः घुम्दैफिर्दै उनी ठोक्किन पुगेका थिए, सुदर्शन थापासँग ।

सुदर्शनले भनेका थिए, ‘मैले बनाएको फिल्म डुब्यो भने पनि धेरैमा १५ लाख घाटा लाग्न सक्छ । नाफा भयो भने १५-२० लाख तपाईंको खल्तीमा आउँछ ।’ सन्तोषलाई उनको कुरा मनासिव लागेथ्यो । र, उनले सिनेमा बनाए, चंखे शंखे पंखे ।

सिनेमा सार्वजनिक भएपछि सन्तोषलाई यस्तो तत्वज्ञान प्राप्त भयो, ‘जुवामा नारिएको गोरु जस्तो दायाँबायाँ नहेरी एकोहोरिएपछि सिनेमाबाट पैसा नआउने रहेछ ।’

फिल्म प्रेमगीत ३ प्रचारका लागि मुम्बईमा सन्तोष सेन, क्रिष्टिना गुरुङ र प्रदीप खड्का

सिनेमा डुबिरह्यो, उनी दौडिरहे 

ब्रुनाईबाट फर्केपछि सन्तोषसँग मनग्य पैसा थियो । र, पैसासँगै सपना पनि । सपना थियो, सिनेमा बनाउने ।

संयोगले भेट भयो प्रेम पुरी भन्ने साथीसँग । उनलाई सिनेमाप्रति औधी लगाव रहेछ । एकाध सिनेमामा सहायक भूमिका निभाइसकेका । उनले सन्तोषलाई सिनेमा बनाउने गुरुमन्त्र मात्र दिएनन्, निर्देशक पनि भेटाइदिए । सिनेमाको काम सुरु भयो । कथा लेखिए, पात्र छानिए, लोकेसन हेरिए, गीत रेकर्ड गरिए, वर्कसप चलाइए । तर, सन्तोषलाई यस्तो तालले सिनेमा बन्दैन भन्ने लागेपछि त्यसको मध्यान्तरमै पटाक्षेप भयो ।

त्यसपछि नै हो सिनेमाको रहरले डोहोर्‍याउँदै उनलाई सुदर्शन थापासम्म पुर्‍याएको । उनीसँगको सहकार्यमा सन्तोषले ‘चंखे शंखे पंखे’ बनाए । ८० लाख रुपैयाँमा बनाउने भनिएको सिनेमामा एक करोडमाथि खर्च भयो । प्रचारप्रसारमा बेग्लै खर्च ।

‘चंखे शंखे पंखे’ प्रदर्शन भएकै थिएन, सन्तोष भने मुस्ताङ उक्लिसकेका थिए, ‘प्रेमगीत’ बनाउन । पुरानै टिम लिएर ।

‘चंखे शंखे पंखे’को प्रदर्शनको मुखैमा उनी मुस्ताङबाट काठमाडौं ओर्लिए, पब्लिसिटीका लागि । तर सिनेमामा चिनिएका अनुहार ‘प्रेमगीत’कै छायांकनमा व्यस्त थिए । उनलाई कसले चिन्ने ?

जसै सन्तोष प्रचारमा हिंड्थे, मान्छेहरु उनलाई निर्माता कम र मुर्गा बढी भन्ठान्थे ।

आखिर सिनेमा प्रदर्शनमा आयो । त्यसै दिन उनको तन्द्रा भंग भयो । उनलाई बोध भयो, ‘मलाई त फिल्मको ‘फ’ पनि थाहा रहेनछ ।’

कसरी सिनेमा चल्छ ? कति हल र पर्दा पाउँछ ? कति शो दिइन्छ ? प्रति शो प्राप्त हुने रकमको बाँडफाँड कसरी हुन्छ ? सिनेमा हेर्ने दर्शकको गणना कसले गर्छ ? सन्तोषले कुनै भेउ पाउन सकेका थिएनन् ।

एक करोड रुपैयाँ बढी खर्चिएको सिनेमाबाट जम्माजम्मी ९ लाख रुपैयाँ फिर्ता आयो । यो रकम उनले ‘प्रेमगीत’को प्रमोसनलाई भनेर थन्काए ।

‘प्रेमगीत’ बनाइरहँदा सन्तोषले अनुभव गरे, यहाँ सिनेमा मेकिङमा मात्र पैसा खर्चिएर नपुग्ने रहेछ । चाहिने-नचाहिने उपकरणको खर्च बेग्लै, चाहिने-नचाहिने कस्ट्युमको खर्च बेग्लै । त्यसमाथि ‘पब्लिसिटीका लागि’ भन्दै आउने तथाकथित मिडियालाई खर्च बेग्लै । यसरी कुल खर्च लाग्यो, एक करोड ७० लाख ।

अन्ततः ‘प्रेमगीत’ प्रदर्शन भयो । तर यहीबेला सिनेमा पाइरेसी भइदियो । प्रेमगीतबाट ४० लाख रुपैयाँ घाटा भयो । जब ‘प्रेमगीत २’ प्रदर्शनको पालो आयो, उनको नौनाडी गल्यो । अनेक झमेला, अनेक दाउपेच, अनेक हल्लाबाजी । यतिबेला उनको मन साँच्चै विरक्तिएको थियो, ‘अब फिल्म-सिल्म छाडेर पुरानै कामधन्दामा लाग्नुपर्ला ।’

त्यसबेला सन्तोष सेन आफ्ना टोलीसहित सिन्धुपाल्चोकमा थिए । विनासकारी भूकम्पपछि उनीहरु त्यहाँ राहत लिएर पुगेका थिए । कुरैकुरामा प्रदीपको कुरा निस्कियो । उनीहरुले प्रदीपलाई नै हिरोमा लिने पक्कापक्की गरे । अनि त्यो खुसीमा उनीहरु एउटा घोर्ले खसी किने र मस्त भोज खाए ।

यसरी बिजारोपण भएको थियो ‘प्रेमगीत ३’

खप्तड स्वामी भन्छन्, ‘सफलताका लागि तीन कुराको आवश्यक हुन्छ- दृढ संकल्प, आत्मविश्वास र निरन्तरको प्रयास ।’

यो घाटैघाटाको शृंखलामा पनि उनी अविचलित थिए । उनी जति दृढताका साथ पाइला चाल्दै थिए, त्यसले एउटा सुखद् दिनको संकेत गरिरहेको थियो ।

जसोतसो प्रेमगीत २ प्रदर्शनमा आयो । यसको निर्माणमा उनले एक करोड ९० लाख खर्चिएका थिए । कुल कमाइ भयो, २ करोड ७० लाख रुपैयाँ । जम्माजम्मी ८० लाख मुनाफा भयो । यही पैसा खर्चिएर सन्तोषले एउटा सिनेमा बनाउने निधो गरे । सौतेनी आमाको कथालाई लिएर यसको मोटामोटी खाका तयार गरियो । नाम जुराइयो, मेरी मामु । अधकल्चो कथा लिएर उनी पुगे, छेतेन गुरुङकहाँ ।

त्यही ताका छेतेनले एउटा घतलाग्दो कथा सुनाएका थिए, सन्तोषलाई । सयौं वर्षअघिको एक हिमालय गाउँको कथा । मेरी मामुको काम सुरु हुँदै गर्दा सन्तोषको मथिंगल भने छेतेन गुरुङले सुनाएको कथामा चक्कर लगाइरह्यो । आखिरमा त्यही कथालाई थपथाप गरेर अर्को सिनेमा बनाउने योेजना बन्यो, प्रेमगीत-३ । तर छेतेन गुरुङले हिम्मत गर्न सकेनन् । यसकारण कि उक्त कथामाथि सिनेमा बनाउन सामान्य तयारी र बजेटले पुग्दैनथ्यो ।

सन्तोषले हिम्मत जुटाएर भने, ‘भगवानले तँ आँट, म पुर्‍याउँछु भन्छन् रे । एकपटक आँट गरौं ।’ सन्तोषको यस्तो हिम्मतले छेतेनको मन तंग्रियो । उनी पनि जोसिए ।

मुख्य भूमिकाका लागि प्रदीप खड्का लिने भइयो । त्यसबेला प्रदीप ‘लभ स्टेसन’को दौडधुपमा थिए । प्रदीपलाई बोलाएर भनियो, ‘एउटा गज्जब ऐतिहासिक कथामा सिनेमा बनाउन लागेका छौं ।’ उनी पनि सुरुमा झस्किए । प्रदीपले भने, ‘अलि ठिक्कको बजेटमा बनाऔं, धेरै खर्च नगर्नु ठीक होला ।’

सन्तोषले भने ३-४ करोड रुपैयाँ लगानी गर्ने मनस्थिति बनाइसकेका थिए । आखिरमा सन्तोषको आत्मविश्वासले जित्यो । सबै जना ‘प्रेमगीत-३’ का तयारीमा जुटे ।

छायांकनको लागि सुटिङ युनिट मनाङतिर उक्लिंदै गर्दा हिमपात सुरु भइसकेको थियो । त्यहाँका बासिन्दा बेंसीतिर झर्दै थिए । बेंसी झर्दै गरेका स्थानीयको लस्कर र सन्तोष सेनको टोलीबीच बाटोमा जम्काभेट हुन्थ्यो । उनीहरु भन्थे, ‘हामी ज्यान बचाउन बेंसीतिर झर्दैछौं । कसरी तिमीहरु माथि बस्न सक्छौं ?’

स्थिति कस्तो पनि थियो भने दिउँसो २ बजेपछि घाम नलाग्ने । त्यसैले त्यस अवधिसम्म सबै तम्तयारी गरेर छायांकन भ्याइसक्नुपथ्र्यो । उनीहरु बिहान सबेरै उठ्थे र त्यो चिसो ठिहींमा तात्तातो चिया घुट्क्याएर छायांकनस्थलमा पुग्थे । निर्माण टिमबीच एकदमै राम्रो सहकार्य र हार्दिकता थियो । सबैले आ-आफ्नो जिम्मेवारी पूर्णताका साथ निर्वाह गरेका थिए ।

त्यही बखत टिमकै राजु श्रेष्ठलाई अचानक समस्या भयो । रातभर सन्तोष र प्रदीपले उनलाई सम्हालेर बसे । बिहान हिमपात रोकिनासाथ उनलाई लिएर निर्माण टोली काठमाडौं फर्किए । उनको मुटुको भल्ब फुटेको रहेछ ।

छेतेन गुरुङको दुःखान्त

एक महिनापछि निर्माण टोली फेरि मनाङतर्फ उक्लियो । मनाङ जाँदै गर्दा छेतेन गुरुङ थाकिसकेका थिए । उनले भने, ‘सन्तोष प्लिज म यो गर्न सक्दिन । निर्देशक अरुलाई नै राखौं ।’

तर सन्तोषको दृढता चानचुने थिएन । उनले छेतेनलाई थमथमाए, ‘मैले विश्वास गरेको हजुरलाई नै हो । के सहयोग चाहिन्छ म तयार छु । तपाईं पटक्कै हरेस नखानुहोस् ।’

यसको कथा तयार गर्दादेखि नै सन्तोष हरक्षण संलग्न थिए । प्लट, संवाद, दृश्यांशको विभाजन, क्यामेरा एंगल, कम्पोजिसन सबैमा उनको चासो थियो । बेलाबखत उनी निर्देशकलाई रचनात्मक सुझाव दिने गर्थे ।

फिल्म प्रेमगीत ३ छायांकनका क्रममा निर्देशक स्वर्गीय छेतेन गुरुङ, सन्तोष सेनसहित प्राविधिकहरु

छेतेनले सन्तोषको खुबी पहिल्याइसकेका रहेछन् । उनले भने, ‘निर्देशनमा तिमी पनि साथ देऊ ।’ उनको ढिपीपछि सन्तोषले निर्देशककै रुपमा पनि सघाउने टुंगो गरे । सन्तोष यस कुरामा ढुक्क थिए कि छेतेन आफैंमा एक कुशल निर्देशक हुन् । उनको क्षमतामाथि खोट लगाउने ठाउँ थिएन । छेतेन जस्तो रचनात्मक खुबी भएको दोस्रो मान्छे सन्तोषले भेट्टाएका थिएनन् । छेतेन ठाउँको ठाउँ दृश्य-रचना गर्न सक्थे ।

उनले एउटा गज्जब कथा तयार गरेका थिए । त्यसमा कथा सुहाउँदो पात्र थिए, दयाहाङ राई । छेतेनले दयाहाङलाई आफ्नो कथा सुनाए । दयाहाङले स्क्रिप्ट पढेपछि कथा केही परिवर्तन गरौं भने । त्यसबेला छेतेन निरास भएर फर्किएका थिए ।

सन्तोष सम्झिन्छन्, ‘उनलाई मन परेको कथा कसैले परिवर्तन गरौं भन्यो भने त्यसमा सम्झौता नगर्ने । बरु त्यो फिल्मको च्याप्टर नै बन्द गरिदिन्थे ।’

आज सन्तोषको मनमा यही कुराले घोच्छ, त्यसबेला छेतेनको उक्त कथामा सिनेमा बनाइदिएको भए हुन्थ्यो । तर सन्तोष चाहेर पनि यो काम गर्न अब सक्दैनन् । किनभने यतिबेला छेतेन गुरुङ छैनन् । प्रेमगीत ३ को छायांकन सकाएलगत्तै छेतेनको निधन भयो ।

प्रदीपको पदार्पण

फ्ल्यासब्याक ।

मुस्ताङको लोकेसनमा ‘ट्राभल लभस्टोरी’ सिनेमा बनाउने ध्याउन्नमा एउटा चकलेटी हिरो खोज्दै हिंडेका थिए, सन्तोष सेन । यसमा अनमोल केसी मञ्जुर नभएपछि अडिसनका लागि आह्वान गरियो । अडिसनबाट छानिएका उत्कृष्ट १० मा थिए, प्रदीप खड्का पनि ।

उनले त्यसअघि एउटा फिल्ममा काम गरिसकेका रहेछन् । क्यामेरा फेस गरेका, अनुभवी । त्यही फिल्ममा उनले ‘सुदर्शन थापासँग फिल्म खेल्न इच्छुक छु’ भनेर कुनै मिडियामा अन्तर्वार्ता दिइसकेका रहेछन् ।

त्यसबेला सन्तोष सेन आफ्ना टोलीसहित सिन्धुपाल्चोकमा थिए । विनासकारी भूकम्पपछि उनीहरु त्यहाँ राहत लिएर पुगेका थिए । कुरैकुरामा प्रदीपको कुरा निस्कियो । उनीहरुले प्रदीपलाई नै हिरोमा लिने पक्कापक्की गरे । अनि त्यो खुसीमा उनीहरु एउटा घोर्ले खसी किने र मस्त भोज खाए ।

अभिनेता प्रदीप खड्कासँग सन्तोष सेन

तर यो कुरा प्रदीपलाई थाहापत्तो थिएन । उनी त विद्यार्थी भिसा च्यापेर अस्ट्रेलिया उड्न खुट्टा उचालिसकेका थिए । प्रदीपलाई रोक्दै सन्तोषले भने, ‘तिमी यहीं बस्नुपर्छ । म फिल्ममा लगानी गर्छु, तिमी हिरो बन्नुपर्छ ।’ प्रदीप यसमा राजी भए ।

त्यसपछि सन्तोषको टोली हिरोलाई ‘ग्रुमिङ’ गर्नतर्फ लागे । उनलाई जिममा पठाउन थालियो ।

यता सिनेमाको सेट तयार भयो । ड्रिम सिक्वेन्समा प्रदीपले जिस्काइरहेको र पूजा हाँसिरहेको दृश्य थियो । मध्यरात भइसकेकाले सन्तोष त्यहाँबाट हिंडिसकेका थिए । उनलाई सेटबाट म्यासेज आयो, ‘४० टेक खाइसक्यो, तैपनि हुन सकेको छैन ।’

उनले प्रदीपलाई थमथमाए, ‘यत्तिका लगानी भइसकेको छ, तिम्रो नाम जोडिएर मिडियामा गइसकेको छ । तिमी निर्धक्क भएर काम गर, सहज भएर गर ।’

यसपछि उनी क्रमशः आफ्नो लयमा फर्किए । प्रेमगीतको छायांकन सकियो । प्रदर्शन मिति तोकियो । प्रदर्शनमा सुवास गिरीको ‘क्लासिक’ जुध्ने भए । त्यहाँ दुवै चल्तीका हिरो हिरोइन थिए, नम्रता श्रेष्ठ र आर्यन सिग्देल । प्रेमगीतमा नयाँ अनुहार ।

जति जति यी फिल्मको प्रदर्शन मिति नजिकिंदै थियो, अनेक किसिमको होडबाजी र लफडाबाजी आइलाग्यो । सुवास गिरी र सन्तोष सेनबीच फाटो ल्याउने खेल भए । दुवैले एकअर्कालाई प्रत्यक्ष भेटेका थिएनन् । एकअर्कासँग बोलचाल भएको थिएन । तर आसेपासेहरुले उनीहरुलाई यसरी उछालिरहेका थिए, मानौं दुवैबीच पुस्तौनी दुश्मनी छ ।

जब दुवै जना भेट भए, एकअर्कासँग हार्दिकतापूर्वक प्रस्तुत भइरहेका थिए । उनीहरुको मनमा कुनै तुष थिएन ।

क्लासिक र प्रेमगीत समानान्तर चल्दै गयो । भ्यालेन्टाइन डेको मौका थियो । यही मेसोमा प्रेमगीत धीमा गतिमा भए पनि निरन्तर प्रदर्शन भइरह्यो । अन्ततः निर्माण पक्षले प्रदर्शनको ५१ औं दिनमा केक काटेर खुसी बाँडे ।

जीवन एक मोड : लाहुर हिंडेको केटो

एक दिन उनी लाहुर जान घरबाट निस्किए ।

त्यसबेला स्याङ्जाको गाउँमा लाहुरेको रवाफ कम्ता लोभलाग्दो थिएन । अधिकांश आमाबुवाको सपना हुन्थ्यो, छोरो लाहुरे भइदिओस् । सन्तोषको बुवाआमा किन पो अपवाद हुन्थे र ? उनीहरु छोरोलाई भन्थे, ‘लाहुर जानुपर्छ ।’

बुवाआमाको सपनालाई शिरोधर गर्दै सन्तोषले आर्मी तालिम लिन थाले । गोरखा ट्रेनिङ सेन्टरमा एक वर्षजति आर्मीको तयारी गरेपछि उनी भारतीय सेनामा भर्ती हुन पुगे । तर त्यो कठोर अनुशासनको कैदी बनेर आफ्नो सपनालाई बन्धकी राख्न चाहेनन्, उनले । आखिरमा आमाबुवाको सपनालाई लतारेर उनी त्यहाँबाट सुटुक्कै टाप ठोके ।

सेनामा भर्ना भइसकेको छोरो भागेर फेरि टुप्लुक्कै घरमा पुग्दा ढुक्कले बस्ने वातावरण कहाँ पो हुन्छ र ? घरगाउँको गाली सहँदै बरालिएर हिंड्नुभन्दा विदेशिनु निको लाग्यो उनलाई । अनि भिजिट भिसा च्यापेर लागे मलेसियातर्फ ।

मलेसियामा साथीहरु थिए । तीन, चार महिना उनीहरुकै कोठामा बसे । खुला सीमाना भएकाले त्यहाँबाट उनी सिंगापुर गए । मलेसियाको भिसा जति अवधिको छ, त्यही भिसामा सिंगापुर आउन जान पाइने । साथीहरुको लहलहैमा लागेर उनी तीन वर्ष सिंगापुरमै रुमल्लिए । त्यहाँ उनले पानीजहाजमा काम गरे ।

ब्रुनाईमा ठूलोबुवाका छोरा सिंगापुर आर्मीमा थिए । त्यहाँबाट अवकाश पाएपछि उनी ब्रुनाईका राजपरिवारको सुरक्षाको काममा खटिए । पछि उनी राजकुमारीका बडीगार्ड भए । दाइ राजकुमारीका विश्वासपात्र थिए ।

उनैले सन्तोषलाई सेक्युरिटी गार्डको रुपमा काम दिलाए । उनी मेहनतपूर्वक काम गर्न थाले । सबैका लागि उनी बफादार रहे । त्यहाँ जम्माजम्मी चार घण्टा काम गर्नुपर्ने । फुर्सदमा के गर्ने ?

दाइहरुसँग मिलेर उनीहरुले एउटा व्यापार सुरु गरे, मासु आपूर्ति गर्ने । कुखुरा, खसी ल्याएर उनीहरु आर्मी क्याम्पमा पठाउँथे । बेलायतबाट आएका आर्मी परिवारमा यस्तो मासु बढी खपत हुन्थ्यो । खासगरी यो काममा सन्तोषले व्यवस्थापनको जिम्मेवारी लिए ।

जागिर र व्यापारबाट राम्रै फलिफाप हुन थालेपछि सन्तोषले आफ्नो आर्जनलाई नेपालमै जग्गा–जमिनमा लगानी गरे । त्यसबेला जग्गाको भाउ आकाशिएको थिएन । उता कमाएको पैसाले राम्रै जग्गा–जमिन जोड्न सकिन्थ्यो ।

ब्रुनाईमा २३ वर्ष काम गरेपछि दाइले त्यो कामबाट पनि अवकाश लिए । दाइले अवकाश पाएपछि सन्तोष पनि नेपाल फर्किने मुडमा थिए । दाइ, उनको सालो र सन्तोष मिलेर एउटा व्यापार गर्ने योजना बन्यो । त्यही योजनाले उनीहरुलाई नेपाल फर्कायो ।

तर नेपाल फर्केपछि सन्तोष अनायासै सिनेमा क्षेत्रमा प्रवेश गरे । अरु व्यापार व्यवसाय थाँती रह्यो । सिनेमामा भने उनको यात्रा जारी रह्यो, अविछिन्न ।

भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : शंकर गिरी

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?